एमाले र एस एकता नभए ८४ को निर्वाचनमा एमाले पत्तासाफ

राजनीति समाचार

रामचन्द्र बस्नेत
दोस्रो ठूलो दल नेकपा एमालेका नेता, कार्यकर्ताहरु यतिबेला चुपचाप जस्तै देखिन्छन् । अध्यक्ष केपी शर्मा ओलीले कतिपय कार्यकर्ताहरुलाई पद घटुवा गरेका छन् । पार्टीको जिम्मेवारीबाट पद घटुवा गर्दा नेता, कार्यकर्ता बोल्न सकेका छैनन् । अन्य दलहरुमा हो भने ठूलै खैलाबैला भइसक्ने थियो । तर, एमालेमा भने अध्यक्षको निर्णयलाई कसैले प्रश्न उठाउन सक्दैनन् ।

पार्टी सरकारमा गइसकेपछि जति संगठन चलायमान हुनुपर्ने हो त्यो हुन सकेको छैन । हुन त आगामी २०८१ साल वैशाख १५ गते इलाम २ मा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्यको उपनिर्वाचन हुँदै छ । त्यसकारणले एमालेको ध्यान त्यतातिर खिचिएको हुनुपर्छ । पार्टी निर्वाचनमा केन्द्रित भए तापनि जिल्ला सम्पर्क मञ्च, क्षेत्रीय सम्पर्क मञ्च, इलाका कमिटी, क्षेत्रीय कमिटी र प्रादेशिक कमिटीहरुमा नेतृत्व फर्मेसन गर्न सकेको छैन । नेतृत्व फर्मेसन गरेका जिल्लाहरुमा पनि गुट, उपगुटले जरा गाड्न थालेको छ ।

एमालेभित्र यतिबेला वरिष्ठ नेता ईश्वर पोखरेल, विष्णु पौडेल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पृथ्वी सुब्बा गुरुङ एउटै गुटमा देखिन्छन् । उता, अध्यक्ष केपी ओली, प्रदीप ज्ञवाली र शंखर पोखरेलको धार छुटै छ । पूर्व राष्ट्रपति विद्या भण्डारी, विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ वामपन्थी एकताको पक्षमा छन् भने ईश्वर पोखरेल वामएकताको पक्षमा देखिँदैनन् । उता, तल्लो कमिटीका कार्यकर्ताहरु पनि सकभर वामएकता गरेर जाने पक्षमा छन् । उता, केन्द्रीय स्तरका नेताहरुले वामएकता होइन एमालेलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्ने धारणा राख्दै आएका छन् ।

त्यही कारणले पनि केन्द्रीय नेताहरुले मिसन ८४ को नाममा देश दौडाहा पुरा गरिसकेका छन् । एमालेले मिसन ८४ को देशदौडाहा गरे तापनि कार्यकर्ताहरुमा पहिलाको जस्तो उत्साह देखिँदैन । कार्यकर्तालाई उत्साहित बनाउनको लागि नेताहरुले नयाँ भिजनसहित अगाडि बढ्नुपर्ने हुन्छ । त्योसँगै पुराना, योग्यता, क्षमता र पार्टी संगठन चुस्तदुरुस्त बनाउन सक्ने कार्यकर्तालाई यथास्थानमा जिम्मेवारी दिनुपर्ने हुन्छ । पहिलाकै जसरी एमालेको नाम भजाउने, खुराफाती गर्ने, चाकडी चाप्लुसी गर्ने जस्ता व्यक्तिलाई पार्टीले काखी च्यापेको खण्डमा झन् पार्टी नै तहसनहस हुने देखिन्छ । उता, प्रभावशाली नेता भीम रावल गुमनाम जस्तै छन् ।

यदि भीम रावललाई एमालेले समेट्न नसकेको खण्डमा सुदूरपश्चिम प्रदेशमा एमाले नामेट नहोला भन्न सकिँदैन । यता एमालेबाट फुटेर एकीकृत समाजवादी पार्टी गठन गरेका माधव कुमार नेपाललाई एमालेमा नभित्र्याने हो भने आगामी ८४ को चुनावमा एमालेले धुलो चाट्ने देखिन्छ । त्यसैले वामएकताभन्दा पनि नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टी मिल्न जरुरी भएको राजनीतिक विश्लेषकहरुको आँकलन छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *