अख्तियार प्रमुख हटाउन अधिकारी र मल्होत्राको सेटिङ

राजनीति समाचार

काठमाडौं । पछिल्लो समय तीन पटकसम्म टंगाल पुगेर अन्तिम बयान दिएर फर्किएका प्रदीप अधिकारी अख्तियारको आयुक्त नै फेर्ने गरी शक्तिकेन्द्र धाइरहेका छन् । तत्कालीन पर्यटन मन्त्री प्रेम आलेमार्फत मोटो रकम लगानी गरेको डिजी भएका अधिकारीमाथि पोखरा, भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा अरबौं भ्रष्टाचार गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेपछि उनी संवैधानिक निकायका पदाधिकारी नै हटाउने चलखेलमा लागेका छन् ।

आफूमाथि मुद्धा चलाउन लागेपछि विचौलिया बोकेर अधिकारीले अख्तियारको प्रमुख आयुक्त प्रेम राईलाई हटाएर त्यहाँ आफ्नो कोर टिमका पूर्वमुख्यसचिव शंकरदास बैरागी खनाल, धनराज ज्ञवाली, नेपाल प्रहरीका पूर्वआईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका पूर्वआईजीपी शैलेन्द्र खनाल, पूर्व गृहसचिव महेश्वर न्यौपानेहरुलाई आयुक्त बनाउन जोडबल गरिरहेका छन् । कतिसम्म भनिन्छ भने शंकरदास बैरागीलाई मुख्य सचिवबाट हटाएर बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउने काममा उनै प्रदीप अधिकारी,दीपक भट्ट,विकल सुनिल पौडेलजस्ता खेलाडीहरुको हात थियो । अहिले यही समूह अख्तियारको प्रेम राईलाई हटाउने प्रयास गरिरहेको बताइन्छ ।

यसैबीच पछिल्लो समय उनै विवाद्स्पद् हाकिमसँग अर्काे विवादास्पद व्यापारी दीपक मल्होत्रासँग साँठगाँठ बढाएको समाचार स्रोतले जनाएको छ । अधिकारी र मल्होत्रा मिलेर भारतको अदानी समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भाडामा सञ्चालन गर्न दिने तयारी गरेका छन् । यही तयारी स्वरुप यो काममा अड्चन हाल्ने प्रताप तिवारीसहितका विमानस्थलका प्रमुखहरु एकै साथ परिवर्तन गरिनुको पछाडि पनि मलहोत्रा र अधिकारीको कनेक्सन हो भन्छन्,प्राधिकरणका कर्मचारीहरु ।

अधिकारीले देउवाको ज्योतिषलाई हात देखाएर फर्किए पछि उपमहानिर्देशक तथा प्रवक्ता जगन्नाथ निरौलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको महाप्रबन्धकको रुपमा खटाएर त्यहाँँका महाप्रबन्धक तथा उपमहानिर्देशक प्रतापबाबु तिवारीलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक बनाएर खटाएका हुन । तिवारीले त्यहाँ बस्दा लुटै मच्चाएका थिए । आफू महाप्रवन्धक र पत्नीलाई एकै पटक दुई तह बढूवा गरेर लेखाको प्रमुख बनाएका थिए । यो समयमा भएको कारोबारको हिसाब किताब र फेहरिष्त हेर्ने हो भने ठूलो अनियमितता भेटिने प्राधिकरण स्रोतको दाबी छ ।

यस्तै गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक तथा उपमहानिर्देशक हंसराज पाण्डे र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवचन्द्रलाल कर्णलाई पनि केन्द्रीय कार्यालयमा तानेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उपमहानिर्देशक नविन कर्मचार्यलाई महाप्रबन्धकको जिम्मेवारी दिएर खटाउनुको पछाडि मलहोत्रा र प्रदीपको कनेक्सन भन्नेहरु छन् । यी तीनै ठाउँका ठूला विमानस्थल भाडामा सञ्चालन दिन प्रयास गरिरहेका छन् ।

यता प्राधिकरणको महानिर्देशकमा अधिकारी आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी ह्वात्तै बढेको छ । सुन तस्करीमा जोडिएर बदनामी खेप्दै आएका व्यापारी मल्होत्रा र अधिकारीबीच साँठगाँठकै कारण सुन तस्करी बढेको प्राधिकरणका एकाथरी कर्मचारीहरु चर्चा गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *