काठमाडौं । नेपाल पत्रकार महासंघ पत्रकारहरुको हकहितमा काम गर्ने संस्था नभएर राजनीतिक दलहरुको संगठन गर्ने थलो बनेको छ । किन कि पछिल्लो समय पत्रकार महासंघमा श्रमजीवी पत्रकारहरुभन्दा अन्य पेशा व्यवसायबाट आएका व्यक्तिहरुको बाहुल्यता हुने गरेको छ । पुराना सदस्यता नविकरणदेखि नयाँ सदस्यता वितरणमा समेत राजनीतिक भागबन्डा गरेर वास्तविक पत्रकारभन्दा राजनीतिक दलको नाममा अन्य पेशा, व्यवसायबाट आएका व्यक्तिहरुलाई महत्व दिने काम गरिएको छ ।
त्यसको आडमा पत्रकारहरुको चुनावमा पनि वास्तविक पत्रकारभन्दा अन्य पेशाबाट आएका व्यक्तिहरुले निर्वाचन जित्ने गरेका थुप्रै उदाहरण छन् । पत्रकार महासंघको नेता बन्ने त्यही संस्थालाई प्रयोग गरेर कमाउधन्दा सञ्चालन गर्ने काम गरिँदै आइएको छ । नेपाल पत्रकार महासंघको देशकै सबैभन्दा ठूलो शाखाको रुपमा काठमाडौं शाखालाई चिनिन्छ । काठमाडौं शाखाले १२ औं महाधिवेशन पनि सम्पन्न गरिसकेको छ । यस शाखामा १४ सयभन्दा माथि पत्रकारहरुको सदस्यता रहेको छ । विगतमा सबै सदस्यको नविकरण हुने र अहिले नयाँ थपिँदा करिव २ हजार हाराहारी सदस्य संख्या पुग्ने अनुमान गरिएको छ ।
अधिवेशन सुरु हुन लाग्दासमेत सदस्यता नविकरण र नयाँ सदस्य वितरण टुंगिएको छैन । पत्रकार महासंघका नेताहरुले पत्रकारको नाम भजाएर राजनीति गर्ने थलो बनाएका छन् । काठमाडौंमा धेरै सदस्य संख्या भएको शाखाले १२ औं महाधिवशेन सम्पन्न गर्दासमेत आफ्नो भबन बनाउन सकेको छैन । कार्यालय भाडा पनि धेरै वर्षदेखि तिरेको छैन । त्यसको विवाद पनि जताततै छताछुल्ला भइरहेको छ । पत्रकार महासंघ काठमाडौं शाखाले गत चैत ३० गते १२ औं अधिवेशन गरेको थियो । सो अधिवेशनमा वास्तविक पत्रकारभन्दा बढी राजनीतिक दलका कार्यकर्ताहरु उपस्थित भएका थिए । सो कार्यक्रममा विभिन्न पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो । ती पुरस्कार र सम्मान थाप्नेहरु अधिकांश कार्यसमिति पदाधिकारीका आफन्त र आसेपासे बढी देखिन्थे ।
निष्पक्ष, स्वतन्त्र र वास्तविक पत्रकारहरु न्यून देखिन्थे । पुरस्कार पाउनेहरु अधिकांश सोर्सफोर्स र भनसुनको आडमा दोहो¥याई, तेहे¥याई लिने देखिन्थे । कतिपय कार्यसमितिका सदस्यको कार्यालयमा काम गर्ने पनि पुरस्कृत भएका थिए । कुनै पनि संस्थाले पुरस्कार दिँदा नीति, नियम र मापदण्ड बनाउनुपर्ने हुन्छ । विगत लामो समयदेखि पत्रकारिता गर्दै आएका अधिकांश पुराना र वरिष्ठ पत्रकारहरु राजनीतिक भागबन्डाकै कारण ओझेलमा पर्दै आएका छन् । त्यस्ता पत्रकारहरु बिरामी र असक्त हुँदा पनि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघबाट पाउनुपर्ने सुविधाबाट बञ्चित हुने गरेका छन् । यदि पत्रकार महासंघमा वास्तविक पत्रकारले चुनाव जित्ने हो भने त्यस्ता पत्रकारहरुमाथि न्यायपूर्ण बिवेकको प्रयोग हुने थियो ।
तर, दलीय भागबन्डाको आडमा नेतृत्व चयन हुने गरेकोले वास्तविक पत्रकारभन्दा अन्य व्यक्तिहरुले फाइदा लिने गरेका छन् । १४ सयमाथि साधारण सदस्य भएको काठमाडौं शाखाको १२ औं अधिवेशनको बन्दसत्र हलमा १२÷१४ जनाभन्दा बढी पत्रकारहरु उपस्थित थिएनन् । त्यसको अध्यक्षता गरेका थिए शाखाका पूर्वअध्यक्ष शान्तराम विडारीले । उनले आफ्नो भाषणसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल उपस्थित भएको सम्मान कार्यक्रममा बागबजारको हार्दिक होटलमा भात खुवाइएको ५२ हजार रुपैयाँ अहिलेसम्म तिर्न नसकेको बताउन भ्याए । त्यो त एउटा उदाहरण मात्रै हो । हालको कार्यसमितिले कोभिड १९ को नाममा विभिन्न संघ, संस्था र व्यक्तिबाट खाद्यान्नदेखि नगदसम्म उठाएर कार्यसमितिका आफन्तदेखि अन्य पेशाका व्यक्तिहरुको घर–घरमा पु¥याउने काम गरेको थियो ।
नयाँ सदस्यता वितरण फर्मको प्रतिफर्म रु. ३०० का दरले करिव ७०० भन्दामाथि फर्म विक्री गरेर २ लाखभन्दा माथि रकम उठाइएको थियो । त्यसबाट न त नयाँ सदस्यता टुंगिएर आएको छ न त पुरानो सदस्यता नविकरणको हिसाबकिता चुस्तदुरुस्त देखाइएको छ । यो कार्यसमितिका व्यक्तिलेहरु फेरि पत्रकार महासंघको निर्वाचन जित्ने हो भने महासंघबाट वास्तविक पत्रकार पलायन हुने र विभिन्न पेशा, व्यवसायीबाट आएका राजनीतिक दलका कार्यकर्ता हावी हुने देखिन्छ ।
काठमाडौं शाखाका पूर्वअध्यक्ष युवराज विद्रोहीलाई पूर्व अध्यक्षको हिसावले सम्मान गर्नु उचित थियो । तर, काठमाडौं शाखा छोडेर छुट्टै पत्रकार मञ्च नामक एसोसियट गठन गरिसकेका व्यक्तिलाई काठमाडौं शाखाले पुरस्कृत गरेर पत्रकारहरुको धज्जी उडाउने काम गरेको छ । यसलाई हेर्दा पत्रकारिता पेशा र शाखाको सदस्य त्यागिसकेका व्यक्तिहरुलाई आगामी दिनमा पनि पुरस्कृत नगर्लान् भन्न सकिन्न ।