लगानी नेपालको फाइदा धनी मुलुकलाई

राजनीति समाचार

राम्रा विद्यार्थीहरुले डाक्टर र इन्जीनियरहरु नेपालमा पढ्ने गर्दछन् तर पढे पछि विदेश जाने गरेका छन् । अनेक दुख गरेर नेपालको खर्च हुन्छ तर काम गर्ने बेलामा विदेश । यो तरिकाले फाइदा नेपाललाई हुने देखिएन । अरु धेरै विद्याथीहरु त १२ कक्षा सिध्याउनसाथ पढ्ने बाहानामा विदेशिनेको लर्को छ । यहि कारणले १२ कक्षासम्म पनि गतिलो पढाइ हुने गरेको छैन । एसइइ दिने वित्तीकै विदेश जाने नैं हो भन्ने मानसिकताले डेरा जमाएको पाइन्छ । विद्यार्थीहरुलाई मात्र हैन अभिभावकको पनि त्यही मानसिकता छ । यहि अवस्था रहि रहने हो भने यूवा विहिन नेपाल बन्नेछ । जनसंख्या वृद्धि दर पनि घट्नेछ । नेपालीको औशत शिक्षा पनि १२ कक्षा भन्दा माथि जाने छैन । यो अवस्थावाट मुक्त हुनकोलागि नेपाल सरकारले केही ठोस कदम चाल्न अति जरुरी मात्र हैन ढिला भैसक्यो।

कन्सलटेन्सीको सकसक
एसइई परिक्षा सकियो । धेरै विद्यार्थीहरुसँग कुरा गर्दा उनीहरुको गन्तव्य विदेश नैं देखिन्छ । १२ कक्षा सकौं अनी विदेशमा नैं जाने हो भन्ने गर्दछन् । यसको मतलव ११ कक्षा सुरु गर्दा कुन देश जान सजिलो हुन्छ त्यही अनुकुलका विषयहरु छनोट हुनेमा धेरै शंका गरिरहनु नैं परेन । एसइई परिक्षा सकिने दिनमा १२ कक्षा पढाउने स्कुलले आफ्ना एजेन्ट परिक्षा केन्द्रका वरिपरी वाक्लै रहन्छन् । उनीहरु भन्दछन् हाम्रो कलेजमा पढेकाहरु धेरै विदेश गइसकेका छन् । यो वाक्य विद्यार्थी तान्ने अस्त्रको रुपमा प्रयोग भएको देखिन्छ । १२ कक्षाको परिक्षा सकिने दिन विदेश पठाउने परामर्श दिने कम्पनीका एजेन्टहरु परिक्षा केन्द्रको गेटमा वाक्लै देखिन्छन् । कुन देश जाने त्यही देश तुरुन्तै पु¥याउने आश्वासन दिने गर्दछन् ।
१२ कक्षाको परिक्षा दिनासाथ र नतिजा आए पछि विद्यार्थी र अभिभावकलाई कन्सलटेन्सीवाट दिनको २,४ वटा फोन नआएको दिन हुँदैन । यस्ता फोन, इमेल र मेसेजले वाक्क पार्दछ । लाग्दछ सवै विद्यार्थी विदेश जान चाहाँदैछन् ।

स्थानीय तह र वित्तीय संस्थाको आयस्रोत
१२ कक्षाको नतिजा आउनासाथ अधिकांश विद्यार्थी र अभिभावकहरु विदेश जाने पढाउने कागजात वनाउन लाग्ने संस्थागत चलन जस्तै भैसकेको छ । यही कागजात तयार गर्ने कामले नेपालका धेरै निकायहरु क्रियाशिल भएको देखिन्छ । हरेक वडा कार्यालयमा सिफारिसको घुईचो नैं देखिन्छ । नाता प्रमाणित, आम्दानी स्रोतको प्रमाणितकोलागि चक्कर लगाइन्छ । यहि वाहानामा वहाल कर तिर्ने धेरै भएका छन् । स्थानीय तहको आन्तरिक आम्दानीको मूख्य स्रोत नैं यहि प्रकृयावाट आएको देखिन्छ । स्थानीय तहमा तिरो र सम्पत्ति कर तिर्ने समयमा जग्गाको मूल्यांकन कम गर्ने तर यस बेलामा सम्पतिको मूल्यांकन धेरै देखाउने कागजात बनाउने काममा अधिकांश वडा अध्यक्षहरुले हैरानी व्यहोरिरहेका छन् । कागजात प्रमाणित गर्ने नोटरी पब्लिकको व्यवसाय पनि राम्रै फस्टाएको छ । विदेश जाने पठाउने वाहानामा अधिकांश वैंकहरुका व्यवसाय चलेको छ । कहिलेकांहि त लाग्दछ नेपालको अर्थतन्त्रमा नैं राम्रो योगदान पुगेको छ । नेपालका गिनेचिनेका कलेजमा नाम निकाल्न सक्ने विद्यार्थीहरु नेपालमा पढ्दन् । खास गरि मेडिकल र इन्जिनियर तिर धेरै विद्यार्थी चाप हुन्छ । सकि नसकी बल गरेर खर्च गरेर पढ्यो पढायो । काम गर्ने बेलामा चाँही धनी देश तिर लाग्दछन् ।

लगानी नेपालको उपलव्धी विदेशीको
मेडिकल र इन्जिनियर पढाउने सरकारी कलेजमा राम्रै भिड छ । तर सवैलाई त्यो अवसर मिल्दैन । ती गिनचुनेका कलेजमा पढेका विधार्थीहरु पनि अन्त्यमा जाने भनेका विदेश नैं रहेछन् । यो प्रकृया झ्न खतरानाक देखियो । हुर्काइ वढाई डाक्टर पढाईको खर्च लगायतका कामहरु जती नेपालमा हुने तर काम चाँही अमेरिका गर्ने अवस्था देखियो । गतिलो मान्छे तयार गर्न नेपालको लगानी तर काम चाँही विकसीत देशमा हुने भयो । नेपालको लगानी खेर गयो भन्दा कुनै फरक पर्दैन । यो खर्च अन्य क्षेत्रमा गरेको भए बरु नेपालको लागि हुने थियो होला । नेपाली लगानीमा तयार भएका यसता नागरिक विकसित मुलुकमा गए पछि नेपाल फर्कने संभावना अत्यन्त न्यून हुन्छ । उस्ले नेपालमा भएको जायजेथा पनि बेचेर उतै लैजान्छ । सुन्नमा आइरहेको छ, धनी मुलुकले डाक्टर, इन्जिनियर पढाउनमा जोड गर्दैनन् रे किनकी हाम्रो जस्ता मुलुकमा पढि रहेका छन् । पास भए पछि उनीहरु उतै गइहाल्छन् । अनी किन गर्नु त्यस्तो काममा खर्च ?

१२ कक्षा पछि धेरै जना विदेश जान्छन् । वाहाना बनाउँछन् पढ्न । कलेजको शुल्क अनेक गरेर केही महिनाकोलागि यहिबाट जम्मा गर्नै पर्ने हुन्छ । अधिकांशको त्यो पैसा व्याज सहितको ऋण काढेको हुन्छ । उता पुगे पछि कमाउनको अति धेरै चिन्ता हुन्छ नैं । बावुआमाले लिएको ऋणको याद आउँछ अनी आफैंमा खानु प¥यो, लगाउन चाहियो । बस्न असाध्यै महँगो हुन्छ । कलेजको शुल्क पनि आइहाल्छ । अनी पढाइ भन्दा कमाइ तिर ध्यान दिनै पर्दछ । तेजिला विधार्थीहरु पनि वोधीला हुन पुग्दछन् । विस्तारै पढाई छुट्दै जान्छ । पढ्ने वानी हट्दै जान्छ । १२ कक्षा पछि खाडीमुलुक र कोरिया तिर गएकाहरुको अध्ययनको टन्टै हुन्न । १२ कक्षा माथि अध्ययन हुने कुरै हुँदैन । किनकी अध्ययनकोलागि गएकै होइन ।

नेपालको सन्दर्भमा चर्चा गर्ने हो भने विकसित मुलुक भन्दा खाडी मुलुक, कोरिया जस्ता देशहरु मित्र देखिए । त्यहाँ जानेहरुले नेपालमा पैसा पठाउँछन् । केही वर्ष काम गरेर नेपाल आएकाछन् । त्यहाँ सिकेका सिप नेपालमा प्रयोग ल्याइरहेकाछन् । विकसित देशमा गएकाहरु मध्ये धेरैले यहाँका झिटीगुन्टा समेत बेचेर सम्पत्ति उतै पो लैजान्छन् । अध्ययनकै नाममा अष्ट्रेलियमा कति पैसा गयो होला अनुमान भन्दा वाहिरको आंकडा आउने छ । भिषा शुल्क पनि कति चर्को छ । त्यो तुलनामा खाडीमुलुक जानकोलागि खर्च नगण्य नैं हुन्छ । आखिर दुवै तिर गएर काम गर्ने नैं हुन् । अधिकांशले पैसा कमाउन नैं जोड दिने गरेका छन् ।
स्नातक नगरी विदेश पढ्न जान रोक्ने

अन्त्यमा, विकसित देशमा गएका मध्ये अधिकांशले पनि अध्ययन छाड्छन् । नछाडे पनि जेनतेन धानेको मात्रै हुन्छन् । रोजगारीकालागि गएका त अध्ययनको सन्दर्भ आउने नैं भएन । त्यसैले अवको पुस्ताको नेपालीको औसत शिक्षा १२ मात्र हुने संभावना अधिक देखिन्छ । त्यसैले कम्तीमा स्नातक तह उतिर्ण गरेर मात्र अध्ययनका उद्देश्यले विदेश जाने व्यवस्था गर्न जरुरी छ । यसो गरेमा अहिले विदेश हानिने गरेका मध्ये आधा नेपालमा नैं रहन सक्छन् । स्नातकको ४ वर्षे अध्ययन अवधीमा नेपालमा नैै केही रोजगारी वा व्यवसाय पनि केहीले सुरु गर्नसक्छन् । अनी केहीले घरजमको मेसो मिलाउलान् । त्यस पछि जाननै भए पनि तुलनात्मक रुपमा केही परिपक्व भएका हुन्छन् । उता गएर जिउन पनि पक्कै सजिलो नैं हुने छ ।

त्यसैले नेपाल र नेपालीको लगानीमा डाक्टर इन्जिनियर पढ्ने काम जती अमेरिका वेलायत जस्ता मुलुकमा गर्ने यो तरिकाबाट नेपाल त झनैं खोक्रो हुने भयो । बेलैमा विचार पुगोस्, ध्यान जाओस् । धन्यवाद ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *