दूरसञ्चारलाई धरासायी बनाएर बिदा हुँदै सञ्चारमन्त्री रेखा शर्मा

राजनीति समाचार

काठमाडौं । सञ्चार क्षेत्रभित्र यतिबेला जताततै भद्रगोल भएको छ । पत्रकार महासंघले निर्वाचन गर्न सकेको छैन । विधान अनुसार हरेक तीन वर्षमा आवधिक निर्वाचन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने हुन्छ । तर, तीन वर्ष पुरा भएको तीन महिना बितिसक्दा पनि महासंघले निर्वाचन गर्न सकेको छैन । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले पत्रकारहरुको निर्वाचनको बारेमा कुनै चासो राखेको छैन । सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्मा सरकारको प्रवक्ता बनेर हिड्नमै व्यस्त हुनुहुन्छ । सञ्चार जस्तो सम्वेदनशील क्षेत्रलाई ध्यान दिन सक्नुभएको छैन । दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्ति भएका भुपेन्द्र भण्डारीले दूरसञ्चार, नेपाल टेलिकम र एनसेल जस्ता निकायलाई चलायमा बनाउन सकेका छैनन् ।

कतिपय दूरसञ्चार क्षेत्रमा टावर व्यवस्थापनदेखि फाइबर विछ्याउने कामको ठेक्कामा समेत कमिसनको चक्कर चलिरहेको छ । उता नेपाल टेलिकमको प्रवन्ध निर्देशक पद गत माघ महिनादेखि खाली छ । टेलिकमभित्रकै संगीता पहाडी निमित्त भएको पनि ६ महिना नाघिसकेको छ । हाल टेलिकमभित्रकै दर्जनौं कर्मचारीहरुले प्रवन्ध निर्देशक बन्नको लागि दरखस्ता दिएका छन् । त्यसैगरी टेलिकमको प्रवन्धक निर्देशक बन्नको लागि पनि चिन्तामणि सिवाकोटी, जनक शिक्षाका जीएम अनिल कुमार झा, नागेन्द्र कुमार दास, रमेश जोशीजस्ता व्यक्तिहरुले बाहिरबाट प्रवन्ध निर्देशक बन्नको लागि दौडधूप गरिराखेका छन् । तर, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले बाहिरबाट प्रवन्ध निर्देशक छान्ने हो कि टेलिकमभित्रकैलाई छान्ने हो एकिन छैन ।

टेलिकमभित्रबाट प्रवन्धकको लागि निवेदन दिनेहरु सालीग्राम पराजुली, सरोज जोशी, अनन्त मल्लिक, प्रेम सुवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, बुद्धिप्रसाद आचार्य, कमल लामिछाने, केदार कोइराला, सुवास शाह र सालिकराम सुवेदीलगायतले दरखास्त दिएका छन् । तर, सञ्चारमन्त्रालयले टेलिकमभित्र हुने गरेका विकृति र विसंगतिलाई हटाएर सुधार गर्नुपर्नेमा उल्टै राजनीतिक कार्यकर्ता भर्तीकेन्द्र बनाएर तमासा देखाउने काम गर्दै आएको छ । टेलिकममा यो खेलोमेलो हुँदाहुँदै सरकार परिवर्तन हुने छाँटकाँट देखिएको छ । अब नयाँ बन्न सञ्चारमन्त्रीले दूरसञ्चार प्राधिकरणलाई पहिलाको जस्तै लथालिङ्ग बनाउने हुन् कि योग्य, अनुभवी र क्षमतावान व्यक्तिलाई टेलिकमको प्रवन्ध निर्देशक बनाएर चलायमान बनाउँछन् त्यो हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *