विकृत राजनीतिक व्यवस्था र कमजोर आर्थिक अवस्थाका कारण मुलुक जोखिममा पर्दै गएको देख्न सकिनछ । पछिल्लो समय अर्थतन्त्र चलायमान हुन सकेको छैन । अधिकांश युवा श्रमशक्तिको विदेश पलायन हुने प्रवृत्ति बढ्दो छ । मुलुकमा आम्दानी घट्दै गएको, उद्योग कलकारखाना बन्द भएको, आयातमा परनिर्भर बनेको र हरेक क्षेत्रमा बिचौलिया हाबी भएका कारण न त श्रमशक्तिले रोजगार पाउन सकेका छन् ।
मुलुकमा आन्तरिक उत्पादन घटेकै कारण आयातमा परनिर्भर हुन बाध्य बनाइएको छ । अर्काेतर्फ यस्तै आयातित वस्तुले महंगी बढेको र खर्च धान्नकै लागि विदेसिनु परेको अवस्था छ । पछिल्लो समय दुई मिहनामा विदेसिन क्रम निकै बढेको तथ्यांकले देखाउँछ । अहिले वैदेशिक रोजगार विभागको तथ्यांक अनुरा दैनिक १५ सयभन्दा बढी श्रमिक र विद्यार्थी विदेसिने गरेकाा छन् । सरकारले रोजीरोटीका लागि उद्यम वा रोजगारी सिर्जना गर्न सकिरहेको छैन भने पलायन रोक्ने अवस्था पनि छैन । स्वार्थ र लालचले गर्ने राजनीतिले मुलुकलाई निकास दिन सक्दैन भन्ने उदाहरण हो ।
अहिले दुईतिहाई बढीको सरकार छ । यो सरकारले मुलुकमा जस्तो सुकै नीति लागू गरेर मुलुकलाई निकास दिन सक्छ । तर स्वार्थ र सत्तालिप्साका कारण मुलुक र जनताका लागि केही नगर्ने प्रवृत्ति यो एमाले–कांग्रेस गठबन्धनको सरकारमा पनि देखिएको छ । सरकारले न त नीति बनाउन सकेको छ, न विकासका लागि पहल नै गर्न सकेको छ । एमाले–कांग्रेस गठबन्धनको सरकारको दुई महिना पुगिसक्दा पनि जनताले कुनै फरकपन महसुस गर्न सकेका छैनन् । अझ पछिल्लो समय गफ र विकासका नारामात्र गुञ्जिने गरेको छ ।
‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखान अहिले नेपालको राजनीतिक र आर्थिक क्षेत्रमा चरितार्थ भएको देख्न सकिन्छ । नीति नियम बनाउन केही कुराले रोकेको छैन । तर सरकारले अर्थतन्त्र सुधारका लागि केही पहले गरेको पाइँदैन । यो गठबन्धन सरकारले बद्नाम र असक्षम पात्रहरुलाई कुटनीतिक र संवैधानिक नियुक्ति दिएर आफै बद्नाम हुने काम गरेको छ । वरिष्ठता मिचेर कनिष्ठलाई मुख्यसचिव बनाउने र क्षमता भएका व्यक्तिहरुलाई पाखा लगाउने काम पनि सरकारले गरेर कुनै फरक काम गर्न सकेको छैन । यो गठबन्धनले बद्नामी कमाउने काम मात्रै गरेको छ । यस विषयमा सरकारको ध्यान जान जरुरी देखिन्छ ।