अराजक अभ्यासले राजनीतिक द्वन्द्व बढाउँदै

राजनीति समाचार

नेपालको आर्थिक विकास नहुनुमा अस्थिर राजनीतिलाई प्रमुख दोषी मानिन्छ । राजनीतिक अस्थिरता, भागवण्डा, भ्रष्टाचार, दोषारोपणजस्ता विकृतिले मुलुक आर्थिक, सामाजिक पक्षबाट कमजोर बन्दै गएको छ र अगाडि बढ्न सकेको पाइँदैन । सत्ता स्वार्थ र नेतृत्वकै नीतिगत भ्रष्टाचारका कारण मुलुक कमजोर बनेको देख्न सकिन्छ । सत्तामा पुगेपछि आफ्नो स्वार्थ पुरा गर्ने, निकटका व्यक्तिहरुलाई राजनीतिक नियुक्ति दिने र तगारो बनेका व्यक्तिहरुलाई दोषारोपण गर्ने प्रवृत्ति अहिलेको राजनीतिमा व्याप्त छ । अराजक राजनीतिक अभ्यासले न त मुलुकलाई निकास दिन सकेको छ, न त समृद्धिको परिकल्पना नै गर्न सकिएको छ । मुलुकको आम्दानी घटिरहेको अवस्थामा उल्टै वैदेशिक ऋण लिएर प्रशासन धान्नुपर्ने अवस्था छ ।

पछिल्लो समय बालेन शाह, रवि लामिछानेजस्ता स्वतन्त्र व्यक्तिहरुले नेतृत्व गर्ने मौका पाए । बालेन शाहले मुलुककै ठूलो र देशको राजधानी अवस्थित महानगरको नेतृत्व गरेका छन् । तर पछिल्लो समय उनको अभ्यास पनि अराजक देखिएको छ । राजनीतिक दलहरुलाई गाली गर्ने र प्रविधिको युगमा समाजिक सञ्जालमा अरुलाई गाली गरेर आफु चर्चामा आउन खोज्ने काम पछिल्लो समय बालेनले गर्दै आएका छ ।

समृद्धि र विकासका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने हुन्छ । अराजकताले कुनै निष्कर्ष दिँदैन । जनता नेतादेखि रुष्ट छन् । त्यसै रुष्टताको फाइदा उठाउँदै बालेनले आफु चर्चामा आउने प्रयास मात्र गरेका छन् । अर्काेतर्फ, रवि लामिछाने पनि स्वतन्त्र पार्टी खडा गरेर राजनीतिमा होमिएका व्यक्ति हुन् । दुईपटक गृहमन्त्री बनिसकेका लामिछाने आफैं विवादास्पद व्यक्ति हुन् । उनी विभिन्न सहकारी ठगी काण्डमा मुछिएको छन् । लामिछानेको शैली पनि बालेनको जस्तै रहेको छ ।

वास्तवमा गलत राजनीतिक संस्कार र गणतन्त्रको गलत फाइदा उठाउने काम नेपालमा भइरहेको छ । राजनीतिक दलहरु र सरकारको नेतृत्व नै गलत हुँदा मुलुकले निकास पाउँदैन । जनताको सेवा भन्दा पनि आफ्नो फाइदा हेर्ने राजनीतिक संस्कारको अन्त्य हुनुपर्दछ । देशको अवस्था नाजुक बनिसकेको छ । राजनीतिक दलहरुले सत्ताका लागि अरुको अपराधलाई बार्गेनिङ गर्ने आधार बनाएका छन् । दलका ठूला नेताहरु नै भ्रष्टाचार र बेथितिमा मुछिएका छन् र गठबन्धन गरेर आलोपालो सरकार चलाउने परिपाटी विकास गरेका छन् । यस्तो प्रवृत्तिको अन्त्य गर्ने कि कठोर शासन लागू हुन जरुरी छ, कि त नेताहरु नै सच्चिन आवश्यक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *