जनता समस्यामा, कालोबजारी मौलाउँदै

राजनीति समाचार

पछिल्लो समय बाढी पहिरोले वितण्डा मच्चाएका कारण अधिकांश उपत्यका जोडिने सडकहरु बन्द छन् । त्यसैगरी विभिन्न जिल्लामा बाढी र पहिरोले ठूलो धनजनको क्षति पु¥याएको छ र जोडिने सडकहरु जोखिममा परेका छन् । यो राष्ट्रिय विपद्को अवस्थाको फाइदा उठाउँदैन जनतालाई लुट्न तल्लीन हुने कालोबजारी गर्ने व्यक्तिहरु पनि उत्तिकै छन् । यो कठिन अवस्थामा जनतालाई आड दिनुपर्नेमा उल्टै कालोबजारी बढाउने व्यापारी÷व्यवसायीको रवैयाप्रति सरकार भने मौन देखिन्छ । यसको प्रत्यक्ष उदाहरणको रुपमा हवाई उडान व्यवसायीलाई लिन सकिन्छ । दशैंको मुखमा टिकटको मूल्य बढ्ने अस्वभाविक मानिँदैन । तर दशै आउनुभन्दा दुई हप्ता अगावै मुलुकमा बाढीपहिरोले वितण्ड मच्चाएको अवस्थामा मूल्य वृद्धि गर्नुले हवाई माफियाको कालोबजारी कसरी हुँदैछ भन्ने स्पष्ट हुन्छ ।
त्यसैगरी, उपत्यकालगायतका विभिन्न ठाउँमा खाद्यान्न र तरकारीको अभाव सिर्जना भएको छ । यसै अभावको फाइदा उठाउँदै व्यापारी÷व्यवसायीले अचाक्ली मूल्य तोक्न थालेका छन् । देखावटी बजार अनुगमन गर्ने र आफ्नो खल्ती भर्ने बाहेक अन्य काम कर्मचारी वर्गबाट भएको पाइँदैन । यो अराजक अवस्थाको संरक्षक सरकार नै हो । सरकारले कानूनी रुपमा कडा कारबाही गर्न सकेको खण्डमा कालोबजारी मौलाउने अवस्था हुने थिएन । तर सरकारमा रहेका नेतृत्वकर्ताहरुलाई यिनै कालोबजारी गर्नेहरुले सहयोग गर्ने भएका कारण मौन बसेको देखिन्छ । अझ भन्नुपर्दा यो प्राकृतिक विपत्तिलाई बहाना बनाएर राज्यकोष लुट्न तल्लीनहरु पनि उत्तिकै छन् । जताततै सडक भासिएका र बगेका छन् । ठूलो पूर्वाधारको क्षति भएको छ । उपत्यकालगायतका विभिन्न स्थानमा सयौंको संख्यामा ज्यान गएको छ । तर सरकार यो विषयमा अनभिज्ञ देखिन्छ । प्राकृतिक विपत्तिको अवस्थामा सरकारको उपस्थिति दयनीय छ । सत्ता र स्वार्थका लागि ठूला कुरा गर्ने, तर भैपरी आएको अवस्थामा मूकदर्शक बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ ।
विपत्तिले जनजीवन कष्टकर बनाइरहेको अवस्थामा कालोबजारी गर्नेलाई कडाभन्दा कडा कारबाही गरेर एउटा असल नजीर पनि सरकारले खडा गर्न सक्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *