विभिन्न पार्टीबाट क्रियाशील सदस्यता त्याग्नेको ताँती, राजनीतिक दलहरुलाई अस्तित्व जोगाउनै हम्मेहम्मे

राजनीति समाचार

काठमाडौं । सर्वसाधारण जनतादेखि उद्योगी, व्यापारी र विभिन्न पेशा व्यवसायमा लागेका व्यक्ति कुनैपनि दलको सदस्यता नविकरण नगर्ने र त्यसको वैकल्पिक बाटो खोज्ने अवस्थामा पुगेका छन् । त्यसको गतिलो उदाहरण बनेको छ गत २०७९ सालमा सम्पन्न भएको संघ, प्रदेश र स्थानीय तहको निर्वाचन । सो निर्वाचनमा अधिकांश ठाउँमाहरुमा गठबन्धनका उम्मेदवारले हारेर स्वतन्त्र उम्मेदावारहरुले जितेका थिए । त्यतिबेलाभन्दा अहिले झन् जनतामा राजनीतिक दलप्रति आस्था घट्दै गएको छ । पार्टीप्रति जनताको आस्था घटेको उदाहरण लिन सकिन्छ नेकपा एमालेलाई ।

८ लाख हाराहारी सक्रिय सदस्य रहेको एमाले अहिले ४, ५ लाखमा झरेको छ । उता, नेपाली कांग्रेसको गत निर्वाचनमा माओवादी केन्द्रलगायतका दलहरुसँग गठबन्धन गरेर ठूलो पार्टी बने तापनि समानुपातिक भोट कम आएको थियो । समानुपातिकमा कम भोट आउनुभनेको कांग्रेसमा क्रियाशील सदस्यता घट्दै जानु हो । २०६४ सालमा सबैभन्दा ठूलो दल बनेको माओवादी केन्द्र अहिले कांग्रेसलगायत विभिन्न दलसँग गठबन्धन गरेर चुनाव लड्दा पनि ३२ सिटमा खुम्चिएको छ।

अझ पटक–पटक सत्तामा पुग्नको लागि विभिन्न दलहरुसँग गठबन्धन सरकारमा बस्दाको क्रियाकलापले माओवादी केन्द्रप्रति जनताको आस्था घटेको छ । त्यसो हुनुमा सधैं एउटै अध्यक्ष भइरहने, पार्टी संगठनभन्दा आफू प्रधानमन्त्री बन्ने ध्याउन्नमा लागिरहने र आफ्ना सन्तानलाई सत्ता, सरकार र पार्टीमा हावी गराउनु मुख्य कारण रहेको छ । तुलनात्मक रुपमा पार्टी संगठनमा एमाले बलियो देखिए तापनि पछिल्लो समय कांग्रेससँग मिलेर सरकारको नेतृत्व गरेपछि जनताप्रति एमाले पनि अलोकप्रिय हुँदै गएको छ । त्यसको दोषी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् ।

ओलीलाई पनि पटक–पटक आफै अध्यक्ष र प्रधानमन्त्री भइरहनुपर्ने, आफन्त र भक्तहरुलाई मात्रै काखी च्याप्ने, पार्टी संगठनको लागि ज्यान दिएर लाग्नेभन्दा चाकडी, चाप्लुसी र भ्रष्टाचारीलाई स्थान दिने कारणले गर्दा एमालेप्रति जनताको आस्था घट्दै गएको हो । त्यस्तै नेपाली कांग्रेसप्रति पनि जनताको आकर्षण घनेको छ । कांग्रेसप्रति जनताको आकर्ष घट्नुमा पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा मुख्यकारण बनेका छन् । सभापति देउवालाई आफ्नो परिवार र आसेपासेलाई मात्रै पटक–पटक अवसर दिने, पार्टी सभापति र प्रधानमन्त्री आफै मात्रै हुनुपर्ने, इतरपक्ष नेताले उठाएको विषयलाई सधैं वाइपास गर्ने, पार्टीसंगठनभन्दा सत्तालाई प्राथमिकता दिने, चुनावमा पार्टी संगठनमा इमानदारपूर्वक लागेकालाई भन्दा पैसा र पावर भएकालाई टिकट वितरण गर्ने, टिकट वितरणमा नगदको चलखेल गर्ने जस्ता आरोप सर्वसाधारणले लागउने गरेका छन् ।

यी र यस्तै कारणले गर्दा राजनीतिक पार्टी र तिनका शीर्ष नेताहरुदेखि जनता रुस्ट हुँदै गएका छन् । नेताहरुको क्रियाकलापले गर्दा विभिन्न पार्टीका क्रियाशील सदस्यले सदस्यता नविकरण गर्न छाडेका छन् । सदस्यता मात्रै त्यागेका छैनन् उनीहरुले भोट पनि स्वतन्त्रतिर दिन थालेका छन् । पार्टी र तिनका नेताहरुको यस्तै रवैया रहिरहने हो भने आगामी २०८४ सालको निर्वाचनामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको हविगत नाजुक हुने देखिन्छ । आफूलाई ठूलो दल दावी गरेर पटक–पटक सत्ताको नेतृत्व गर्दै आएका यी तीन दलको हालत योस्तो छ भने अन्य भुरे, टाकुरे र क्षेत्रीयतावादी पार्टीहरुको त अस्तित्व नै नामेट हुने देखिन्छ । त्यसकारण अब राजनीतिक पार्टीका शीर्ष नेताहरुले सत्तास्वार्थ, कमाउधन्दा, आसेपासे पोस्ने, परिवारवाद लाद्नेभन्दा जनताको कामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *