स्थानीय तहको उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो समन्वयको जिम्मेवारी

राजनीति समाचार

काठमाडौं । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसले समन्वय र सहजीकरणका लागि नेताहरूलाई जिम्मेवारी दिएको छ । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको स्थानीय तह निर्वाचन संयोजन समितिको बैठकले उपनिर्वाचनमा पार्टीका उमेदवारहरूलाई विजयी गराउन सक्रियताका साथ अघि बढ्ने निर्णय गरेको हो ।

आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदका लागि उपनिर्वाचन हुँदै छ । कांग्रेसका सम्बन्धित तहबाट उमेदवार सिफारिस गर्ने क्रम सुरु भइसकेको छ । बुधबार सानेपामा बसेको बैठकले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय गरी उत्कृष्ट परिणाम ल्याउने जिम्मा दिएको हो ।

सहमहामन्त्रीलाई प्राथमिकतामा राखेर जिम्मेवारी तोकिएको छ । त्यसमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’ लाई वाग्मती प्रदेश, भीष्मराज आङ्दम्बेलाई कोसी, महेन्द्र यादवलाई मधेस, जीवन परियारलाई कर्णाली र गण्डकी प्रदेशको जिम्मेवारी दिइएको छ ।

सहमहामन्त्रीबाहेक केन्द्रीय सदस्य एनपी साउदलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको छ । त्यसैगर िकेन्द्रीय सदस्य पुष्पा भुसाललाई लुम्बिनी प्रदेश समन्वयको अतिरिक्त निर्वाचन आयोगसँग समन्वयको जिम्मेवारी दिइएको हो ।

त्यसबाहेक पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्मालाई प्रचार प्रसार संयोजन तथा स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यलाई स्थानीय तह समन्वयको जिम्मेवारी तोकिएको छ । त्यस्तै, केन्द्रीय सदस्य नानु बास्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मा दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *