काठमाडौं । कांग्रेस र एमाले सरकारमा एमालेबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, भूमि, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, अर्थमन्त्री विष्णु पौडेल, रक्षा मन्त्री मानवीर राई र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ रहेका छन् ।
यीमध्ये अर्थमन्त्री विष्णु पौडल, रक्षा मन्त्री मानवीर राई र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबाहेक अन्य एमालेबाट मन्त्री भएकाहरुले भ्रष्टाचार, विकृति र विसंगतिमा मुछिएर आफूसँगै पार्टीको बद्नाम गरिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले त घुस लिएको आरोपमा पदबाट राजीनामा नै दिएका छन् । अर्का भूमि, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले कर्मचारी सरुवामा घुस खाएको आरोप लागेपछि पत्रकार सम्मेलन गरेर आफू निर्दोष भएको दावी गरेका छन् ।
उता भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई महानिर्देशक सरुवा र ठेकेदारहरुसँग मिलेमतो गरी आर्थिक लाभ लिएको आरोप लागिरहँदा चुपचाप बसिरहेका छन्. । त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई ठूला–ठूला उद्योगी र व्यापारीहरुसँग डिल गर्ने, राजश्व छली गर्ने उद्योगी र व्यापारीहरुलाई कारबाही गर्दा महानिर्देशक नै परिवर्तन गर्ने, आफूले भनेको नमान्ने सचिव र सहसचिवहरु सरुवा गर्ने गरेर आर्थिक लाभ लिएको आरोप लागिरहेको छ । तर, एमालेले त्यस्ता मन्त्रीलाई फिर्ता बोलाएर पार्टीको हितबीपरित काम गर्नेलाई अनुसानको कारबाही गर्नुपर्नेमा त्यो नगरी पुरस्कृत गरिरहेको छ । त्यसले गर्दा एमाले पार्टीसँगै सरकारको दिनप्रतिदिन आलोचना भइरहेको छ ।
एमालेबाट मन्त्री भएकाहरुलाई एमाले निकट कर्मचारी संगठनले सल्लाह सुझाव दिनुपर्नेमा त्यो नगरी तिनै कर्मचारी युनियनका नेताहरुले मन्त्रीलाई गुमराहमा पारेर आफू भ्रष्टाचारमा लिप्त हुने गरेका छन् । मन्त्रीसँगै कर्मचारी नेताहरुकै कारण एमाले पार्टी बद्नाम भइरहेको छ । कर्मचारी नेताहरुले सरकारको हितमा भन्दा आ–आफ्नो फाइदाको लागि मन्त्रीहरुलाई फसाउने काम गर्दै आएका छन् । एमाले निकट कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारी (आरसी) संघीय मन्त्रालयमा बसेको १० वर्षको अनुभव हुँदा पनि एमालेका मन्त्रीहरुलाई कर्मचारीसम्बन्धी सही सुझाव दिन सकेका छैनन् ।
उल्टै मन्त्रीलाई फसाएर कर्मचारीको नाममा आफ्नो पक्षपोषण गर्दा मन्त्री गुप्ताले राजीनामा दिनुपरेको थियो । मन्त्री गुप्ताले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाकी सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाएका छन् । मन्त्री न्यौपानेलाई पनि संघीय मन्त्रालयको बारेमा त्यति अनुभव छैन ।
साउन महिना लागेसँगै कर्मचारी सरुवाको सिजन सुरु भएको छ । कर्मचारी सरुवामा एमाले र कांग्रेस निकट कर्मचारी युनियनका नेताहरुले संघीय मन्त्री न्यौपानेलाई प्रयोग गरेर ठगी खाने भाँडो बनाउँदै छन् । त्यसले गर्दा नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने कर्मचारी नेताहरुको चङ्गुलमा नपर्लिन् भन्न सकिन्न ।

