सडकमा डा.जैसीको असुली आतंक

राजनीति समाचार

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक विभाग अन्तर्गतका ठूला–ठूला आयोजना प्रमुख र डिभिजन प्रमुखहरु सरुवा गर्न मोलमोलाइ गरिरहेका छन् । कुन आयोजनाले कति पैसा मन्त्रीलाई कबोल गर्न सक्छ उनलाई ठूलो बजेट भएको दीर्घकालीन आयोजनामा सरुवा गर्ने खेलोफड्को मन्त्री दाहालले गरिरहेका छन् ।

त्यसको डिजाइन सडक विभागका महानिर्देशक डा. विजय जैसीले गरिरहेका छन् । जैसीलाई मन्त्री दाहालले गत जेठ १२ गते सडक विभागको महानिर्देशक बनाएका थिए । आफूलाई मालदार अड्डा सडक विभागको महानिर्देशक बनाएको गुन तिर्न जैसी मन्त्री दाहालको चाकडी गरिरहेका छन् । मन्त्री दाहाल र महानिर्देशक जैसीको डिजाइनमा सडक विभाग अन्तर्गतका राष्ट्रिय गौरवका आयोजना प्रमुखहरु सरुवा गर्ने खेलोफड्को भइरहेको छ । नेपालीहरुको माहान चार्ड नजिकिँदै गर्दा आयोजना प्रमुखहरु सरुवा गरी मोटो रकम असुली गर्ने धन्दा पनि त्यत्तिकै फस्टाएको छ ।

कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग आयोजना, धरान–कर्णाली करिडोर, भेरी करिडोर, धरान–चतारा सडक आयोजना जस्ता राष्ट्रिय गौरवका आयोजनाहरुमा २० अर्बमाथि बजेट भएका ठाउँमा कर्मचारी सरुवा गर्ने खेलोफड्को भइरहेको छ । त्यसको डिजाइन महानिर्देशक जैसीले गरिरहेका छन् । जैसी सडक विभागको महानिर्देशकमा नियुक्ति भएयता सडक विभागभित्र व्यापक असन्तुष्टि बढेको छ । असन्तुष्टि बढ्नुको कारण आर्थिक चलखेलमा भागबण्डा नमिल्नु नै हो भनिन्छ ।

भौतिकमा अन्य सिनियर सुई हुँदाहुँदै जुनियर जैसीलाई मन्त्री दाहालले सडक विभागको महानिर्देशक बनाएका थिए । सिद्धबाबा सुरुङमार्गको ४५ करोड बजेटमा पनि मन्त्री दाहालको आँखा परेको छ । त्यसले गर्दा जैसीलाई महानिर्देशक बनाएका थिए । कनिष्ठ महानिर्देशक बनेपछि सडक विभागभित्र इमानदार र योग्य कर्मचारीहरु बाइपास भएका छन् भने भ्रष्टहरु सलबलाइरहेका छन् । अर्कोतिर महानिर्देशक जैसीले हरिकुमार श्रेष्ठ र उमेश बिन्दुलाई बाइपास गरेको समाचार सार्वजनिक भए तापनि उनीहरु पहिला नै मालदार ठाउँमा बसेर अकुत सम्पत्ति आर्जन गरेका कर्मचारी हुन् । त्योसँगै अर्का कर्मचारी छन् दीप बराही ।

बराहीले अनुगमन र गुणस्तरको चेकजाँच गर्दा करोडौं असुली गरेको बताइन्छ । त्यस्तै कल्पना अधिकारीले कालीगण्डी करिडोर सडक आयोजनामा बसेर करोडौं असुलेको बताइन्छ । अर्कोतर्फ मन्त्रालयले चारजना वरिष्ठ सह–सचिव हुँदाहुँदै कनिष्ठ उप–सचिव विजय महतोलाई धुलिखेल–सूर्यविनायक सडक आयोजनाको कामु प्रमुख बनाएर पठाएको छ ।

महतोभन्दा राजेश पौडेल सिनियर थिए । दुई जना सह–सचिवलाई वाइपास गरेर उपसचिवलाई कामुको जिम्मेवारी दिइएको छ । त्यस्तै गरी अन्य आयोजनाहरुमा पनि वरिष्ठलाई पन्छाएर कनिष्ठलाई पठाउन ठूलो धनराशीको चलखेल भइरहेको छ । महानिर्देशक जैसीले चाडवाड नजिकिएसँगै राष्ट्रिय गौरवका ठूला–ठूला आयोजनामा जान चाहने कर्मचारीहरुसँग हरेक ठेक्काको एक प्रतिशत कमिसन पहिलै बुझाउनुपर्ने उर्दी जारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *