संसद् पुनःस्थापना कि २१ मा निर्वाचन ?

राजनीति समाचार

आगामी फागुन २१ गतेको निर्वाचनलाई मध्येनजर गर्दै निर्वाचन आयोगमा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिक प्राप्त गरेका व्यक्तिहरु मतदाता नामावली दर्ता गराउनको लागि देशैभरिका निर्वाचन कार्यालयमा भीड लागिरहेका छन् । मतदाता नामावली दर्ता गरेसँगै फागुन २१ को निर्वाचनमा मत खसाल्न पाउने खुसियाली पनि व्यक्त गर्न थालेका छन् ।

नयाँ मतदाताहरुले खुसियाली जनाए तापनि पुराना मतदाताहरुले निर्वाचनप्रति खासै चासो देखाएका छैनन् । सरकारले फागुन २१ गतेको निर्वाचनको तयारी गरिरहँदा निर्वाचन आयोगले पनि आफ्नो काम अगाडि बढाएको छ । निर्वाचनको लागि सरकारले तयारी थाले तापनि ठूला दल कांग्रेस र एमाले तयार देखिएका छैनन् । एमाले र कांग्रेस निर्वाचन भन्दा पनि संसद पुनःस्थापना गरी त्यो संसद्बाट संविधान संशोधन गरी जेनजी पुस्ताको मागलाई सम्वोधन गरेर मात्र निर्वाचनमा जाने तयारीमा जुट्न थालेका छन् ।

उता, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत १० वटा घटकहरु मिलेर नेपाली कम्युनिस्ट पार्टी बनाएका छन् । उनीहरुले निर्वाचनमा जाने कि संसद् पुनस्थापना गर्ने भन्ने कुनै निर्णय गर्न सकेका छैनन् । रास्वपा भने निर्वाचनमा जाने कुरा गरिराखेको छ । त्यसले गर्दा आगामी फागुन २१ गते संघीय निर्वाचन हुने÷नहुने कुनै ग्यारेन्टी भएको छैन । निर्वाचनको मिति नजिँकिँदै गर्दा न त दलहरु उत्साहित भएका छन् न त सरकारले नै छिटो निर्वाचन गराउने वातावरण बनाउन लागेको छ । निर्वाचन आयोग भने फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउने पक्षमा लागिपरेको देखिन्छ ।

तर, सरकारले राजनीतिक दलहरुसँग निर्वाचनको बारेमा छलफल समेत नगरी एकलौटी ढंगले निर्वाचनको हल्ला गरेर अन्य काममा अलमलिइरहेको छ । निर्वाचन गराउने म्यान्डेट पाएको सरकारले निर्वाचन गराउने भन्दा उल्टै ११ देशको राजदूत फिर्ता गरेर ‘गाई जात्रा’ देखाउने काम गरेको छ । उता राजदूत रिक्त रहेका ती ११ देशमा सरकारले नयाँ राजदूत पठाउन पनि सकेको छैन । त्यसले गर्दा आगामी फागुन २१ मै निर्वाचन हुने सम्भावना क्षिण हुँदै गएको छ ।

सरकारले निर्वाचन गर्ने भनिरहँहा दुई ठूला दल कांग्रेस र एमाले पार्टी महाधिवेशन गर्ने तरखरमा जुटेका छन् । अझ एमालेले त महाधिवेशनको मिति नै तय गरिसकेको छ । उता, कांग्रेसले भने विशेष महाधिवेशन गर्ने कि नियमित भन्ने विवादमा अल्झिइरहेको छ । पार्टीभित्र आन्तरिक कलह भएकै कारण कांग्रेसले निर्वाचनमा जाने निर्णग गर्न सकेको छैन । एमालेले सुरुदेखि नै संसद् पुनःस्थापनाको कुरा उठाउँदै आएको छ । त्योसँगै पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा पनि संसद् पुनःस्थापनाको पक्षमा देखिएका छन् ।

अर्कोतर्फ जेलबाट विभिन्न आपराधिक काण्डमा मुछिएका व्यक्तिहरु फरार छन् भने प्रहरीका अत्याधुनिक हतियारहरु लुटिएका छन् । ती जेलबाट भागेका कैदीबन्दीलाई पुनः जेलमा नफर्काउँदा र लुटिएका हतियार नभेटिँदासम्म निर्वाचनको वातावरण बन्ने सम्भावना देखिँदैन । हतियार नफर्काएसम्म सुरक्षा निकायले पनि शान्तिसुरक्षाको ग्यारेन्टी गर्न सकेको छैन । त्यसले गर्दा पनि फागुन २१ गते नै निर्वाचन हुनेमा शंका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *