काठमाडौं । जुनसुकै पार्टीबाट भूमि सहकारी तथा गरिबी निवारण मन्त्री बनेतापनि नापी र मालपोत घुसको अखडा बन्दै आएको थियो । मालपोत र नापीमा व्यापक घुस चल्ने भएपछि कर्मचारीहरु पनि नापी र मालपोतमा सरुवा हुनको लागि मरिहत्ते गर्दछन् । केहि वर्ष अगाडी मालपोत र नापीका कर्मचारीहरुलाई अख्तियारले बढि भ्रष्टाचार मुद्दा लगाउन थालेपछि नापी र मालपोतमा कर्मचारी सरुवा हुन चाहेका थिएनन् ।
पछिल्लो समय अख्तियारले नापी र मालपोतका कर्मचारीहरुलाई भ्रष्टाचार मुद्दा लगाउन छाडेपछि कर्मचारीहरु फेरि नापी र मालपोत कार्यालयमा सरुवा हुनको लागि न्वारनदेखि बल निकालेर लागि पर्ने गरेका छन् । कर्मचारीसँगै विभिन्न दलबाट बनेका मन्त्री र सचिवले पनि उनै कर्मचारीहरुसँग मिलेमत्तो गरी घुसको कारोबार गरी अकुत सम्पत्ति आर्जन गर्दै आएका थिए । आज त्यो रोग मालपोत र नापी कार्यालयमा कायम नै छ । नापीमा कित्ताकाँट, हालसावित, ट्राइलचेक र नक्सापासमा पैसाको चलखेल हुन्छ भने मालपोत कार्यालयमा डोर पास, लाभकर छलि, नामसारी, जग्गादर्ता र मुद्दा फाँट शाखामा तल्सिन र महिको जग्गामा ठुलो मात्रामा घुस चल्ने गरेको छ ।
त्योसँगै मोठ भिराउने, श्रेष्ठा कायम राख्ने, जग्गा नाबालक र महिलाको नाममा ल्याउँदा राजश्व कम लाग्ने देखिन्छ । त्यसमा पनि कर्मचारी र बिचौलिया मिलेर घुस खाने धन्दा चलाइरहेकै हुन्छन् । तर राज्यका सम्बन्धित निकाय गुमनाम जस्तै बनेर बस्ने गरेका छन् । जेनजी सरकारबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका कुमार इङनाम मन्त्री भएको दुई महिना हाराहारी पुगिसक्दा पनि भूमि मन्त्रालय मातहतका नापी र मालपोत कार्यालयलाई सुधार्न सकेका छैनन् । जताततै विकृत र भ्रष्टाचार बढिरहेको छ । कर्मचारीहरु मालपोत र नापी कार्यालयमा मोटाइरहेका छन् । तर मन्त्री भने देश दौदाहमा हिडिरहेका छन् । मन्त्री इङनाम गत आइतबार झापा पुगेका थिए ।
मन्त्रीसँगे महानिर्देशक निर्देशक झापा भ्रमण गरिरहेका छन् । यसअगाडी पोखरा र काठमाडौमा भुसेवा अभिमुखीकरण तालिम सञ्चालन गरेजस्तै गरेका थिए । अहिले मन्त्रीहरुको टोलीसहित झापा जिल्लाको नगरपालिका अन्तर्गत सबै पालिकाहरुमा भु–सेवा अभिमुखिकरण तालिमको उद्घाटन गरेर दिन बिताइरहेका छन् । अर्काेतर्फ मोरङ जिल्लाको सबै पालिकाहरुमा पनि भु–सेवा सम्बन्धि अभिमुखी तालिमको उद्ध्घाटन गरेर काठमाडौं फर्किेने कार्यक्रम रहेको छ । मन्त्री इङनामले भ्रष्टाचार र विकृतिलाई हटाउनु सत्ता विभिन्न तालिमको निहँु बनाएर स्वदेश भ्रमण गरिरहेका छन् । उता, शहरी विकास मन्त्रालय पनि इङनामले सम्हालिरहेका छन् भने शहरी विकास मन्त्रालयको विकासको काम अलपत्र परिरहेको छ । मन्त्री इङनाम तालिम कार्यक्रम भ्रमण गरेर रमाइरहेका छन् ।

