अवसरवादी उम्मेदेवारलाई जनताले सजाय देलान् कि पुरस्कृत गर्लान् !

राजनीति समाचार

काठमाडौं । देश निर्वाचनमा होमिएसँगै तीनै तहका जनप्रतिनिधि र कर्मचारीहरु पनि निर्वाचनमा केन्द्रित भएका छन् । कर्मचारीहरुले निर्वाचनमा खटिनुपर्ने भएको छ भने विभिन्न पार्टी र स्वतन्त्रबाट निर्वाचित जनप्रतिनिधिहरु कोही पदबाट राजीनामा दिएर केन्द्रीय निर्वाचनमा मोमिएका छन् भने कोही आ–आफ्नो दलको प्रचार–प्रसारमा जुट्ने तरखर गर्दैछन् । त्यसले गर्दा सर्वसाधारणको काम ओझेलमा पर्न थालेको छ । कतिपय स्थानीय र प्रदेश तहका जनप्रतिनिधिहरुले पदबाट राजीनामा दिएपछि सर्वसाधारण जनताका जल्दाबल्दा कामहरु अलपत्र परिरहेका छन् । उनीहरुको राजीनामाले जनताका दैनिक काममा बाधा पर्नुका साथै विकास निर्माणको लागि छुट्ट्याइएको बजेटसमेत प्रभावित भएको छ ।

अर्कोतिर कार्यकारी पदमा निर्वाचित जनप्रतिनिधिले राजीनामा दिएपछि कार्यकारीको अधिकार पाएका जनप्रतिनिधिले कामको भेउ नपाउँदा कर्मचारी र सर्वसाधारणलाई मार परिरहेको छ । स्वतन्त्रबाट निर्वाचित भएका र दलहरुबाट निर्जाचित भएका जनप्रतिनिधिबीचको टसलले गर्दा पनि विकास निर्माणका कामहरु ओझेलमा पार्दै आएका छन् । स्थानीय तहमा लगाइएका मर्मत संभारका ठेक्काहरु पनि त्यत्तिकै अलपत्र पर्न थालेका छन् । एकातिर जनप्रतिनिधिहरुले राजीनामा दिनु अर्कोतिर दूरदराजका अधिकांश स्थानीय तहमा कार्यकारी अधिकृतहरु जान नमान्नुले पनि जेष्ठनागरिक भत्तादेखि विभिन्न विकास निर्माणको बजेट समयमा निकासा नहुँदा सर्वसाधारणको काम अलपत्र पर्ने गरेका छन् ।

कतिपय स्थानीय तहका प्रमुख–उपप्रमुखले बीचैमा राजीनामा दिँदा उनीहरुको जिम्मामा भएको जनताका कामहरु अलपत्र पर्ने गरेका छन् । उप–प्रमुखले राजीनामा दिएपछि अधिकांश मेलमिलापका कामहरु अलपत्र पर्ने गरेको गुनासाहरु आउन थालेका छन् । किन कि स्थानीय तहका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका उप–प्रमुख विकास योजना र मेलमिलाप प्रमुख हुने व्यवस्था छ । उनीहरुले पदबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचन लड्न गएपछि ती कामहरु कसले गर्ने भन्ने विवाद सिर्जना भएको छ ।

उता, महानगर पालिका, नगरपालिका र गाउँपालिका प्रमुखहरुले राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनतिर लागेपछि प्रमुखबिहीन भएका स्थानीय तहमा विकास निर्माणदेखि सर्वसाधारणका कामहरु अलपत्र पर्न थालेका छन् । डेढवर्ष कार्यकाल बाँकी रहँदै जनताले दिएको जिम्मेवारी बीचैमा छोडेर संघीय निर्वाचनमा उम्मेदवार बन्न पुगेपछि उनीहरुबाट जनताले धोका पाएको महसुस गर्न थालेका छन् । आफूले पाएको जनमतलाई बीचैमाा लत्याएर प्रतिनिधि सभा निर्वाचन लड्न जाने प्रदेश र स्थानीय तहका तत्काmलीन जनप्रतिनिधिहरुलाई फेरि जनताले मत दिन्छन् कि दिँदैनन् भन्ने आशंका पनि त्यत्तिकै छ ।

त्यसमा देशै सबैभन्दा ठूलो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग झापा ५ बाट प्रतिस्पर्धा गर्दैछन् भने अर्को महानगरपालिका भरतपुरकी मेयर रेणु दाहाल रास्वपाकी सोभिता गौतमसँग प्रतिस्पर्धा गर्दैछिन् । उता, धनरानका मेयर हर्क साङपाङ धरानवासीलाई बैचैमा धोका दिएर माटो चिन्ह लिएर प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्दैन छन् । एउटा तहको जिम्मेवारी दिएर जनताले पठाएका जनप्रतिनिधिहरुले त्यो जनमतलाई बीचैमा छाडेर हिड्ने अवसरवादी उम्मेदवारलाई जनताले सजाय दिन्छन् कि पुरस्कृत गर्छन् त्यो हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *