अनन्त गुरुङ
पुराना र नयाँ दलहरु सबैले आआफ्नो चुनावी घोषणपत्र भटाभट सार्वजनिक गरीरहेका छन । पहिले र अहिलेको घोषणापत्रहरुको ढाँचामा केही फरक आएको देखिन्छ । अहिले आएका दलहरुको घोषणापत्रहरु छोटकरीमा बनेकाछन भने बिषय वस्तुहरुलाई लामो लामो बर्णन नगरी बुलेट मार्फत प्रस्तुत भएकाछन । नयाँ घोषणापत्रहरु बुझ्न र पढन पहिलेको घोषणापत्रहरु भन्दा धेरै सजिलो बनाईएकाछन । कुनै दलले आफ्नो चुनावी घोषणापत्रलाई करारनामा भनेकाछन भने कुनैले प्रतिबद्धतापत्र भनेर पनि लेख्ने गरेकाछन । अहिले सम्म नेपालमा धेरै चुनावहरु भईसक्यो र उक्त चुनावहरुमा बिभिन्न दलहरुले सार्वजनिक गरेका घोषणा पत्रलाई सरसरी हेर्दा दलहरुमा ठोश इमान जमान नभएको देखिन्छ ।
यो गर्छु र त्यो गर्छु भनी धेरै कुराहरु दलहरुले आफ्नो घोषणापत्रहरुमा लेखेको भएता पनि चुनाव जिती सकेपछि त्यसको कार्यान्वयनमा कुनै पनि दलले ध्यान दिएकाछैनन् । यसबाट के बुझिन्छ भने दलहरु आआफ्नो घोषणापत्रमा उल्लेख भएका कार्यहरु गर्न इमान्दार छैनन् । घोषणापत्र वा प्रतिबद्धतापत्र वा करारनामा वा अन्य जेसुकै नामाकरण गरिएको भएतापनि घोषणापत्र कुनै सपना बाँड्ने दलहरुको विज्ञापन जस्तो नभएर नेपाल राष्ट्रको यथार्थ धरातलमा आधारित र उक्त दलहरुको रुप, सार र क्षमताको प्रतिविम्ब जस्तो हुन वा बनाउन जरुरी हुन्छ । कुनै ऐनामा हेर्दा झै जसरी ऐना हेर्नेको अनुहार प्रष्ट देखिन्छ त्यस्तै कुनै पनि दलहरुको घोषणापत्र पढेपछि उक्त दलहरुको रुप, सार र क्षमता अनिउसको कार्ययोजना, योजना र बिगतमा गरेका कामहरुको अनुभवहरु छर्लङ्गै देखिने र प्रष्ट हुने गरी लेखिएको हुनुपर्छ ।
कुन नयाँ दलहरु हुन र कुन पुराना दलहरु हुन भन्ने बारे पनि अहिले विवाद चर्किएको छ । एकथरी दलका शीर्ष नेताहरु र अन्य नेताहरुको अनुसार नयाँ कार्यनीति र नयाँ शिद्धान्तहरु भएका दलहरु नै नयाँ दलहरु हुन भन्ने दाबी गरेकाछन । तर नेपाली जनताले बुझे अनुसार एमाले, काँग्रेस र माओवादी दलहरु पुराना दलहरु हुन भने पछि खुलेका राष्ट्रिय स्वतंत्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम सँस्कृति पार्टी जस्ता दलहरु नयाँ दलहरु हुन जसमा युवा नेतृत्व र उर्जाले भरपुर छन । बिगतमा एमाले दलले ल्याएको पतिबद्धतापत्रहरुलाई सरसर्ती केलाउँदा कतिपय बिषय वस्तुहरु कार्यान्वयन गर्नै नसकिने र हुनै नसकिने पनि भेटिएको वा देखिएकाछन । फेरि उक्त एमाले दल सत्तामा पुगेर वा बसेर गरेको कामहरुलाई हेर्दा घोषणापत्रमा लेखिएका कामहरु एकातिर र गरिएका कामहरु अर्कोतिर भएको पनि देखीएकाछन ।
यसरी दलहरुको घोषणापत्रहरु हावादारी हुन्छन भन्ने कुराको पुष्टी हुन्छ । साथै नेपाली काँग्रेस र माओवादी दलहरुले पनि सत्तामा बस्दा भए गरिएकाकामहरु उनीहरुको घोषणापत्रहरुउल्लेख भएको भन्दा धेरै फरकछन । त्यसकारण नेपाली जनताले दलहरुको घोषणापत्रहरु हावादारी र कर्मकाण्डी हुँदा रहेछन भन्ने कुरा बुझेकाछन । दलहरु आफ्नो घोषणापत्रमा लेखीएको बिषय वस्तुहरु प्रति सत्तामा पुगे पछि गम्भिर र जबाफदेही नहुँदा नेपाली जनताले सामान्य व्यापारिक विज्ञापन जस्तो पनि मानीरहेका छैनन् । विगतमा नयाँ नेपाल बनाउने र चमत्कारिक बिकास गर्ने जस्ता शव्दहरुले सजिएका दलहरुको प्रतिबद्धतापत्र पनि नेपाली जनताले पढ्न पाएकाछन ।
त्यसैगरी समाजिक न्याय, समाबेसी र समानुपातिक जस्ता पश्चिमी पुँजीवादीहरुले समाजवादी विश्वलाई काउण्टर दिन अगाडि सारिएका जारगन शव्दहरुले भरिएको वा सजिएको घोषणापत्रहरु पनि नेपाली जनताले पढ्न पाएकाछन । दलहरुले जारी गरेका घोषणापत्रहरुमा उल्लेख भएको बिकासका कुराहरुको चर्चा त नगर्दा नै हुन्छ । दलहरुले आफ्ना घोषणापत्रहरुमा उठाएको बिकासका कुराहरु नेपाल राष्ट्रको यथार्थ आर्थिक धरातल सित जोडिएका हुँदैनन् । सबै दलहरुका घोषणापत्रहरुमा बिकासको नाउमा सपना बाँड्ने कामहरु मात्रै भेटिने गरेकाछन । बजेट बिनाको दलहरुको प्रतिबद्धतापत्रहरु बिना पिठोको ढिंडो पकाएर खाने वा खुवाउने काम मात्रै हुँदै वा गर्दै आएकाछन । नेपालमा दलहरुले संघियता र गणतांत्रिक राजनीतिक व्यवस्थाको यस्तो शासकिय स्वरुप निर्माण गरेका छन कि जसमा राष्ट्रको आम्दानीले सरकारको चालु खर्च पनि धान्न सकीरहेको छैन ।
दलहरुले राज्यको शासकिय स्वरुपको निर्माण गर्दा आफै र आफ्ना राजनीतिक कार्यकर्ताहरु सबैलाई जागिर खुवाउने हिसाबले मात्रै सोचेकाछन । अहिले दलहरुले चलन चल्तीमा ल्याएका शासकिय स्वरुप अनुसार चल्दा नेपाल राष्ट्रको आम्दानीले बिकास कार्यको लागि लगानी मात्र होइन सरकारी चालु खर्च धान्नको लागि पनि पुगीराखेको छैन । सरकारी चालु खर्च धान्नकै लागि पनि दलहरुले बिदेशी ऋण लिने गर्दै आएका हुँदा राष्ट्रिय ऋणको भारी बढेर लगभग नेपाली रुपियाँ ३० खर्ब नाघ्ने अवस्थामा छ । दलहरु कुरा त ठुलो गर्छन् तर व्यवहारमा खरो उत्रिन सकीरहेका छैनन् । दलहरुले भन्ने गरेको समृद्ध नेपाल राष्ट्र र सुखी नेपाली जनता बिकासको लक्ष बकबास मात्रै सावित भएकाछन ।
यथार्थ धरातलमा बसेर कुरा गर्दा र नेपाली जनताको कुरा सुन्दा दलका शीर्ष नेताहरु र अन्य नेताहरु मात्रै दलिय काल खण्डमा समृद्ध र सुखी भएकाछन । पैसा खर्च गर्न नसक्ने र दलका नेताहरुलाई चिनाजान नगरी बसेकाहरुले पावार लगाउन नसक्ने भएकाले समान्य सरकारी सेवा पनि लिन नसक्ने अवस्थामा पुराना दलका शीर्ष नेताहरुले नेपाल राष्ट्रलाई पुर्याएकाछन । यस्तो जटिल परिस्थिति नेपाल राष्ट्रमा पुराना दलहरुले सत्तामा बसेर निर्माण गरेका हुन । कुरा ठुलो गर्ने तर काम पटक्कै नगर्ने दलका राजनीतिक नेतृत्वले गर्दा पहिले आत्मनिर्भर स्वावलम्बन नेपाल राष्ट्रलाई अहिले परनिर्भर बिदेशीको सहायता बिना सरकारी चालु खर्च पनि धान्न नसक्ने अवस्थामा रुपान्तरगरीदिएकाछन ।
लोकतंत्र भन्छन तर दलतंत्र र नेतातंत्र चलाएर दलहरुले नेपालमा मोजगरी बसेकाछन । समृद्ध नेपाल र सुखी नेपाली जनता भन्दै राष्ट्रिय ऋण बढाउँदै लगेकाछन । नेपाल राष्ट्रलाई कंगाल बनाएर, नेपाली जनतालाई ऋण बोकाएर, नेपाल राष्ट्रलाई परनिर्भर गैरस्वावलम्बी बनाएर, भएका उद्योगहरु बन्द गरेर, बिदेशी सित मागेर वा वैदेशिक रोजगारीको आम्दानीले बिदेशी उत्पानहरु किनेर खाएर कसरी नेपाल राष्ट्र समृद्ध र नेपाली जनता सुखी हुन्छन होला भन्ने पुराना दलका नेताहरुको कुरा नेपाली जनताले अहिले सम्म बुझ्न सकेकाछैनन् ।नेपालको सन्दर्भमा सरकारी र निजी उद्योगहरु दुबै सञ्चालन गरी जसरी पनि स्वदेशमा नै रोजगारीको अवसर बढाउने र स्वदेशी उत्पादन बढाएर परनिर्भरता घटाउनुमा नै नेपाल राष्ट्र र नेपाली जनताको कल्याण हुन्छ । ठुला दलका कमिसनखोर नेताहरुले उद्योगको बिकासमा भन्दा पूर्वाधार बिकासमा जोड लगाउने गरेकाछन । कमिसन खान नपाउने बिकासे सेक्टरमा ठुला दलका नेताहरुले ध्यान दिएका छैनन् ।
चुनावी मेनीफेस्टो अर्थात घोषणापत्रबाट पनि ठुला दलका नेताहरुको वास्तविक नियत छर्लङ्ग नै हुन्छ । ऋण गरी गरी बिकास गर्नु भनेको ऋण गरी गरी घीउ खानु जस्तै हो । काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तै दलहरुको घोषणापत्र पनि जनताको आवश्यकता सित नजोडिएर दलका नेताहरुको स्वार्थ सित मात्रै जोडिएको भेटिन्छ । नेपाल राष्ट्र र नेपाली जनताको आवश्यकता अनुसारको मौलिक बिकासमा जोड दिनु पर्ने त्यसो नगरी बिदेशी निर्देशनको पालना गर्ने र नक्कल गर्नेमा नै दलका शीर्ष नेताहरु लागीपरेकाछन । यस सम्बन्धमा वैज्ञानिक महावीर पुनले भनेको कुरा अति नै सान्दर्भिक र मार्मिक पनि छन । उहाँ भन्नु हुन्छ अनाज बेचेर मोवाईल किन्ने र घर जग्गा बेचेर मोटरबाईक वा गडी किन्नेहरु कहिले पनि उभो लाग्दैन । त्यस्ता आधुनिक जीवनशैलीको आवश्यकताहरु अध्ययन, अनुसन्धान र नवप्रवर्द्धन गरी आफ्नै देशमा मौलिक बिकास यबम् उत्पादन गर्नुपर्छ ।
बिदेशी सित मागेर खाने र मागेर लुगा लगाउने नेपाल जस्तो गरिव मुलुक कहिले उभो लाग्न सक्दैन भन्ने दाबी वैज्ञानिक महावीर पुनले गर्नु भएकोछ । वैज्ञानिक महावीर पुन अमेरिकामा पढेर फर्केको भएपनि उहाँको आफ्नै मुखले कहिले पनि म अमेरिकामा पढेको ठुलो वैज्ञानिक जान्ने सुन्ने भनेर अरुले जस्तो धाक धक्कु फूर्ति लगाउँदै हिडेको अरुलाई होच्याउँदै बोलेको सुनिएको छैन । यहाँ सम्म कि उहाँलाई वैज्ञानिक डाक्टर अरुले भनेका हुन उहाँ आफैले त्यस्तो घमण्डी कुरा बोल्नु त परको कुरा भयो सोचेका पनि छैनन् । नेपालका ठुला भनाउँदा राजनीतिक दलहरु सुकुलगुण्डेछन त्यसैले अरुले तपाई भने पनि नभने पनि आफै मपाई गर्दै हिड्छन । उक्त पुराना दलहरुको राजनीतिक नेतृत्व कम पढे लेखेका नेताहरुको हातमा भएको हुँदा तिनीहरुले निकालेका घोषणापत्रहरु पनि गुणस्तर हिन नै छन ।
राजनीतिक दल खोलेर बसेपछि एउटा घोषणापत्र बनाएर जारी गर्नु पर्ने अनिवार्यता भएकाले सोही दायित्व निर्वाह गर्नको लागि एकथान घोषणापत्र कपी पेस्ट गरी तयार पारेर सार्वजनिक गर्दछन । राम्रो नराम्रो गुणस्तरको वा कती यथार्थपरक र कती चमत्कारी भन्ने यावत कुराहरु रोहवरका साँक्षीहरु सरह जस्तो मात्रै हुन्छन । जहाँ सम्म ठुला दलहरुको राजनैतीक नेतृत्व गरीबसेका शीर्ष नेताहरुको इमान जमानको कुराहरु छन त्यो हात्तीले देखाउने दाँत जस्तै हुन । दलका शीर्ष नेताहरु र अन्य नेताहरु इमान जमानमा साह्रै नै कमजोर छन त्यसैले दलहरुको घोषणापत्रहरु अहिले सम्म कागजको टुक्रामा मात्रै सीमित रहेकाले त्यसले नेपालको बिकासमा कुनै प्रभाव पार्न सकेकोछैन ।

