काठमाडौं । नेपाली कांग्रेसमा पार्टीले चुनाव हार्दा खुसी हुने नेता पनि छन् । उनीहरु विशेष महाधिवेशनपछिको नेतृत्वसँग सन्तुष्ट छैनन् । आफूले टिकट नपाउँदा रन्थनिएका शेरबहादुर देउवा, पूर्वबहादुर खड्का, प्रकाशमान सिंहलगायतको टिम एकातिर छ भने अर्कोतिर संघीय संसद्को चुनाव लड्न प्रदेश सांसद पद त्यागेका कुन्दनराज काफ्लेहरु पनि छन् । आफूले टिकट नपाउँदा ओखलढंगामा पार्टीले हार बेहोरेको बताउने रामहरि खतिवडा पनि त्यही छन् ।
विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेको पाँचौ दिनमा सभापति गगन थापाले हस्ताक्षर गरेर टिकट वितरण गरे । १४ औं महाधिवशेनले महामन्त्रीमा निर्वाचित गराउँदा उनी सबैका महामन्त्री थिए । प्रकाशमानको टीमबाट विश्व प्रकाश शर्मा, डा. शेखरको टीमबाट गगन थापा महामन्त्री भएका हुन् । तर, उनीहरुले ३ वर्षसम्म महामन्त्री पदको सदुपयोग गरेर पार्टीलाई चलायमान बनाउन सकेनन् । सभापति शेरबहादुर देउवा चुनावमा माओवादी र नेकपा एससँग मिलेर गठबन्धन गर्न सफल भए । तर, उनले त्यो गठबन्धनको टिकाउमा समय दिएनन् ।
आफ्नो उत्तराधिकारी खोज्दैमा देउवाको ३ वर्ष बित्यो । कार्यबहाक सभापति भएका पूर्वबहादुर खड्काको कमाण्ड फितलो भयो । विशेष महाधिवेशनको रन्कोमा खड्का अलमलमा परे । उनलाई देउवाकै वरपरका अनुहारहरुले नै साथ दिएनन् । विमलेन्द्र निधि, विजय गच्छदार, प्रकाशमान सिंहजस्ताको साथ उनले पाएनन् । डा. प्रकाश शरण महत प्रवक्ता भए पनि आफै विवादित थिए । हिजो आफ्ना विस्वासीहरु कोही टिकट लिएर चुनाव लड्न दौडिए तर जितेनन् । जसले टिकट पाएनन् उनीहरु चुनाव प्रचारमा निस्किएनन् । तर, अहिले सर्वोच्च अदालतमा विचराधिनमा रहेको मुद्दालाई देखाएर देउवा पक्षले पुरानो कार्यसमिति ब्युँत्याउने हल्ला गरिरहेको छ ।
निर्वाचन आयोगको मान्यता अनुसार नै कांग्रेसबाट चुनाव लडेर विजयी भएका ३८ सांसद पनि वर्तमान नेतृत्वसँग छन् भने १४५ जनाको कार्यसमिति पनि त्यहीँ छ । यो अवस्थामा देउवा पक्षले १५ औं महाधिवेशनलाई जोड दिनुको सट्टा पुरानो कार्य समितिको बैठक बोलाउने र नयाँ कार्य समितिको हुर्मत लिने योजना बनाइरहेको छ । तर, त्यसको असर त्यही टिमलाई पर्छ । गगनले पार्टी हार्दा नैतिक जिम्मेवारी लिएर पद त्याग्दा रमाउने कृष्णप्रसाद सिटौला पनि त्यही छन् ।
आफूले टिकट नपाउँदा निर्वाचनका बेला प्रचार–प्रसारमै निस्किन नचाहने नेताले दिएको सुझावमा शेरबहादुर चल्दा कांग्रेसमा आजको नेतृत्वको वैधानिकतामा कानूनी प्रश्न उठ्ने अवस्था छैन । किन कि विशेष महाधिवेशनमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको साथ थियो । पार्टीको पदाधिकारीमध्यका पूर्वबहादुर खड्का र प्रवक्ता डा. प्रकाश शरण महत मात्र देउवातिर भए । डा. आरजु देउवा राणाका व्यवसायी पार्टनर उमेश श्रेष्ठ कोषाध्यक्ष थिए । तर, उनले गगन थापा सभापति भएपछि उनैलाई साथ दिएका छन् । चुनाव खर्चको खाता श्रेष्ठले चलाएका थिए ।

