काठमाडौं । रास्वपाकी सांसद विदूषी राणा विवादमा मुछिएकी छिन् । गोल्डस्टार स्ट्रायड लिमिटेडकी कार्यकारी निर्देशक विदूषीले दुई दशक अगाडि अमिरप्रताप राणासँग विवाह गरेकी थिइन् । २०५७ सालमा उनका ससुरा नूरप्रताप जंगबहादुर राणाले कुमारी बैंक सुरु गरेपछि विदुषीले त्यहीँ मार्केटिङ तथा ब्रान्ड म्यानेजरका रूपमा आफ्नो करिअर प्रारभ्भ गरेकी हुन । ८ वर्ष काम गरेर ब्रान्च म्यानेजरसमेत भएर काम गरेकी राणाकै बैंकका सञ्चालक समिति सदस्य नै अहिले कर्मचारी सञ्चय कोषको प्रशासक नियुक्ति भएको खबर दुई साता अघि तामाकोशी सन्देशले प्रकाशन गरेको थियो ।
०७२ मा फोक्सोको बिरामी नूरप्रताप राणाको निधन भइसकेको छ । नुरप्रतापको जेठा छोरा कुन्दन राणा र किरण राणाको विवाहबाट तीन सन्तान जन्मिएका छन्, जेठी छोरी स्नेहा राणा, कान्छी छोरी शेषादरी राणा र कान्छा छोरा अद्वैतप्रताप राणा । काका अमिरप्रताप र काकी विदुषी राणाबाट पीडित भएको भन्दै उनै अद्धैत प्रताप अदालत पुगेका हुन । काठमाडौं जिल्ला अदालतमा ०८३ साल भदौ ११ गते दायर भएको फिरादपत्रले स्थापित राणा परिवारभित्रको सम्पत्तिको विवाद अदालत प्रवेश गरेको छ । अमेरिकी सेनामा एक दशक बिताएका अद्वैतले रास्वपाको सांसदसमेत रहेकी विदुषी राणालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेका हुन् । उनले आफ्नै काका अमिरप्रताप राणा, काकी तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सांसद विदुषी राणा, आमा किरण राणा र दोस्रो हजुरआमा जानुकीकुमारी राणाविरुद्ध अंशचलन मुद्दा दायर गरेका हुन् ।
किरण शुज म्यानुफ्याक्चरर्सका संस्थापक स्वर्गीय नुरप्रताप राणा र सांगीतिक क्षेत्रकी दिग्गज स्वर्गीय गंगा राणाको पैत्रिक सम्पत्तिमा कुटिल आँखा गाडेर आफ्नै भतिजालाई सुकुम्बासी बनाउन खोजिएपछि उनका नाति अद्वैतप्रताप राणा अदालतको आगनमा पुगेका हुन । अमेरिकी सेनामा एक दशक सेवा गरेर अवकाश लिएका अद्वैतले अदालतमा दिएको फिरादपत्रमा परिवारको सम्पत्तिमा अहिलेसम्म विधिवत् अंशबण्डा नभएको दाबी गरेका छन् । अद्वैतको फिरादपत्रअनुसार उनका पिता स्वर्गीय कुन्दन राणा शारीरिक रूपमा अशक्त थिए । विदेशमा बस्ने र स्वास्थ्य अवस्था कमजोर भएका कारण परिवारको पैतृक तथा सगोलको सम्पत्तिको रेखदेख काका अमिरप्रतापले गर्दै आएका थिए ।
बाल्यकालमै बुबाको बिग्रँदो स्वास्थ्यका कारण अद्वैत ललितपुरस्थित लिटिल एन्जल्स स्कुलको होस्टेलमा बसेर हुर्किए । उनले सोही विद्यालयबाट २०६९ मा एस.एल.सी. र कक्षा १२ पूरा गरे । दुवै दिदीहरू सन् २००५ तिर अमेरिका गएका थिए भने पिताको उपचारका लागि परिवारको अमेरिका आवतजावत भइरहन्थ्यो । जेठा छोरा कुन्दन अशक्त र बिरामी परेको मौका छोपेर काका अमिर र काकी विदुषीले सम्पूर्ण श्रीसम्पत्ति आफ्नो हातमा लिए ।
सोही सगोलको सम्पत्ति, कम्पनीको मुनाफा र पुख्र्यौली पैसाको प्रयोग गर्दै काकी विदुषीले गोल्डस्टारको ब्राण्डिङबाट चर्चा कमाएर राजनीतिमा प्रवेश गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद् समेत बनेको र काका अमिरले षड्यन्त्रपूर्वक आफ्नो र आफ्ना सन्तानका नाममा मात्र निजी सम्पत्ति र घरजग्गा खरिद गरेर साम्राज्य खडा गरेको उनको आरोप छ । सगोलको रकमबाट काका अमिरप्रतापले विभिन्न कम्पनीमा लगानी गरेको, व्यापार व्यवसाय सञ्चालन गरेको तथा आफ्नो र पत्नी विदुषी राणाको नाममा घरजग्गा खरिद गरेको दाबी गरेका छन् ।
०००

