वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

शिक्षा/स्वास्थ

वरिष्ठ साहित्‍यकार मदनमणि दीक्षितको निधन भएको छ। पत्रकार कनकमणि दीक्षितले बिहीबार बिहान दीक्षितको निधन भएको ट्‍विटरमा लेखेका छन्। उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि कालिकास्थानस्थित घरमा राखिने उनले लेखेका छन्। उनी ९७ वर्षका थिए।

निमोनियाका कारण गएको साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस हुनुभएको उहाँलाई कमलपोखरीमा रहेको हिमाल अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका थिए । उहाँलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

उहाँको जन्म १९७९ फागुन ६ गते काठमाण्डौको गैरीधारामा भएको थियो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । माधवी ग्रन्थका लागि उहाँलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए ।

मदनमणि दीक्षितका प्रकाशित कृतिहरूः

मदनमणि दीक्षितका प्रकाशित कृतिहरूः
१. माधवी (उपन्यास, वि.सं.२०३९)
२. चरैवेति (निबन्ध संग्रह, वि.सं. २०४४)
३. त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७)
४. हाम्रा ती दिन (निबन्ध, वि.सं.२०२९)
५. म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)
६. बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)
७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९. कसले जित्यो कसले हार्‍यो ? (कथा संग्रह, वि.सं २०२१)
१०. दशलाख हिरोसिमातिर
११. ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५)
१२. जीवन महाअभियान १३. ऋग्वेद केही प्रमुख सूक्त (२०६५ वि. सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *