सैनिक कल्याणकारी कोष : एक वर्षमै ३ अर्ब बढ्यो

पत्र-पत्रिका

नेपाली सेनाको कल्याणकारी कोषमा रहेको रकम एक वर्षमै करिब ३ अर्ब रुपैयाँ बढेको छ । २०७५ असार मसान्तसम्म कोषमा ३५ अर्ब ७७ करोड २४ लाख नगद मौज्दात रहेकोमा एक वर्षको अवधिमा २ अर्ब ८० करोड ३६ लाख रुपैयाँले वृद्धि भएर ३८ अर्ब ५७ करोड ६० लाख नगद मौज्दात भएको हो । कोषमा १० वर्षअघि १३ अर्ब ६ करोड रुपैयाँ नगद मौज्दात थियो । १० वर्षअघिको तुलनामा कोषको रकम तेब्बर बढेको हो ।

राजधानी लेख्छ सेनाले संयुक्त राष्ट्र संघअन्तर्गतको शान्ति मिसनमा सहभागी भएबापतको करिब १ करोड २४ लाख १ हजार रुपैयाँबाट २०३२ सालदेखि कोष सुरुवात गरेको थियो । गत वर्षको असार मसान्तसम्म कोषमा ३५ अर्ब ७७ करोड २४ लाख नगद मौज्दात थियो ।

नेपाली सेनाका सहायक रथी एवं कोषका निर्देशक सागरबहादुर केसीले गत वर्षको असार मसान्तसम्मा ३५ अर्ब ७७ करोड २४ लाख नगद मौज्दात रहेकोमा यस वर्ष २ अर्ब ८० करोड ३६ लाख रुपैयाँले वृद्धि भएको जनाए । यसबाहेक कोषमार्फत विभिन्न आयोजनामा ५ अर्ब ६४ करोड ३० लाख ४० हजार रुपैयाँ लगानी गरिएको छ ।

कोषको बैंक निक्षेप रकमबाट प्राप्त हुने ब्याज, शान्ति सेनामा भाग लिएबापत संयुक्त राष्ट्र संघबाट शोधभर्ना प्राप्त हुने रकम, विद्यालय महाविद्यालयबाट प्राप्त हुने शैक्षिक शूल्क तथा विभिन्न आयमूलक परियोजनाबाट कोष वृद्धि हुँदै आएको सेनाको भनाइ छ ।

सेनाले कल्याणकारी कोषको रकम बहालवाला सैनिक परिवार तथा भूतपूर्व सैनिक परिवारका लागि लगानी गर्दै आएको छ । यस्तै, कोषमा जम्मा भएको रकम शिक्षा, स्वास्थ्य, स्वरोजगार, किरिया कर्म अनुदान, आवास सुविधा, आर्थिक राहत कार्यक्रम, ऋण सुविधालगायतमा लगानी गर्दै आएको छ । कोषको रकमबाट सेनाले विभिन्न १४ वटा परियोजनासमेत सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *