आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टीभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा भरतपुर क्षेत्रमा प्रदर्शनमा उत्रेकामध्ये हालसम्म २२ जना गिरफ्तार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार तीमध्ये चारजना धरौटीमा छुटेका छन्, १८ जनालाई अनुसन्धान गर्न प्रहरीले हिरासतमा राखेको छ । रविलाई तत्काल रिहा गर्नुपर्ने माग राखेर साउन ३१ गते शुक्रबारदेखि हरेक दिन प्रदर्शन हुने गरेको छ । प्रहरीले साउन ३२ गते चार जनालाई समाएको थियो । भदौ २ गते १० जना पक्राउ परे । मंगलबार रविसहित तीनजनालाई अनुसन्धानका लागि म्याद थप गर्नअदालत लैजाने दिन थियो । त्यो दिन प्रदर्शनमा उत्रिएका ८ जना समातिएको कनन्तिपुरले लेखेको छ ।
‘समातिएकामध्ये चार जना धरौटीमा छुटेका छन्, १८ जनालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न चितवन जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर हिरासतमै राखिएको छ’, डीएसपी कोइरालाले भने ।
समर्थकको प्रदर्शनमा बुधबारबाट संख्या पातलो हुँदै गएको छ । प्रदर्शनमा उत्रेकाले अराजक नारा लगाउने गरेको भन्दै नेकपा चितवनले त्यस्ता कार्यक्रममा सहभागी नहुन सोमबार प्रेस विज्ञप्ति जारी गरेर कार्यकर्ता तथा समर्थकलाई निर्देशन दिएको थियो । सोही दिन कांग्रेसले पनि अलग्गै विज्ञप्ति निकालेर शान्तिपूर्ण रूपमा सभासम्मेलन र जुलुसमार्फत जायज मागको ‘परीक्षण’ गर्न पाउने संवैधानिक अधिकार प्रत्याभूत हुनुपर्ने बताएको थियो ।
यसअघि आइतबार साँझ चितवन जिल्ला प्रशासनमा सर्वदलीय बैठक बसेको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायत सुरक्षा अधिकारी, नेकपा, कांग्रेस, समाजवादी पार्टी, जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा ९माले० र राप्रपाका नेता–प्रतिनिधि सहभागी बैठकले तीन बुँदे निर्णय गरेको थियो । पक्राउ परेका व्यक्तिहरूको पक्षरविपक्षमा नभई शान्ति कायम गर्न दलहरूले सर्वसाधारणलाई अपिल गरेका थिए । दलहरूले अराजक प्रदर्शनलाई निरुत्साहित गर्ने निर्णय गरेका थिए ।