आज कुशेऔंसी, बाबुको मुख हेर्ने दिन

जीवन दर्शन प्रमुख

भाद्र कृष्ण औँशीका दिन मनाइने कुशे औँशी पर्व शुक्रबार वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

यस दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

यसै पर्वलाई बाबुको मुख हेर्ने पर्वको रुपमा पनि धुमधामसाथ मनाउने गरिन्छ । छोराछोरीहरुले आफ्ना बाबुलाई मीठो भोजन गराउने तथा आशिर्वाद लिने चलन छ । घरदेखि टाढा रहेका सन्तानहरुले पनि आज बाबुलाई फोनबाटै भए पनि सम्झने गर्दछन् ।

बाबु दिवंगत भइसकेका सन्तानहरुले भने विभिन्न कुण्ड तथा तीर्थस्थलमा गई पितृ तर्पण गर्ने तथा पिताको नाममा ब्राह्मणलाई सिदा दान गर्ने गर्दछन् । काठमाडौंको गोकर्णलगायतका तीर्थस्थलहरुमा पितृ तर्पण गर्नेहरुको आज बिहानैदेखि भीड लागेको छ ।

मानिसले यस लोकमा जन्म लिएपछि पितृ ऋण, ऋषि ऋण र देव ऋणबाट मुक्त हुनुपर्दछ भन्ने शास्त्रीय मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *