भ्रष्टाचारलाई अन्त्य गरेर चिनियाँ सहयोगको सदुपयोग गर्ने हो भने नेपालको विकासमा कायापलट हुन्छ

अन्तरवार्ता प्रमुख राजनीति

 

राजनीतिक विश्लेषक, लेखक एवं पूर्वराजदूत कमल कोइराला, कोइराला परिवारका एक्ला कम्युनिस्ट र पुराना वामपन्थी नेता हुन् । राणा शासकबाट देशलाई मुक्ति दिलाउने योद्धा कृष्णप्रसाद कोइरालाका नाति, यसपछिका कार्यकारी प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमल कोइरालाको जन्म १९९५ बैशाखमा विराटनगरस्थित कोइराला निवासमा भएको थियो । बुवा प्रधानमन्त्री हुँदै गर्दा १६ वर्षको उमेरमा अञ्जानमै कम्युनिस्ट नेतृत्वको जुलुसमा गएर पक्राउ परेर सात दिन जेल जीवन बिताउनु भयो, उहाँले । ०१७ सालमा भारतको मुम्बईमा अखिल भारतीय नेपाली विद्यार्थी फेडरेसनको सम्मेलनबाट महासचिवमा निर्वाचित हुनुभयो । ०१९ बैशाख ४–१५ को नेकपा तेस्रो महाधिवेशनबाट २४ वर्षको उमेरमा केन्द्रीय समितिमा चुनिनु भयो । ०२४ साल माघमा मोरङको मंगलबारेबाट पक्राउ परेर २ वर्ष थुनामा बस्नुभयो । ०४८ सालको आमनिर्वाचनबाट मोरङ–५ बाट प्रतिस्पर्धी नेपाली कांग्रेसकी शैलजा आचार्यलाई पराजित गर्र्दै पहिलोपटक सांसद बन्नुभयो । ०५१ सालको निर्वाचनमा फेरि सोही निर्वाचन क्षेत्रबाट चुनाव जित्नुभयो । ०६४ मा दक्षिण कोरियाका लागि नेपाली राजदूतका रूपमा नियुक्त हुनुभएको थियो । उहाँ विदेश नीतिबारे पनि जानकार हुनुहुन्छ । भर्खरै मात्र चिनियाँ राष्टपति सी जिनफिङ दुईदिने भ्रमण सकेर स्वदेश फर्किनु भएको छ । भ्रमणका क्रममा नेपाल–चीनबीच २० बुँदे सहमति गरिएका छन् । राष्ट्रपति सीको भ्रमण र सहमति कार्यान्वायनको सम्भावनाबारे तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एलबी विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः

चिनिया“ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई यहाँले कसरी हेर्नुभएको छ ?
चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण हाम्रा लागि उपलब्धिमूलक भएको छ । उच्चतम् तहको भ्रमणमा उच्चतम् तहको लेनदेन हुन्छ । यसैले २३ वर्षपछि भएको उच्चस्तरीय भ्रमणले धेरै महत्व राखेको छ । अहिले आर्थिक रुपमा विश्वकै दोस्रो बनेको चीनलाइ सुरक्षाको खाँचो पनि उत्तिकै छ । यसैले सीमा सुरक्षाका लागि विभिन्न यन्त्रहरु जडान गर्ने कुरा छ । विगतको सीमा सुरक्षा यान्त्रीकरण भइसकेको छैन् । यो भ्रमणबाट देशले निकास पाउने भएको छ । विकास पाउने भएको छ । यति मात्र होइन, तेस्रो मुलुकसम्म पनि नेपाली उत्पादनले बजार पाउने छन् । सरकारले जनताको हितका लागि काम गर्न सक्यो भने पक्कै पनि चीनसँगको सहकार्यले कायापलट हुने गरी विकासका मुलहरु फुटाउने छ । तर, सरकारले यसमा हुन सक्ने भ्रष्टाचारलाई अन्त्य गर्न सक्नुपर्छ । सबै कर्मचारी र जनप्रतिनिधिलाइ भ्रष्टाचारबाट मुक्त गराउन सक्नुपर्छ ।

कमल कोइराला
राजनीतिक विश्लेषक

राष्ट्रपति सीको यो भ्रमण्बाट देशलाइ के फाइदा हुन्छ ?
चिनियाँ राष्ट्रपति आफ्नै देशमा व्यस्त छन्, नेपाल हेर्न आएका होइनन् । यहाँ आएर साना ठूला गरेर २० वटा सम्झौता भएका छन् । त्यसमा केही ठूला गहकिला सम्झौता भएका छन्, । सीको भ्रमण हामीलाई धेरै कारणले चाहिएको छ । हामी भारतमाथि मात्र निर्भर छौँ । चीन राजा महेन्द्रले कोदारी राजमार्ग खोलेपछि भर्खर मात्र जोडिएको हो । त्यो एउटा मात्र बाटो छ । भारततिर सडक, गल्ली गरेर हजारौँ बाटा छन् । त्यसतर्फ सामान्य माटोको ढिस्को त बोर्डर छ । यतातिर बोर्डर पनि चुचुराहरु छन् । त्यसकारण हामीलाई चीनसँग कनेक्ट हुन गाह्रो छ । चीन नयाँ तरिकाले अगाडि बढिरहेको छ । नेपाललाई नजिक पर्ने भएकाले केरुङबाट रेल नेपाल आउँदै छ । यसपाली अझ काठमाडौंसँग सजिलै कनेक्टिभिटी बढाउन सुरुङ मार्ग बनाउने योजना अघि सारिएको छ । २ वटा सुरुङ एउटा ४÷५ किलोमिटरको अर्को करिब १० किलोमिटरको सुरुङ निर्माण हुँदैछ जस्ले दूरीलाई अझ घटाउने छ । यसरी चीन नेपालसँग कनेक्टिभिटी घटाएर आवतजावत बढाउनेतर्फ अघि बढिरहेको छ । यसले नेपालमा चाइनिज पर्यटकहरु थुप्रै नेपाल आउँछन् । पर्यटनका हिसाबले पनि नेपाललाई फाइदा पुग्न जान्छ । चीनमा म आफैँ गएर हेरेँ । बुद्धको अग्लो मूर्ति र प्यागोडाहरु छन् । बुढाबूढीहरु लम्पसार पर्ने, धुप चढाउने गर्छन् । यसैले लुम्बिनीको विकास बढ्न जान्छ । उडानहरु बढ्दै जान्छन् । यसैगरी चीनलाई पनि नेपाल आवश्यक छ । धेरै पहिले तिब्बतमा उपद्रो गर्नेहरु थिए । तर, नेपाल ‘वान चाइना पोलिसी’ मा छ । ठोस रुपमा अहिले नौ सय मेगावाटका २ वटा तमोर र माडीमा एउटा ७५६ र अर्को १५६ जलाशय निर्माण गरिने छ । काठमाडौंको दक्षिणी चट्टानमुनीको पानीको लागि खर्च गर्ने भएका छन् । मेलम्चीको आसमा बसेका नेपालीलाई यसले पानीको समस्याबाट मुक्त गराउने छ । सभ्यता र सहरीकरणको निम्ति त्यो पानी आवश्यक छ । यसरी सबै ५६ अर्ब नेपाललाई चीन सरकारले दिने भएको छ । अरु नियमित आदान प्रदान दुवै देशको कायम नै रहने छ । महान्यायाधिवक्ताको तहमा चीन नेपाल सुरक्षाको निगरानी हुनेछ । फौजदारी कानुनी सहायताको कुरा छ । चीनको योजना आयोग र चिनियाँ योजना आयोगबीच समझदारी हुनेछ । यसले कर्मचारीको दक्षता र क्षमता वृद्धिमा सहयोग पुग्नेछ । सीमा सुरक्षामा उपकरण जडान गर्ने, यो चीनविराधी गतिविधि नहोस् भनेर उपकरण जडान गरिन लागिएको हो । सगरमाथाको संरक्षण र सगरमाथाको सुरक्षाको बारेमा पनि समझदारी भएको छ । यसको प्रशंसा पनि भएको पाइन्छ । विगतमा पनि कोदारी राजमार्ग अनुदानमै निर्माण गरिएको हो । नारायणघाट मुग्लिन सडक खण्डको सुधार चाइनिजले नै गरेका छन् । पोखरा काठमाडौं नै एक दिन लाग्थ्यो । अहिले थोरै समयमा भएको छ । कैयौँ कुराहरु भर्खरै सुरु हुँदै छन् । जस्तो रेलको सम्भाव्यता, अहिले यसबारे डिटेल कुरा भइसकेको छैन । पहिले रेल केरुङ आउनु प¥यो अनि मात्र तयारी हुन्छ । कम्तिमा पनि चीनकै रेलमा पनि नेपाली चढ्न पाउँछन् ।

अहिले चीनको व्यापार विश्वभर फैलिएको छ । यो भ्रमण कतै व्यापारिक विस्तारका लागि त होइन ?
चीन व्यापारिक देश हो । धेरै उपकरणहरु अहिले चीनले उत्पादन गरिरहेको छ । यसैले उसले आफ्नो फाइदा हेर्नु ठिकै हो । यसले चीनलाईभन्दा पनि नेपाललाई बढी फाइदा हुन्छ । चीनबाट आउने सामानहरु सस्तोमा नेपालमा आउँछ । भारत चीन दुई राष्ट्र एक अर्काका प्रतिष्पर्धी हुन् । यो आज हाइन, चीन एक सामान्य राष्ट्र थियो त्यसबेलादेखि नै । तर, भारत चीनको सबैभन्दा ठूलो साझेदार राष्ट्र हो । अन्य देशहरु पनि उत्तिकै साझेदार छन् । नजिकै भएकाले भारतले बढी फाइदा लिइरहेको छ । अमेरिकामा ट्रम्प आएदेखि उसले विभिन्न कारणले चीनको निर्यात कम गराउने षड्यन्त्र गरिरहेको छ । भन्सार बढाउने जस्ता विभिन्न कारणहरु देखाएर दुरुत्साहन गर्न खोजिरहेको छ । अमेरिकामा पनि चीनको ठूलो बजार छ । दक्षिण कोरियामा पनि ठूला बजार छ । यस्तो किसिमले चीनको बजार विश्वभर नै फैलिएको छ । चिनियाँ राष्ट्रपति सीले भने नेपालले आफूबाट लाभ लिन सक्नु पर्ने जनाएका छन् । हामी गफ मात्र गर्छौँ । दिइएको अनुदानको सही सदपयोग गर्न सक्दैनौँ । नयाँ पद धारण ग¥यो । ६५ लाखको गाडी चढ्यो गाउँमा खानेपानीको सुविधा छैन । हाम्रो फूर्तिफार्ती पनि बढी नै छ । यसैले कर्मचारीतन्त्रले यसलाई कसरी हेरेको छ, यसलाई हामीले हेर्न बाँकी छ । यस्तै टोखाबाट सुरुङ मार्ग काठमाडौं जोड्ने गरी निर्माण गरिँदै छ । केरुङबाटै जोडियो भने पनि छोटो पर्न जान्छ । यसले पूर्व हुँदै आउनु पर्ने बाध्यतालाई कम गर्छ । यी सबैकुराहरु सम्भाव्यता अध्यायनमा धेरै वर्ष जान्छ । ठेक्कापट्टाको कुरामा सरकारले फास्ट छ । सायद कोही एकलाई पहिले नै तयार पारिएको छ, हो यो काम रफ्तारमा हुन्छ । बाँकी सबै काम सुस्तरी नै हुन्छ । चाइनिजहरुले पानीको अध्यायन, सुरुङ मार्गको अध्यायनलगायत कामहरु गरिदिने कमिटमेन्ट गरेका छन् । यसैले सबै कुराहरु सित्तैमा हँुदैन । काम पूरा गर्न केही ऋणको पनि नेपाललाई आवश्यकता पर्न जान्छ । चीनलाइ हाम्रो आवश्यकता छ । १४ सय १४ मिटर सिमाना जोडिएको छ । तिब्बतको उन्नति र रेल आएपछि अर्को बाटो पनि खुल्न जान्छ ।

रेल ऋणमा ल्याउने की अनुदानमा भन्ने छ नी ?
रेल अनुदानमा नै ल्याउने कुरा आयो । चीनलाइ राम्ररी थाहा छ, नेपाललाई ऋण दिए पनि यत्रो रकम तिर्न सक्दैन । यसैले रेल अनुदानमा ल्याउन लागिएको हो । भारतलाइ ऋण दिँदा उनीहरुले यति अनुदान दिँदैनन् । नेपालमा धेरै सम्भावनाहरु छन् । ती नबन्न सक्ने अवस्थाका पक्कै छैनन् । तर, जटिल छन् । यसका लागि हामीले रहर गरेर मात्र हुँदैन । त्यसका लागि चीन पनि सहमति हुनुपर्छ । चीनसँग ऋण लिएछ, अब देशलाइ ऋणको पासोमा पार्न थाले भन्ने कुरा पनि उठेको पाइन्छ ।

यो भ्रमणले अन्य राष्ट्रस“गको सम्बन्धमा कस्तो प्रभाव पर्ला ?
यसले अन्तर्राष्ट्रिय सम्बन्धमा अवश्य पनि प्रभाव पर्न जान्छ । तर, सकारात्मक प्रभाव पर्छ । अहिले पश्चिमी मुलुकसँगको सम्बन्ध बिग्रियला की भन्ने डर हो । यस्तो हुँदैन । अहिले पनि दक्षिण कोरियामा अमेरिकाको सेना छ । सैनिक क्याम्प पनि छ । तर, रणनीतिक साझेदार मेरो चीन नै हो भन्छ । व्यापार व्यावसाय चीनसँग राम्रो छ । कोरियनहरुको लगानी अर्बौँ रुपैयाको पानीजहाज निर्माण कम्पनी एसटिएक्स जहाजको ठूलो कम्पनी पनि कोरियाको हो । तर, त्यहाँ चाइनिज नाम फरक राख्नु प¥यो । यसैले कम्पनी कोरियन सामग्री चाइनामा बन्छ । त्यसमा म्याड इन चाइना भनेर लेखिएको हुन्छ । अमेरिकामा पनि धेरै सामानहरु जस्तै लुगा कपडा किन्दा पनि मेड इन चाइना लेखिएको हुन्छ । फर्निचर पनि पानीजहाजबाट अमेरिका ल्याइएको छ । अमेरिकनले स्याटेलाइट बनाउने, इन्टरनेको कुराहरुमा सधैँ अग्रस्थानमा छन् । तर, चाइनिजहरुले कन्जुमर गुड्सहरुमा चीन धेरै अगाडि बढ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *