नेपालीले ०७६ सालको बडादसैँ मनाउँदै गर्दा केही यस्ता घटनाहरू भएका छन् जसले नेपालका नेताहरूमा ठूलो नैतिक पतन भएको पुष्टी गरेको छ । नेपालमा अपराधलाई हतियार बनाएर राजकीय सत्ता प्राप्त गर्ने परम्परा परापूर्वकालदेखि चल्दै आएको हो । राजनीतिक सत्ता परिवर्तन गर्नका लागि अपराधको बाटो अपनाएको उदाहरण नेपालको इतिहासमा धेरै उल्लेख गरिएका छन् । आधुनिक नेपालमा पनि राजनीतिक सत्ता प्राप्ति र परिवर्तनका लागि जनआन्दोलन वा जनयुद्धजस्ता घटनाहरू भएका छन् । त्यसमा लागेका राजनीतिक दलका ठूला नेताहरूले आपराधलाई राजनीतिक आन्दोलनको हतियार बनाएका छन्। नेपालमा राजनीति गर्ने नेताहरूको उद्देश्य राम्रो भए तापनि त्यसलाई प्राप्त गर्ने तरिका सधैँ गलत अपनाएका छन् । नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, एमाले र माओबादीहरूले नेपाल र नेपाली जनताको राजनीतिक अधिकार प्राप्तिका लागि सत्ता परिवर्तन गर्न अपराधकै बाटो अपनाएका थिए । यतिसम्म ठिकै छ तर राजकीय सत्ता प्राप्ति र परिवर्तन पछाडि पनि उक्त राजनीतिक दलका केही नेताहरूले अपराधीहरूसितको आफ्नो हेलमेल र सम्पर्क नत्यागेकाले नेपालको राजनीतिमा ठूलो समस्या देखिएको छ । एकातिर जनआन्दोलन र जनयुद्ध ताका अपराध र अपराधीहरूसित भएको साँठगाँठ र सम्पर्क नेताहरूले राजकीय सत्ताको उच्च पदमा बसेर पनि कायमै राखेका छन् भने अर्कातिर सत्तामा पुगेपछि भ्रष्टाचार गर्ने नयाँ अवसरहरू पाप्त भएकाले त्यसबाट पनि भरपुर फाइदा उठाएका छन् । यहि नै नेपाली नेताहरूको नैतिक पतन गर्ने ठूलो कारण बनेको देखिन्छ । राजनीतिक उद्देश्य प्राप्तिका लागि नेताहरूबाट भए÷ गरेका हत्या हिंसा बलात्कार, लुटपाट र यौनदुराचारलाई राष्ट्रले अहिले जनआन्दोलन वा जनयुद्ध मानेको छ । जनआन्दोलन वा जनयुद्धको नाममा नेपाल राष्ट्र र नेपाली नागरिकहरू विरुद्ध भएगरेका सबै आपराधहरूलाई आममाफी दिने चलन नेपालमा बसेको छ । यतिसम्म राष्ट्रमा शान्ति कायम गर्नका लागि ठिक हो भन्ने मान्दा पनि शान्तिकालको राजनीति सञ्चालन गर्दा पनि केहि नेताहरूले आपराधको मार्ग नै अपनाउने गरेकाले नेपालको राजनीतिमा ठूलो समस्या खडा भएको छ । पूर्वसभामुख कुष्णबहादुर महराजस्ता माओवादीका ठूला नेता र माओबादीकै रोशनी शाहीबीच भएको यौनकाण्डले नेपालको राजनीमिा नैतिक पतनको ठूलै समस्या छ भन्ने कुराको पुष्टी भएको छ । त्यसैगरी नेपाली कांग्रेसका रौतहटका सांसद महम्मद आफताव आलम संलग्न रहेको आमहत्या काण्डहरूले नेपालको शान्तिकालको राजनीतिमा समेत आपराध हाबी रहेको कुरा ऐनजस्तै छर्लंग तुल्याएको छ । एकबार होइन, बारबार अपराधकै मार्ग अपनाएर निज आरोपी आलम नेपालको माननीय सांसद बन्न सफल भएका छन् । त्यसैले भ्रष्टाचार र अपराध नेपालको शान्तिकालको राजनीतिका लागि ठूलो चुनौती बनेको छ । नेताहरूले जनआन्दोलन वा जनयुद्ध ताका आपराध र आपराधीहरूसित बनाएको गाढा सम्बन्ध अहिले नेपालको शान्तिकालको राजनीतिका लागि खतरा बनेको छ । तिनै अपराधीहरू अहिले सत्तामा पुगेर भ्रष्टाचार र अपराध गरी राष्ट्रलाई लुट्न सक्रिय छन् र नेकपा सरकारले त्यसलाई रोक्न सकेको छैन । राजकीय सत्तामा बसेकाहरूले भ्रष्टाचार र अपराधलाई रोक्नै पर्छ नत्र राष्ट्रको विकास, समृद्धि र आमनेपाली जनताको सुख नेपालमा कहिले पनि सम्भव हुन्न । राजकीय सत्तामा टिकेर बस्नकै लागि पनि नेकपा सरकारले केहि न केहि नेपालको विकास गरी राष्ट्रलाई समृद्ध र आमनेपाली जनतालाई सुखी बनाउनु नै पर्ने हुन्छ । यहि गर्न नसकेको हुनाले अहिले नेकपा सरकार ठूलो राजनीतिक दबाबमा परेको कुरा प्रष्ट नै छ । नेपालका राजनीतिका पण्डितहरू अहिले नै नेपालमा राजतन्त्र फर्किन सक्ने तर्कहरू गर्न थालेका छन् । उनीहरूका तर्कअनुसार नेपालमा हाल कायम रहेको संघीय राजनीतिक व्यवस्था राष्ट्रको आर्थिक उन्नतिको हिसाबले बोझिलो भएको हुँदा चाँडै आफ्नै तौल धान्न नसकेर ढल्ने बताएका छन् । नेपालमा हाल कायम रहेको संघीय राजनीतिक व्यवस्थाको मुख्य समस्या भनेको भ्रष्टाचार र अपराध नै हो । ठूलो संख्यामा भ्रष्टाचारी र अपराधीहरू नेता र जनप्रतिनिधि बनेर संघीय राजनीतिभित्र छिरेका छन् । नेकपा सरकारले यस्ता भ्रष्टाचारी र अपराधीहरूलाई तह लगाउन सकेको छैन । एकातिर नेकपा सरकार संघीय राजनीतिक व्यवस्थालाई सफल पार्ने अभियानमा जुटेका छन् भने अर्कातिर भ्रष्टाचारी र अपराधीहरू सरकारको त्यो सतप्रयासलाई विफल पार्नका लागि राष्ट्र लुट्ने अभियानमा जुटेका छन् । नेकपा सरकारको ताल भने प्वाल परेको पानीजहाजमा यात्रा गरेकोजस्तो देखिएको छ । सानो छिद्रले पनि ठूला ठूला पानीजहाजलाई डुबाउन सक्ने कुरा नेकपा सरकारले भुल्नु हुन्न । प्वाल परेको जुत्ता लगाएकाले पानीमा छाता ओढेको केहि काम लाग्दैन भन्ने हालतमा अहिले नेकपा सरकार गुज्रिरहेको देखिन्छ । राष्ट्रको आर्थिक उन्नति नभएसम्म समृद्धि हुन्न र समृद्धि नभएसम्म आमनेपाली सुखी हुन सक्दैनन् । मुठीभरका केहि नेपाली जनतालाई मात्र अहिले नेपालमा समृद्धि आएको छ र उनीहरू सुखी पनि भएका छन् । सात पुस्तालाई पुग्ने गरी कमाउन सफल केहि नेपाली भ्रष्टाचारी र अपराधीहरूका लागि अहिले नेपाल साँग्रिला राष्ट्र बनेको छ । जति भ्रष्टाचार गरे पनि जति अपराध गरे पनि नेपालमा उनीहरूलाई कारबाही गर्न सक्ने सरकार बनेकै छैन र त्यस्तो राजनीतिक व्यवस्था आउन सकेको पनि छैन । नेपालमा भ्रष्टाचारी र अपराधीहरूले वेरोकटोक कमाउन सक्छन् र त्यसरी कमाएको सम्पत्ति सुरक्षितपूर्वक हुन्डी गरी कर नलाग्ने कुनै पनि पश्चिमी राष्ट्रहरूमा लगेर थन्काएर सुरक्षित राख्न सक्छन् । अहिलेसम्म त्यस्ता नेपाली अपराधी र भ्रष्टाचारीहरूले अमेरिका र ब्रिटेनतिर धेरै धन पार गरी थुपारिसकेका छन् र परिवारलाई त्यतै लगेर नेपालको कानुनी झमेलाबाट सुरक्षित पारेका छन् । अर्थशास्त्रको भाषामा वैल्थ क्रियसन अर्थात आर्थिक उत्पादनबाट आर्थिक उन्नति हुने र समृद्धि आउने भनिएको छ । तर नेपालमा त्यस्तो वैल्थ क्रियसन केहि भएको छैन भ्रष्टाचार र अपराध मात्रै भएका छन् । पूर्वाधार विकासमा ऋण काढी–काढी लगानी गरिएका छन् तर परियोजना गुणस्तरको नबन्ने र भ्रष्टाचार हुने गरेकाले सबै त्यस्ता पूर्वाधार विकासमा गरिएका लगानीहरू खेर गएका छन् । नेपालका कुनै पनि पूर्वाधार परियोजनाबाट लक्ष्य अनुसारको उत्पादन भएर नेपालको आर्थिक उन्नतिमा अहिलेसम्म सामान्य योगदान पनि पुग्न सकेको छैन । नेपालमा सदाचारिता र स्वच्छताको ठूलो अभाव रहेको कुरा जताततै चर्चाको विषय बनेका छन् । अहिले नेपालमा कानुनी राज होइन भ्रष्टाचार र अपराधको राज चलेका छ, त्यसैले राज्यको सबै अंगहरू बिकाउ छन् । विदेशी र स्वदेशी अपराधीहरूले पैसा छरेरै नेताहरू, निजामति कर्मचारीहरू र न्ययाधिशहरूलाई आफ्नो सुगा बनाएका छन् । भ्रष्टाचारी र अपराधीका गुलाम बनिसकेका नेताहरू, निजामति कर्मचारीहरू र न्यायाधीशहरू भ्रष्टाचार र अपराधकै पक्षमा निर्णय सुनाउने गर्दछन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमण नेकपा सरकारले ठूलो अवसरको रूपमा लिएको थियो । उक्त भ्रमण निकै सफल भएको कुराको जताततै चर्चा पनि चलेको छ । नेकपा सरकारले आसा गरेअनुसारको उपलब्धि प्राप्त नभए पनि भविष्यका लागि धेरै सम्भावनाको ढोकाहरू खुलेका छन् । नेपालका नेताहरूलाई चिनियाँ राष्ट्रपति सीले नेपाल राष्ट्रको हालत स्वच्छ र सफा बनाउनु पर्ने सुझाव दिएका छन् । अहिले नेपाली नेताहरूमा छाएको नैतिक पतनले गर्दा पूर्वाधार विकासमा नेपालले हालसम्म गरेका सबै लगानी उपयोगी भएको छैन । नेपालका नेताहरूले राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन सक्ने परियोजनाहरूमा लगानी नगरी विदेशी बैंकहरू र विदेशी दातृनिकायहरूले आफ्नो फाइदा हेरी छानेको परियोजनाहरूमा अहिलेसम्म ऋण लगानी गर्दै आएको हुनाले नेपाल झन्झन ऋणमा डुब्दै गएको कुरा सर्वविदितै छ । नेपालको विकासको स्तर झन्झन खस्किँदै गएको कुरा नेपाली जनताको थाप्लोमा बोझ बन्दै गएको विदेशीको ऋण, सरकारी करको भार र महँगीको मारले नै प्रष्ट पार्दै लगेको छ । यस्तो नेपालको विकासबारे भित्री कुरा बुझेका चिनियाँ राष्ट्रपतिले नेकपा सरकार र पार्टीभित्रको स्वच्छता र सदाचारितामा जोड दिएका छन् । सत्तामा टिकिरहनका लागि कुरामा भन्दा काममा ध्यान दिनु पर्ने बताएका छन् । दिनरात मेहनत गरी राष्ट्रलाई समृद्ध र आमजनतालाई सुखी बनाउन सकेकाले मात्र चिनियाँ कम्युनिष्ट पार्टीले चीनमा सात दशकदेखि शासन चलाउन सकेको प्रष्ट पारेका छन् । नेपालमा पनि नेकपाले चीनबाट त्यस्तै सिको लिएर नेपालको विकासमा समर्पित भएर लाग्नु पर्ने बताएका छन् । उच्च नैतिक बल भएको स्वच्छ र सफा राजनीतिक पार्टी र त्यसले बनाएको सरकारले मात्र प्रभावकारी ढंगले शासन सत्ता चलाउन सक्ने र देश विकास गर्न सक्ने कुरा चीनबाट नेपालले शिक्षा लिनु पर्छ भनिएको छ ।