प्रमं ओलीको नेतृत्वमा नेकपा सरकार बनेपछि पूर्वाधार विकासको उद्देश्य नेपाललाई समृद्ध बनाउनु र नेपाली जनतालाई सुखी बनाउनका लागि हो भन्ने किटान गरिएको छ । यो भन्दा पहिलेका नेपाल सरकारले पूर्वाधार विकासको उद्देश्य यसरी प्रष्ट पार्न सकेको थिएन । योजना बनाएर उक्त योजना अनुसार नै काम गरी लक्षमा पुग्ने बानी नेपालीलाई छैन । हचुवाको योजनाहरु बनाएर सोही अनुसार काम गर्दै जाँदा आज नेपालको विकास घर न घाटको भएको छ । सातदशक लामो समयमा पनि नेपाल अल्पविकसित राष्ट्रको दर्जाबाट माथि उक्लिन सकेको छैन । नेपालको आफ्नै लगानी र विदेशीबाट प्राप्त ऋण र अनुदान सहयोगको लगानी सबै खेर गएका छन् र बालुवामा पानी खन्याएको बराबर भएको छ ।
विदेशीको ऋण र अनुदान सहयोगले विदेशीहरु र उनीहरुका नेपाली दलालहरु मात्रै समृद्ध भएका छन् भने नेपाली जनतालाई झन्झन दुःखी बनाउँदै लगेको छ । अहिले नेपाली जनता विदेशीको ऋणको भारीले किचिएका छन् भने सरकारी कर र महँगीको मारले पिल्सिएका छन् । ०४६ साल र ०६२÷६३ को जनआन्दोलनले राजतन्त्रलाई समाप्त पारी नेपालमा गणतन्त्र आएको भए तापनि भ्रष्टाचार र अपराध अनियन्त्रित भएर बढेकाले नेपालमा राजनीतिक स्थायित्व आउन सकेन र उल्टै नेपालको राष्ट्रियतामाथि नै संकट बढ्दै गयो । नेपालको सीमानाहरु मिचिन थालियो र विदेशीले नेपालको राजनीति र विकासमा खुल्लमखुला हस्तक्षेप बढाउँदै लगेका छन् । सामाजिक न्याय, धर्म र विकासको नाममा विदेशीले नेपालभित्र देशी विदेशी गैरसरकारी संस्थाहरुलाई परिचालन गरी बिभाजन गर्ने कामहरु भएका छन् । नेपाली समाजलाई विदेशीले आर्थिक, धार्मिक र सांस्कृतिक हिसाबले विभाजित पारिदिएकाले यतिबेला नेपालको राष्ट्रियता धेरै कमजोर भएको छ । यस्तो अवस्थामा नेपाली जनताले बलियो राजनीतिक नेतृत्वको खोजी गर्दै नेकपालाई दुईतिहाइ बहुमत दिएका थिए । उक्त बलियो नेकपा सरकार नेपालमा बनेको र चलेको पनि लगभग दुई वर्ष पूरा हुने अवस्थामा छ । तर पनि नेपाली जनताले अझै राहत महसुस गर्न पाएको छैन किनकि बलियो नेकपा सरकार पनि विगतमा बनेका अन्य सरकारहरु जस्तै विदेशीका पिछलग्गु बनेको छ ।
नेपालमा नेकपा सरकारले अहिलेसम्म फरक देखाउने गरी सरकार चलाउन सकेको छैन । नेकपा सरकार कम्युनिस्टहरुको सरकार हो, तापनि यो बलियो सरकार विगतमा अवलम्बन गरिएका पुँजीवादी सरकारी नीतिहरुअनुसार नै चलेको छ । विदेशीको भरमा नै नेपालको विकास गरेरै देखाउने अभियानमा बढो जोडतोडका साथ लागेका छन् । विदेशीको भरमा हुने र गरिने विकास कहिले पनि भरपर्दो र दीगो हुन सक्दैन । नेपालको विकास नेपाली आफैँले गर्नु पर्छ र त्यो नेपालको आर्थिक स्रोतले धान्ने पनि हुनुपर्छ । चीनका राष्ट्रपतिले पनि यहि कुरा नेपाल र नेपालीलाई सम्झाएर गएका छन् । चीनमा भएको जस्तो सदाचारिता नेपालमा कायम गर्नका लागि सुझाएका छन् । भ्रष्टाचार र अपराधका बीच विकास सम्भव छैन र सबै विकासको लगानी खेर जाने प्रष्ट पारेका छन् । नेपालमा राजनेतादेखि लिएर निजामाति कर्मचारीसम्म बेइमान छन् र आफ्नै घरमा चोरी गर्ने गर्दछन् । तिनीहरुको यस्तो हर्कतले गर्दा आज नेपालको राष्ट्रियतासमेत संकटग्रस्त बनेको छ । यो सब देखेपछि केही वर्षअघि फालिएको राजतन्त्रप्रति नेपाली जनताको भरोसा पुनः बढेर गएको छ । पहिले कमजोर भएकाले चुप लागेका राजतन्त्रवादीहरु अहिले खुलेरै राजतन्त्रको पक्षमा वकालत गर्दै छन् र नेपाली जनताले पनि राजतन्त्र र गणतन्त्रको तुलना गर्दै राजतन्त्रवादीका कुराहरुमा ध्यान दिन थालेका छन् । एसियाली मुलुक लाओस्मा राजतन्त्र फर्केकोजस्तै गरी नेपालमा पनि राजतन्त्र फर्किन सक्ने सम्भावनालाई अब ठाडै नकार्न सकिँदैन । यो सबै कुरा अब गणतन्त्रका पक्षधर राजनेताहरुले कसरी सम्हाल्दै लान्छन् भन्ने कुरामा निर्भर गर्दछ । गणतन्त्रको राजनीतिक संरचना ठूलो भद्दा र नेपालको अर्थतन्त्रले धान्न नसक्ने किसिमको बनेको छ । यसको साथै केन्द्रदेखि स्थानीय तहसम्मका सरकारहरु भित्र भ्रष्टाचारी र अपराधीहरुको बोलवाला छ ।
धेरै जनप्रतिनिधिहरु भ्रष्टाचारी र अपराधी पृष्ठभूमिका भएकाले नराम्रोसित विदेशीको प्रभावमा परेका छन् । राजनेताहरु र जनप्रतिनिधिहरु विदेश घुम्दै समय बिताउने गर्दछन् र राष्ट्रको विकास र जनताको काममा उनीहरुको ध्यान बिल्कुलै छैन । यस्ता राजनेताहरु र जनप्रतिनिधिहरुले पूर्वाधारको विकास गरी राष्ट्रलाई समृद्ध पार्न सक्छन् भनेर कहिले पनि विश्वास गर्न सकिन्न । केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरु कोही मितव्ययी देखिन्न । त्यस्ताले कुनै पनि हालतमा राष्ट्रको आम्दानी बढाउन सक्दैन उल्टै जनतालाई कर लगाएर दुःख दिने काम गरेका छन् । यस्ता लोभी लालची नेताहरुबाट राष्ट्रका लागि कुनै पुरुषार्थको काम हुन सक्ने देखिन्न । उनीहरुले राष्ट्रलाई झन् चुस्ने लुछ्ने र झन्झन कंगाल बनाउँदै लैजाने कामबाहेक अरु काम गर्न सक्छन् भन्ने कुनै आधारै छैन । केन्द्रका शीर्ष नेताहरु नै व्यापारी र दलालहरुसित मिली मुद्रा तस्करीको धन्दा चलाउने गरेका छन् । एकातिर नेपालमा पूर्वाधार विकास गर्नका लागि लगानी छैन भन्छन् भने अर्कातिर नेपालबाट हुन्डी गरी विदेशमा लगानी गर्ने शीर्ष नेताहरु पनि नेपालमा नै छन् । बालुवाटारको सरकारी जग्गादेखि लिएर अन्य ठाउँहरुको सरकारी जग्गासमेत पनि घर जग्गा दलालहरुसित मिलेर खाने र अपचलन गर्ने राजनेताहरु पनि नेपालमा छन् ।
यस्ता नेताहरुले नेपालमा पूर्वाधारको विकास गरी समृद्धि ल्याउने कुरामा एकिनै गर्न सकिन्न । त्यसैले नेताहरुका लागि समृद्ध नेपाल र सुखी नेपाली एक चुनावी राजनीतिक नारा मात्रै हो भन्दा कुनै फरक पर्दैन । राष्ट्र अहिले ठूलो संकटबाट गुज्रिरहेको छ किनकि सरकारभित्र भ्रष्टाचारी र अपराधीहरु घुसेर बसेका छन् र तिनीहरुको निर्देशन अनुसार नै शीर्ष नेताहरुले राज्य सत्ता चलाउने गरेका छन् । यसको सबैभन्दा बलियो प्रमाण हालै भएको मन्त्रिमण्डलको पुनर्गठन नै हो । कस्ता मन्त्रीहरु बाहिर्गमनमा परे र कस्ता नयाँ मन्त्रीहरु सरकारमा सामेल गरिए भन्ने कुरालाई सूक्ष्मरुपले विश्लेषण गरेमा वास्तविक कुरा सजिलै बुझ्न सकिन्छ । नेपालको राजनीतिमा विदेशीले कसरी हस्तक्षेप गर्छन् भन्ने कुरा बुझ्न कठिन छैन । केही मन्त्रीहरु किन थपिए भन्ने कुराको औचित्य कतैबाट पनि स्थापित हुन सक्दैन । मन्त्रिमण्डलको पुनर्गठन विदेशीलाई रिझाउन कै लागि भएको हो कि भन्ने शंका सिधै गर्न सकिन्छ । गैरनेपालीलाई मन्त्री बनायो भन्ने चर्चा भारत र नेपालको छापाहरुमा प्रकाशित भएका छन् । नेपालमा प्रधानमन्त्री ओलीलाई कट्टर राष्ट्रवादी नेता मान्छन् । उनले मधेस आन्दोलन र भारतीय नाकाबन्दीमा कडा राष्ट्रभक्ति देखाएको हुनाले नेपाली जनताले उनलाई दुईतिहाइ बहुमतका साथ राज्य सत्ताको बागडोर सुम्पेका थिए । यस्ता नेताबाट धोका कहिले नहुने नेपाली जनताले ठानेको हुनाले नै उनलाई उक्त चुनावमा दुईतिहाइ बहुमत प्रदान गरेको हो ।
यतिबेला नेपाल र भारतका बीच सीमानाको विवाद चर्केको छ र त्यसको समाधान राष्ट्रको शीर ठाडो हुनेगरी निकाल्नु पर्नेछ । प्रधानमन्त्री ओलीका लागि यो अग्नीपरीक्षा नै हो र यस परीक्षाको परिणामबाट उनी कति राष्ट्रवादी र कति राष्ट्रघाती हुन भन्ने कुरा ऐनाझैँ छर्लंग हुनेछ । अहिले प्रधानमन्त्री ओली बिरामी छन् त्यसैले सक्रियताको साथ राष्ट्रका लागि प्रभावकारी काम गर्न सकिरहेको छैन । त्यसैले पनि नेकपा सरकारले लिएको राष्ट्रको समृद्धि र सुखी नेपालीको लक्ष्य पूरा गर्नका लागि उनको नयाँ टिम राम्रो हुनुपर्ने कुरा प्रष्ट नै छ । उनका मन्त्रिमण्डलका सदस्यहरु र सल्लाहकारका टोलीहरु दक्ष र सरकारको लक्ष्यअनुसार काम गरी पूरा गर्ने सक्ने खालको हुन अति जरुरी छ । सबैले आफ्नै मात्र समृद्धि र आफ्नै मात्र सुख हेर्न थालेमा राष्ट्रको समृद्धि र नेपाली जनताको सुख कसले हेर्ने भन्ने प्रश्न उठ्छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीका टीम नेपाल प्रति आएको टिका टीप्पणीलाई अध्ययन मनन गर्दा उहाँको टिम नेपालले नेकपा सरकारको लक्ष्य पूरा गर्नेभन्दा पनि आफ्नै समृद्धि र सुख हेर्ने खालको भएको आरोप छ । यदि यो कुरा यथार्थ हो भने पूर्वाधार विकास, समृद्ध नेपाल र सुखी नेपालीको सरकारी लक्ष्य भाँडमा जाने नै भयो । जानकार विज्ञहरुले पनि समृद्ध नेपाल र सुखी नेपालीको रोडम्याप एकातिर छाडेर शीर्ष नेता प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड आफ्नै समृद्धि र सुखको रोडम्याप तयार पारी एकातिर लागेको आरोप लगाइसकेका छन् । यो नयाँ मन्त्रिमण्डल पनि सोही रोडम्याप अनुसार नै बनाएको छ भन्ने अनुमान जानकार र विज्ञहरुको छ । नेपालमा यतिबेला विदेशी र उनका नेपाली बिचौलियाहरु सक्रिय भएर नेपालको राजनीतिलाई प्रभावित पार्न कम्मर कसेर लागेका छन् । नेपालका सीमानाहरु अतिक्रमणको चपेटामा परेको छ ।
यस्तो अवस्थामा सरकार बलियो र कसैको प्रभावमा पर्ने खालको हुनु हुँदैन । राष्ट्रवादको कुरा गरेर राष्ट्रघात हुन सक्ने बलियो सम्भावना छ त्यसैले नेपाली जनता सबै सजक र सावधान हुन र रहन जरुरी छ । विगतमा पूर्वराजा ज्ञानेन्द्रलाई व्यापार गरेको भनी यिनै नेताहरुले आरोप लगाएका थिए र उनलाई राजसत्ता त्याग्न बाध्य बनाएका थिए । आज तिनै शीर्ष नेताहरु अपराधी व्यापारी दलालहरुसित मिलेमतो गरी राष्ट्रको पैसा गैरकानुनी तरिकाले विदेश लगेर लगानी गरीरहेका छन् । पूर्वराजा ज्ञानेन्द्रले होटल र उद्योगहरुमा लगानी स्वदेशभित्रै गरेका छन् र विदेशमा राष्ट्रको पैसा लगेर लगानी गरेको छ भनी कसैले दोष लगाउन सकेको छैन । उनैले लगानी गरी बनाएको पाँचतारे सोल्टी होटलले राष्ट्रको नाक ठाडो पारेको छ र सबै विदेशी पाहुनाहरुले उक्त होटेल मन पराउने गरेका छन् र राष्ट्रको महत्वपूर्ण कार्यक्रमहरुको होस्ट पनि उक्त होटेलले नै गर्ने गरेको छ ।
त्यसैले शीर्ष नेताहरुले आफ्नो मुहार आफैँले ऐनामा हेर्नुपर्ने बेला भएको छ र अरुमाथि दोष थुपारे स्वयं भने पानीमाथिको ओभानो बन्ने काम तुरन्तै बन्द गर्नु पर्छ ।