सभामुख चयनमा भएको ढिलाइले ब्युँझियो पुरानो मानसिकता

प्रमुख राजनीति

रामचन्द्र बस्नेत
गत पुस ४ गतेबाट सुरु भएको संसदको हिउँदे अधिवेशनको बैठक अहिलेसम्म सुचारु हुन सकेको छैन । संसदको पहिलो कार्यसूची सभामुख चयन भएको तर यस सम्बन्धमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व तहले निर्णय गर्न नसकेको कारणले गर्दा संसदको यो हिउँदे अधिवेशनको बैठक सुरु हुन नसकेको हो । र, दुई साताको समय दिएर यही पुस २७ गतेका लागि संसदको हिउँदे अधिवेशनको बैठक डाकिएको छ । २७ गतेसम्म पनि सभामुखको मामिलामा नेकपामा सहमति बन्न सकेन भने फेरि सूचना टाँस गरेर संसद बैठक सर्नेछ । तर सत्तारुढ नेकपाका नेताहरुले भने अब सूचना टाँस गरेर संसद बैठक नसर्ने र सभामुख चयनका सम्बन्धमा २७ गतेको बैठकबाट नै प्रक्रिया अगाडि बढ्ने दाबी गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व तहले लामो समयसम्म सभामुख चयन गर्न नसक्दा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र केपी ओलीको नेतृत्व क्षमतामा समेत प्रश्न उठ्न थालेको छ । गत असोजको पहिलो साता बलात्कारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएदेखि नै सभामुख पद रिक्त छ । तर यस सम्बन्धमा नेकपाका अध्यक्षद्वयले लामो समयसम्म कुनै निर्णय गर्न सकेनन् । यही कारणले गर्दा नै अध्यक्षद्वय ओली र दाहालको नेतृत्व क्षमतामा प्रश्न उठ्ने अवस्था बन्न पुगेको छ भने यसैलाई कारण बनाएर प्रतिपक्षले सत्तारुढ नेकपाले संसदलाई बन्धक बनाएको आरोप पनि लगाएको छ । यसैगरी सभामुख चयनको मामिलामा दुई अध्यक्षका बीचमा सहमति बन्न नसक्दा नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको २० महिना बित्न लाग्दा पनि दुई पार्टीको मानसिकत अझै पनि कायम रहेको सन्देश आमजनतामा गएको छ । सरकारको कामबाट जनतामा निराशा छाइराखेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सम्बन्धमा पनि गलत सन्देश जाने गरी नेतृत्व तहले अडान राख्नुले पार्टीलाई हित नगरी राखेको ख्निुले पार्टीलाई हित नगरी राखेको टिप्पणी नेकपाभित्र हुन थालेको छ ।
आगामी माघ ९ गते राष्ट्रियसभाको १८ स्थानमा हुन लागेको निर्वाचनमा नेकपाले १६ स्थानमा उम्मेदवारी दिएको छ । राष्ट्रिय जनता पार्टीसँग दुई नम्बर प्रदेशमा चुनावी तालमेल गरेको कारण नेकपाले दुई नं। प्रदेशमा दुई स्थान राजपालाई छाडेर २ नं। प्रदेशको बाँकी दुई स्थानमा र अन्य ६ प्रदेशमा १४ स्थानमा गरी १६ स्थानमा नेकपाले निर्वाचन लड्दै छ र १६ स्थानमा पनि नेकपाले साविक नेकपा एमालेका निम्ति नौ र साविक माओवादी केन्द्रका निम्ति ७ स्थान तय गरेर दुई पार्टी एकीकरण भएको २० महिनापछि पनि पुरानो दुई पार्टीको मानसिकता कायम नै राख्ने काम नेकपा नेतृत्व तहले गरेको छ । यही दुई पार्टीको मानसिकताको कारणले गर्दा नेकपाका अध्यक्षद्वयलाई सभामुख चयन गर्न ठूलो चुनौती भइराखेको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली सरकार संचालनमा समेत सभामुखको भूमिका महत्वपूर्ण हुने भन्दै आफूले इच्छाएको व्यक्ति सभामुख हुनुपर्ने अडान राख्दै आएका छन् । यो अडान राखेका प्रधानमन्त्री ओलीले सभामुखका लागि सुवास नेम्वाङलाई प्रस्तुत गर्ने गरेका छन् । अध्यक्ष दाहाल भने एकीकरण हुँदाको सहमतिअनुसार सभामुख माओवादी कित्ताले पाउनु पर्ने अडान राख्दै यो पदका निम्ति अग्नि सापकोटालाई प्रस्तुत गर्र्दै आएका छन् । साविक माओवादी केन्द्रका शीर्ष तहका नेताले यो अडान नछाड्न अध्यक्ष दाहाललाई चर्को दवाव दिने गरेका छन् । यही कारणले गर्दा अध्यक्ष दाहाल दुई पार्टी एकीकरण हुँदा भएको सहमतिअनुसार सभामुख पद माओवादी कित्ताबाट नछाड्ने अडानमा छन् ।
अध्यक्षद्वय ओली र दाहालले यसरी सभामुख पदलाई लिएर साविक एमाले र माओवादी केन्द्रको मानसिकतामा रहेर अडान राख्दा त्यसको असर पार्टीको तल्लो तहमा समेत पर्न गएको छ । यही कारणले गर्दा नै सभामुखको मामिलामा सत्तारुढ नेकपाको तल्लो तहसम्म नै अहिले चर्को बहस हुने गरेको छ । अध्यक्षद्वयले यस सम्बन्धमा समयमा निर्णय गर्न नसक्दा सत्तारुढ नेकपामा एमाले र माओवादी केन्द्रको मानसिकता कायम हुने गरेर विवाद बढेर गएको हो । यसको असर आगामी दिनमा पार्टीको संगठन विस्तारदेखि एकताको महाधिवेशनसम्म पर्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *