सभामुख चयन प्रक्रियाले जन्माएको प्रश्न

समाचार

रामचन्द्र बस्नेत
प्रतिनिधिसभाले यही माघ १२ गते नयाँ सभामुख पाउने भएको छ । लामो समयको रस्साकस्सी पछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहालले गत माघ ५ गते बिहान अग्नी सापकोटालाई सभामुख बनाउन सहमति गरेपछि र त्यही दिन साँझ बसेको नेकपा सचिवालय बैठकले अध्यक्षद्वयले गरेको यो सहमतिले अनुमोदन गर्ने निर्णय गरेपछि सभामुखको टुंगो लागेको थियो र गत सोमबारको संसदको हिउँदे अधिवेशनको बैठक बस्नु अगाडि नै उपसभामुख शिवमाया तुम्बाहम्फेले पदबाट राजीनामा दिएपछि सभामुख चयनको बाटो खुलेको थियो । र, संसद सचिवालयले यही माघ १२ गते सभामुख चयनका लागि मतदानको मिति तय गरेको छ । तर, सभामुखका लागि सापकोटाबाहेक कसैको उम्मेदवारी नपरेपछि १२ माघमा सापकोटा स्वतः सभामुख बन्ने भएका छन् ।

गत असोज १५ गते बलात्कार प्रकरणमा परेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि देखि नै सभामुख पद रिक्त रहेको छ । सभामुख चयनका सम्बन्धमा गत पु्स ४ गतेबाट हिउँदे अधिवेशन सुरु भएसँगै नेकपा अध्यक्षद्वयले गृहकार्य अगाडि बढाएका थिए । तर अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओलीले सरकार संचालनमा समेत सभामुखको भूमिका महत्वपूर्ण हुने भन्दै आफूनिकट सुवास नेम्वाङलाई सभामुखका लागि प्रस्ताव गरेपछि र अर्का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकीकरण हुँदा सभामुख माओवादी केन्द्रको भागमा परेको र अहिलेसम्म एकीकरण प्रक्रिया सम्पन्न भई नसकेकाले सभामुख माओवादी पक्षले पाउनु पर्ने जिकिर गर्दै अध्यक्ष दाहालले सभामुखका लागि आफू निकट अग्नी सापकोटालाई अगाडि सारेका थिए । अध्यक्ष ओलीले सभामुखका लागि सुवास चन्द्र नेम्वाङलाई र अध्यक्ष दाहालले अग्नी सापकोटालाई अगाडि सारेसँगै सभामुखको टुंगो नलागी राजीनामा नगर्ने अडान उपसभामुख शिवमाया तुम्बाहम्फे लिएपछि सभामुख चयन प्रक्रिया जटिल बनेको थियो । र, नेकपा अध्यक्षद्वयले सभामुखको टुंगो नलगाउन सकेपछि र यस सम्बन्धी गतिरोध कायम रहेपछि त्यसको असर संसदको हिउँदे अधिवेशनको बैठक माथि पर्ने गरेको थियो ।

हिउँदे अधिवेशनले सभामुख चयन प्रक्रियालाई टुंगो लगाएपछि मात्र औपचारिक कार्यमा प्रवेश गर्ने कार्य तालिका बनाएको भएपनि सभामुखको टुंगो लाग्न नसक्दा पटक पटक संसदको हिउँदे अधिवेशनको बैठक सुचना टाँस गर्दै सार्ने काम हुँदै आएको थियो र पछिल्लो पटक गत माघ ६ गतेका लागि तोकिएको संसद बैठक भने सत्तारुढ नेकपाले सभामुखको टुंगो लगाएको कारणले गर्दा सुचारु हुन सकेको थियो । यसरी सत्तारुढ नेकपाले सभामुख चयनमा ढिलाई गर्दा त्यसको असर संसदको बैठकमा पर्न थालेपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायतका अन्य राजनीतिक दलले संसदलाई सत्तारुढ नेकपाले बन्धक बनाएको आरोप समेत लगाउन थालेका थिए । यसैगरी प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहाललाई सभामुख चयनको मामिलामा थप दवाव दिन अध्यक्ष दाहाल लगायत सचिवालयका बहुमत पाँच जना सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अलग बैठक समेत गरेका थिए । एकातिर सभामुखमा टुंगो लाग्न नसक्दा संसदको बैठक सुचारु हुन नसकेको र अर्कोतिर अध्यक्ष दाहाल आफ्नो अडानमा डेग नचलेको स्थितिमा प्रधानमन्त्री ओली दाहालले अगाडि सारेका अग्नी सापकोटालाई सभामुख बनाउन सहमत भएपछि यो गाँठो फुकेको हो ।

प्रधानमन्त्री ओलीले सरकार संचालनमा सभामुखको भूमिका समेत महत्वपूर्ण हुन्छ भन्ने तर्क गर्दै सुवास नेम्वाङलाई अगाडि सारेको र यसैगरी अर्का अध्यक्ष दाहालले पनि एकीकरण हुँदाको भागबण्डाको आधारमा माओवादीको भागमा परेका सभामुख माओवादी कित्ताले नै पाउनु पर्छ भनेर अग्नी सापकोटालाई एकोहोरो रुपमा अगाडि सारेको प्रति नेकपाका कतिपय नेताले आक्रोसँगै आश्चर्य पनि व्यक्त गरेका छन् । सुवास नेम्वाङले पटक पटक सभामुखको जिम्मेवारी पाई सकेका छन् । यो अवस्थामा अन्य नेतालाई यो अवसर उपलब्ध गराउनेतिर नलागेर प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एकोहोरो रुपमा सुवास नेम्वाङलाई च्यापेको सम्बन्धमा नेकपा कार्यकर्ता तथा नेताले आक्रोश व्यक्त गरेका छन् भने सर्वोच्च अदालतमा अपहरण र हत्याको अभियोगको मुद्दा चलिराखेको अग्नी सापकोटालाई नै नेकपा अध्यक्ष दाहालले किन सभामुख बनाउन यसरी जोड गर्नु प¥यो भनेर नेकपाका कित्ताका नेताहरुले त्यसैगरी प्रश्न गरी राखेका छन् । र, सापकोटालाई सभामुख बनाउन अध्यक्ष दाहाल सफल हुनुलाई उनको व्यक्तिगत उपलब्धी मान्न सकिएपनि अपहरण र हत्याको अभियोगमा मुद्दा चलिराखेको व्यक्तिलाई सभामुख बनाउँदा अन्तर्राष्ट्रिय जगतमा नराम्रो सन्देश गएको निष्कर्ष नेकपा नेताहरुको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *