नेकपाको सम्पन्न बैठकले दिएको सन्देश र उपलब्धि

लेख समाचार

 
गत माघ १५ गतेबाट प्रारम्भ भएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य समितिले बैठक पाँच दिनसम्म सञ्चालन भएर गत माघ १९ गते सम्पन्न भएको छ । २०७५ साल जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएलगत्तै निर्वाचन आयोगमा पार्टी दर्ता गर्न आवश्यक पर्ने केन्द्रीय सदस्यहरुको हस्ताक्षरका लागि एकपटक केन्द्रीय समितिको बैठक बसेको थियो । नेकपा गठन भएपछि राजनीतिक एजेन्डामा छलफल गरेर निर्णय गर्नका लागि भने पार्टी गठन भएपछि १९ महिनापछि बसेको केन्द्रीय समितिको यो पहिलो बैठक हो । अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकार प्राप्त गरेपछि सत्तारुढ नेकपा केही हदसम्म गतिशील हुन थालेको छ । यस क्रममा गत मंसीर २९ गतेबाट पुस ६ गतेसम्म स्थायी समितिको बैठक बसेको थियो । नेकपा स्थायी समितिको उक्त बैठक पनि पहिलो थियो । स्थायी समितिको बैठक बसेको लगभग डेढ महिनापछि बसेको नेकपा केन्द्रीय कार्य समितिको बैठकले समसामयीक विषयमा महत्वपूर्ण निर्णय समेत गरेको छ र अब दुई अध्यक्षका बीचमा सहमति गरेर सचिवालयबाट उक्त सहमतिलाई अनुमोदन गरी पार्टी संचालन गर्ने प्रवृत्तिमा नियन्त्रण हुने अपेक्षा नेकपाका नेता तथा कार्यकर्ताले गरेका छन् ।
स्थायी समितिसँगै केन्द्रीय कार्य समितिलाई निस्क्रिय अवस्थामा राखेर दुई अध्यक्षले सचिवालय मार्फत् निर्णय गरेर पार्टी संचालन गर्दा नेकपामा गुटबन्दी व्यापक रुपले बढ्न थालेको थियो । र, नेकपामा बढेको गुटबन्दीको असर सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि देखियो । कतिपय केन्द्रीय सदस्यले आफ्नो गुटको आधारमा आफ्नो मत व्यक्ति गरेका थिए । ४ सय ४५ सदस्यीय केन्द्रीय कार्य समितिका सदस्यलाई १५ समुहमा विभाजित गरेर अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन माथि छलफल गर्न समय उपलब्ध गराइएको थियो । तर १९ महिना पछाडि बसेको केन्द्रीय कार्य समितिको यो बैठकमा १५ समुहमा विभाजित भएका सदस्यहरु छलफलका निम्ति राजनीतिक प्रतिवेदनमा मात्र सिमित भएनन् । केन्द्रीय सदस्यहरुले वर्तमान सरकारको कार्यशैली देखि पार्टी नेतामा बढेको भ्रष्ट प्रवृत्तिको बारेमा पनि चर्को आलोचना गरे । यसैगरी सत्तारुढ नेकपाका केन्द्रीय सदस्यहरुले अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेशन मार्फत् उपलब्ध गराउन थालेको पचास करोड डलरका सम्बन्धमा पनि चर्कौ वादविवाद गर्दै रािष्ट्रयतामा आघात पार्ने शर्त भएमा अमेरिकाको यो सहायता स्वीकार गर्न नहुने मत समेत केन्द्रीय सदस्यहरुले व्यक्त गरे ।
केन्द्रीय सदस्यहरुले कतिपय नेताहरुको जीवन शैली माथि टिप्पणी गर्दै उनीहरु भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएपछि नेकपाले अनुशासन आयोग मार्फत् नेताहरुको सम्पत्ति छानविन गर्ने निर्णय गरेको छ । यसैगरी अमेरिकाले एमसीसी मार्फत् उपलब्ध गराउने पचास करोड अनुदानको सम्बन्धमा पनि केन्द्रीय सदस्यहरुको गम्भीर ध्यानाकर्षण भएपछि नेकपाले यस सम्बन्धमा अध्ययन गरेर प्रतिवेदन दिन पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । दश दिन भित्र प्रतिवेदन दिनु पर्ने यो कार्यदलमा एमसीसीको चर्को आलोचना गर्दै आएका भीम रावल र यसैगरी एमसीसीको समर्थन गर्दै यसलाई स्वीकार गर्नु पर्छ भन्ने अडान राख्दै आएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सदस्य रहेका छन् । एमसीसी सम्बन्धी प्रतिवेदन दिन तीन सदस्यीय कार्यदल गठन हुने अवस्था आउनु सँगै पार्टी नेताहरुको सम्पत्ति अनुशासन आयोगले छानविन गर्ने निर्णय हुनुलाई सम्पन्न केन्द्रीय कार्य समिति बैठकको ठूलो उपलब्धि मान्नु पर्दछ । केन्द्रीय कार्य समितिको बैठकले गरेको यी दुई निर्णयबाट सत्तारुढ नेकपा भ्रष्टाचारका विरुद्धमा कठोर छ भन्ने सँगै राष्ट्रियताको मामिलामा त्यसैगरी सचेत छ भन्ने सन्देश पनि आम जनतामा गएको छ । यसका अतिरिक्त सम्पन्न केन्द्रीय समितिले दुई पार्टी बीचको एकीकरण पछि बाँकी रहेका समायोजनका काम तत्काल सम्पन्न गर्नु पर्ने निर्णय गरेर पार्टीलाई व्यवस्थित रुपमा परिचालन गर्न नेतृत्व तहलाई दवाव दिने काम पनि गरेको छ । केन्द्रीय समितिले दिएको यो दवाव अनुसार अब चाँँडै नै पोलिटव्यूरो गठन हुने अपेक्षा गरिएको छ भने पार्टी विधान अनुसार बढीमा ६ महिनामा केन्द्रीय कार्य समितिको बैठक नियमित रुपमा बस्ने स्थिति पनि सम्पन्न बैठकले बनाएको छ । जबकी पार्टी विधानमा ६ महिना भित्रमा केन्द्रीय कार्य समितिको बैठक बस्नु पर्ने प्रावधान रहेको भएपनि सम्पन्न बैठक १९ महिनामा बसेको थियो ।
यसैगरी केन्द्रीय समितिको सम्पन्न बैठकले २०७७ साल भित्र पार्टीको महाधिवेशन गर्ने निर्णय गरेर अब पार्टीलाई चुस्त दुरुस्त रुपमा अगाडि बढाउनु पर्ने तथा पार्टीका तल्ला तहदेखिका संगठनहरुलाई सक्रिय बनाउँदै ल्याउनु पर्ने अवस्था पनि सम्पन्न केन्द्रीय समिति बैठकले सृजना गरी दिएको छ । र, सम्पन्न बैठकको सबभन्दा महत्वपूर्ण पक्ष गुटबन्दीलाई निरुत्साहित गर्नु रहेको छ । जबकी सम्पन्न बैठकमा गुटबन्दीको छायाँ स्पष्ट रुपमा देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *