नेकपा सरकारको दुई वर्षको उपलब्धि

प्रमुख राजनीति लेख विविध

प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा वनेको नेकपा सरकारले दुई वर्ष पूरा गरेको छ । नेकपा सरकारको सबैभन्दा ठूलो उपलब्धिको रुपमा राजनीतिक स्थायित्व नै मानिएको छ । नेकपा सरकार सत्तामा आउनुभन्दा पहिले नेपालमा राजनीतिक स्थायित्व थिएन । बितेको तीन दशकभित्रको राजनीतिक संक्रमण कालमा पटक पटक सरकार वनने र ढल्ने गर्दा नेपाली जनता वाक्क दिक्क भएका थिए त्यसैले गत चुनावमा राजनीतिक स्थायित्व मुख्य मुद्दा नै वनेको थियो । प्रधानमन्त्री ओलीकै नेतृत्वमा एमाले र माओवादी केन्द्रले गठवनधन वनाएर नै राष्ट्रलाई राजनीतिक स्थायित्व दिने र निकास दिने प्रतिबद्धका साथ संघीय चुनाव लडेका थिए । फलस्वरुप अहिले सत्तामा रहेको नेकपा राजनीतिक पार्टीको जन्म भयो र त्यसलाई नै नेपाली जनताले लगभग दुईतिहाई बहुमत दिएर राष्ट्रको राजनीति हाँक्ने जिम्मा लगायो । यो काम सरल रेखाजस्तो सिधा नभएर बक्ररेखा जस्तो बांगोटिंगो भएकाले नेपालको राजनीतिलाई अगाडि बढाउनका निमित्त प्रधानमन्त्री ओलीजस्तै दृढ इच्छाशक्ति भएको राजनीतिक नेतृत्वको खाँचो राष्ट्रलाई थियो । सोही इतिहासिक कार्य आज नेकपा सरकारले सयप्रतिशत अंकको साथ उनकै नेतृत्वमा सम्पन्न गरेको छ । नेकपा सरकारका कतिपय कार्यहरु नदेखिने खालका छन् भने कतिपय कार्यहरु देखिने खालका पनि छन् । नेकपा सरकारको सामु सबैभन्दा ठूलो चुनौती भनेको विगतका सरकारहरुले गरेका राजनीतिक फोहरहरुलाई सफा पार्नु नै थियो । नेपालमा तीनदशक लामो काल चलेको राजनीतिक अस्थिरताले गर्दा लथालिंग र भताभुंग अवस्थामा पुगेको निजामति कर्मचारीतन्त्रको भरमा नयाँ संघीय राजनीतिक व्यवस्थाको कार्यान्वयन गर्ने काम सजिलो नभई फलामको चिउरा चपाएर खाने र पचाउने बराबर नै थियो । अर्कातिर राजनीतिक अस्थिरताले गर्दा नेपालमा तीनदशकको लामो काल देखिनै चल्दै आएको बेरोकटोक भ्रष्टाचार र अपराधलाई परास्त गर्न कुनै चानचुने काम थिएन । यो दुवै मोर्चामा नेकपा सरकारलाई लगातार जुधिरहनु परेको छ र चारैतिर चुनौतीका पहाडै पहाड चाङ लागेर खडा छन् । नेकपा सरकारले एक पछि अर्को गर्दै सबै त्यो चुनौतीका पहाडहरुलाई व्यवस्थित गर्दै लाने काम गरेको छ । राजनीतिक आवरणमा विगतमा गरिएको ठूलाठूला नरसंहार काण्डहरुका नाइकेहरुलाई जेल हालेर पीडित पक्ष नेपाली जनतालाई न्याय दिलाउन पनि नेकपा सरकार सफल भएको छ । गौर नरसंहार काण्डका नाइके आलम र राजापुर नरसंहार काण्डका रेशम चौधरी अहिले जेलभित्र छन् । अझै कलैया नरसंहार काण्डका नाइकेलाई खोजी जेल हाल्ने काम बाँकी नै रहेको देखिन्छ । नेकपा सरकारको यो उपलब्धिहरुलाई कुनै पनि कोणवाट कम आँक्न मिल्दैन । धर्मको आवरणमा विगतदेखि भइरहेको अपराधहरुलाई अझ पनि नेकपा सरकारले ध्यान दिन सकेको छैन । धर्मको आवरणमा सरकारी जग्गा, जमिन, वन जंगलहरु कब्जा गरी बसेका शिद्धबाबा भनिने कृष्णबहादुर गिरी, तपस्वी रामबहादुर बम्जन र राजधानी काठमाडौं नजिकैको बालाजुको रानीवन कब्जा गरी बसेका ओसोका तपस्वीहरुलाई अझसम्म पनि नेकपा सरकारले कारबाहीको दायराभित्र ल्याउन सकेको छैन । धर्मको आवरणमा सरकारी जग्गा, जमिन, वन जंगल कब्जा गरी बसेका अपराधीहरुले बेरोकटोक भ्रष्टाचार र अपराधको धन्दा चलाएका छन् । उनीहरुले जंगल मासेर बनाएका आश्रमहरुमा हत्या, हिंसा र बलात्कारजस्ता धन्दा चलाएका छन् तर पनि नेकपा सरकारले उनीहरुमाथि कुनै कारबाही गर्न सकेको छैन । उक्त आश्रमहरुमा विदेशीको लगानी सिधै लाने गरेका छन्, विदेशी अपराधीहरुले त्यँहा चलखेल गर्ने र आश्रय लिने गरेका छन् उक्त आश्रमहरुभित्र गरिएका निर्माण कार्यहरुको कर सरकारलाई तिर्दैनन्, निर्माण कार्यमा कालोधनको उपयोग गरिएका छन् भने विदेशी मुद्राको पनि अपचलन भइरहेको छ, आश्रम चलाएबाट हुने आम्दानीको कुनै लेखाजोखा छैन र सरकारलाई कर पनि बुझाउने गरेका छैनन् । ओसो तपस्वीहरुले सरकारी जग्गा, जमिन कब्जा गरी त्यसमा प्लटिङ र हाउसिङ व्यवसाय सञ्चालन गर्दै आएको भए तापनि उक्त धन्दा चलाएबापत सरकारलाई कर र सलामीको रुपमा एक पैसा बुझाएको देखिन्न । नेकपा सरकारले यस्ता धर्मको आवरणमा भइरहेको गैरकानुनी धन्दालाई कानुनी दायराभित्र ल्याउनका लागि किन कारबाही चलाउन सकेको छैन ? भन्ने कुरा रहस्यमय भएको छ । एकातिर देखिने भ्रष्टाचार र अपराधहरुलाई सरकारले नियन्त्रण गर्न सकेको छैन भने अर्कातिर नदेखिने भ्रष्टाचार र अपराधहरु पनि प्रशस्तै छन् । नेकपा भित्रै आश्रय लिएर बसेका भ्रष्टाचारी र अपराधीहरुले धमिराले घर खाएझैँ गरी राष्ट्रको आम्दानीलाई भित्रभित्रै खाएर कंगाल बनाउँदै लगेका छन् । विगतमा सरकारको नेतृत्व लिएरै बसेकाहरुले भूमाफियाहरुसित मिलेर सरकारी जग्गा, जमिन र वन जंगलको अपचलन गरेको घटनाहरु एकपछि अर्को अहिले पर्दाफास हुँदै गएका छन् । व्यापारी र व्यवसायीहरु सितै मिलेर राष्ट्रको बहुमूल्य धन, जग्गा, जमिनको अपचलन गरेको काण्डहरु एक पछि अर्को हालै सार्वजनिकि भएका छन् । सरकारी जग्गा जमिन व्यक्तिको नाममा नक्कली मोही खडा गरी लाने काम नेपालैभरी भएको घटनाहरु प्रकाशित भइका छन् । सबैभन्दा खतरनाक काण्ड बालुवाटारको सरकारी जग्गा अपचलन प्रकरण नै हो । यो काण्ड विगतमा सरकार चलाएर बसेका नेतृत्वले नै गराएका छन् र सरकारको नाकै मुनी गम्भीर प्रकारको भ्रष्टाचार र अपराधको डरलाग्दो घटना भएको छ । यस्तो गम्भीर प्रकारको काण्डलाई उजागार पारी कारबाहीको दायराभित्र ल्याउन नेकपा सरकार सफल भएको छ र बधाईको पात्र वनेको छ । यो काण्डका दोषीहरुलाई सजाय दिने काम अब नेपालको अदालतको हातमा पुगेको छ । नेपालको न्यायपालिका आफैँ भ्रष्टभएको हुनाले उक्त जग्गा काण्डका अपराधीहरुलाईकस्तो सजाय हुने हो भन्ने कुरा अझ पनि एकिनको साथ भन्न सकिन्न । हालै प्रकाशमा आएको यती समूहले अपचलन गरेको नेपाल ट्रष्टको जग्गा जमिन र वन जंगल काण्डको छानबिन र अपराधीहरुलाई कानुनी दायराभित्र ल्याएर सजाय दिने काम नेकपा सरकारले अगाडि बढाउन सकेको छैन । यो काण्डमा नेकपाको नेतृत्व स्वयं नै संलग्न भएको देखिएकाले कारबाही अगाडि बढाउन त्यति सरल र सहज छैन । व्यवसायी यती समूहकै घरमा नेकपाको पार्टी कार्यालय रहनुले पनि भ्रष्टाचारी र अपराधीहरुलाई कारबाही गर्न अप्ठेरो परेको हुन सक्छ । त्यस्तै केहि समय अगाडि मात्रै पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईको सरकारले गराएको मातातीर्थको जग्गा अपचलन काण्ड प्रकाशमा आयो । नक्कली मोही खडा गरी नेपाल ट्रष्टको स्वामित्व भएको १७५ रोपनी मातातीर्थ क्षेत्रको जग्गा व्यक्तिको नाममा लैजाने काम गरिएको देखियो । नेकपा सरकारले यस काण्डमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याएर सजाय दिने अठोट व्यक्त गरिसकेको छ । त्यसैले नेकपा सरकारले कामै गरेको छैन भन्न सकिने अवस्था अहिले छैन । सरकारी कारबाही अपर्याप्त भएको र ढिलासुस्ती भएको आरोप भने लगाउन सकिन्छ । नेकपा सरकार आफैँ पनि केहि नीतिगत भ्रष्टाचारमा संलग्न भएको देखिएकाले नेपाली जनताको मनमा सरकारप्रति पनि प्रतिदिन भ्रष्टाचार गरेको शंका बढ्दै गएको छ । मधेस आन्दोलन र भारतले नेपालविरुद्ध व्यापार नाकाबन्दी लगाएको बेला चट्टानी राष्ट्रवादी अडान देखाउन सफल प्रधानमन्त्री ओली अहिले एमसिसी प्रकरणमा उनले लिएको अडानबाट बद्नाम भएका छन् र उनले यो भन्दा पहिले देखाएको राष्ट्रवाद जनतालाई नाटकझैँ लाग्न थालेको छ । साथै भ्रष्ट व्यवसायी यती समूहसितको प्रधानमन्त्री ओलीको निकटता र आफ्नो उपचारका लागि केहि स्वदेशी र विदेशी व्यवसायीहरुसित लिएको आर्थिक लाभले गर्दा उनीको नियत साफ नभएको र नीतिगत भ्रष्टाचार गरी तिनीहरुलाई फाइदा दिएको शंका बढ्नुको साथै आरोपसमेत लागेको छ । हालै झापा पुगेर प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई ढाल्ने तयारीमा केही अदृश्य शक्तिहरु लागेको भनेका छन् । उनको दाबीमा केहि सत्यता भएको अनुमान सहजै लगाउन सकिन्छ किनकि उनले भूमाफियाहरुको विरुद्ध कारबाही अगाडि बढाएका छन् र भूमाफियाहरु आफ्नो बचाउ गर्नका लागि सरकार बदल्न सकिन्छ कि भनेर लागेका छन् । राजनीतिक हिसाबले नेकपा सरकारलाई कुनै खतरा छैन तर पनि नेकपा पार्टीभित्र आश्रय लिएर बसेका भूमाफियाहरुलाई सरकारले बचाउन खोजेको भन्ने आरोप लागेकाले नेकपा सरकार हलुका बद्नाम हुने सम्भावना बढेको छ । नेकपा सरकारले अहिलेसम्म लिएको आर्थिकनीतिले राष्ट्रलाई परनिर्भर बनाउँदै लगेको छ । आयात व्यापारलाई जोड दिएको छ भने निर्यात व्यापार राष्ट्रिय उत्पादन नभएकाले ठप्पै भएको छ । सरकारले पूर्वाधार विकासमा गरेको लगानी उत्पादनसित जोड्न नसकेकाले निष्क्रिय लगानीमा परिणत भएर खेर गइरहेको छ । संघीया राजनीतिक संरचना राष्ट्रको आर्थिक स्रोतले धान्नै नसक्ने गरी खर्चालु बनाइएको छ भने संघ र प्रदेशका नेताहरु र स्थानीय जनप्रतिनिधिहरु मितव्ययी छैन र विदशीमूखी भएका छन् । नेकपा सरकार राष्ट्रको आम्दानी बढाउनतिर भन्दा राष्ट्रको खर्च बढाउनतिर मात्रै केन्द्रित भएका छन् । सानातिना पूर्वाधार विकास पनि विदेशीले गरिदेलाकी भनेर विदेशीकै मुख ताकेर बस्ने गरेका छन् । नेकपा सरकारले राष्ट्रको आम्दानी बढाउनका लागि महत्वपूर्ण हुने उत्पादन उद्योगहरु खोल्न सकेको छैन । पूर्वाधारलाई राष्ट्रको समृद्धिसित जोड्नका निमित्त महत्पूर्ण हुने उत्पादन उद्योगहरु नै नेपालमा खोल्न सकिएको छैन । नेपालको शिक्षालाई उत्पादनसित जोड्नका लागि पनि उद्योगहरु नै चाहिन्छ । नेकपा सरकारले नेपाल राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने लक्ष लिएको भए तापनि सोअनुसार नै उद्योग विकासमा ध्यान दिन नसकेकाले उक्त लक्ष्य पूरा गर्न नसकिने देखिएको छ । नेकपा सरकारले राष्ट्रिय ऋणको भारी घटाउने, महँगी घटाउने र कर घटाउनेतिर ध्यान दिन जरुरी छ । निजामति कर्मचारीहरुको तलब बढाउनेभन्दा पनि आमजनताको जीवनयापनको खर्च घटाउनेतिर ध्यान दिनु पर्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बिजुली, सञ्चार, यातायातलाई सस्तो, सुलभ र गुणस्तरीय बनाउन सकेमा जीवनयापनको खर्च कम हुँदै जाँदा नेपाली जनता स्वतः सुखी हुने छन् । नेकपा सरकारले अब आफ्नो बाँकी तीन वर्षको अवधिमा समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य यसरी नै पूरा गर्न लागे राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *