सुन तस्करका सहयोगी सरकारी कर्मचारीको २ करोडको अवैध सम्पत्ति

समाचार

२०७३ सालको एक सुन तस्करी प्रकरणबाट तस्करहरुको सहयोगीका रुपमा खुलेका त्रिभुवन विमानस्थल कार्यालयका एक्सरे टेक्निसियन राजकुमार ढकाल विरुद्ध अख्तियारले रु.२ करोड अकुत सम्पत्ति आर्जनमा आज मुद्दा दायर गरेको छ ।

घट्ना करिब सवा तीन वर्ष अघिको हो । २१ पुस २०७३ मा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन गौशालामा बरामद ग¥यो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बरामद गरेको सुनसँगै भरिया पनि समातिए । ब्युरोले यो घटनामा संलग्न एअरपोर्टमा कार्यरत केही कर्मचारीसँगै एसएसपी श्यामबहादुर खत्री बिरुद्ध पनि मुद्दा चलायो । खत्रीले यो मुद्दामा सफाई पाए । यद्यपी उनि घटनाको एक वर्षपछि अर्को एक सुन तस्करीकै काण्डमा मुछिएर हाल कारागारमा छन् ।

‘चर्चित साढे ३३ किलो सुन प्रकरण’को अनुसन्धानका क्रममा यसरी आउने सुन विमानस्थलस्थित भन्सार एक्सरे मेशिनले किन देख्दैन भन्ने प्रश्नको जवाफ खोज्न प्रहरी सफल भएपछि यसका धेरै पाटोको पटाक्षेप पनि भयो । अनुसन्धानमा त्यहाँको भन्सार कार्यालयका एक्सरे टेक्निसियनको सहयोगमा तस्करहरुले दैनिक संयौं किलो सुन भित्र्याइरहेको पनि खुल्यो । र, यसकालागि फेसबूक मेसेन्जरबाट सूचना–संवाद हुने गरेको पनि खुल्यो ।

२१ पुस २०७३ मा साढे ३३ किलाे सुनसहित पक्राउ परेका गाेपालबहादुर शाही सहितकाे समूह।

अनुसन्धानमा दुवई र कतारस्थित तस्करहरुले सुन बोक्ने भरिया र उसको व्यागेजको विवरण भन्सारमा खटिने एक्सरे टेक्निसियनको म्यासेन्जरमा पठाउने गरेको पाइएको थियो । अवैध तस्करी रोक्न खटिएका भन्सार कर्मचारीले त्यही म्यासेजमा पठाइएको तस्विर हेरेर व्यक्ति र ब्यागेजको पहिचानसँगै छाडने गरेका थिए ।यहि तस्करी शैलीमा प्रत्यक्ष जोडिएका एक सरकारी कर्मचारीलाई ३ वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु.२ करोड बराबरको अकूत सम्पत्ति आर्जनमा बिगो मागदाबी सहित विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । विमानस्थलस्थित भन्सार कार्यालयका एक्सरे टेक्निसियन राजकुमार ढकाल बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दर्ता गरेको हो ।

अनुसन्धानका क्रममा ढकालले श्रीमती निरजरा घिमिरे र सहयोगी राममणि लामिछानेको नाममा सम्पत्ति लुकाएको आयोगले जनाएको छ ।आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले ढकालले अवैध आर्जन श्रीमती र लामिछानेको नाममा राखेकाले सम्पत्ति फिर्ता ल्याउने प्रयोजनका लागि मात्र दुबैलाई प्रतिवादी कायम गरिएको जनाए । आयोगले अभियोगपत्रमा ‘… एकाघर संगोलमा पतिले लाए–अह्राए अनुसार गर्ने भएकाले पत्नीलाई अन्य कारबाहीका लागि प्रतिवादी बनाउन मनासिब नदेखिएको’ उल्लेख छ । यस्तै ‘लामिछानेले आयोगको अनुसन्धानमा सहयोग गरेको हुँदा सम्पत्ति जफतका लागि मात्र प्रतिवादी बनाएको’ उल्लेख छ । सहसचिव कोइराला भन्छन्, “सम्पत्ति फिर्ता ल्याउनु महत्वपूर्ण भएकाले सोही अनुसार प्रतिवादी कायम गरिएको हो ।”

२०७० देखि २०७३ पुससम्म विमानस्थलमा कार्यरत ढकालले यसबिच कमाएको वैध र अवैध आर्जनको अनुसन्धान आयोगले गरेको हो । सहसचिव कोइरालाका अनुसार ढकालले यसबीचमा आर्जित गरेको सम्पत्तिमा वैध बाहेक २ करोड २ हजार रुपैयाँ बढी भेटिएको हो ।
यहि तस्करी प्रकरणमा ढकालसँगै पक्राउ परेका भन्सारका रेडियो अपरेटर नायब सुब्बा श्यामच्वामु श्रेष्ठ विरुद्ध यसअघि १५ माघ २०७५ मै रु.१४ करोड बराबरको अकूत सम्पत्ति आर्जनमा मुद्दा दायर भइसकेको छ

तस्कर ग्रुपका एक रमेश थापाले राजकुमार ढकाललाई भरिया चिन्नका लागि मेसेञ्जरमा पठाएकाे तस्वीर । 

सुन तस्करका सहयोगी ढकाल
प्रहरीले २०७३ मा बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा विमानस्थल भन्सारमा एक्सरेमा काम गर्ने कर्मचारी नै सहयोगी भएको खुलेको थियो । ब्यूरोका अधिकारीहरुले त्यसबेला हिरासतमा रहेका ढकालको मोबाइल फोनदेखि फेसबूक अकाउण्टसमेत जाँच गरेका थिए । मोबाइलमा कुनै शंकास्पद गतिविधि नदेखिए पनि फेसबुक म्यासेन्जरबाट भने तस्करी ‘सिण्डिकेट’को सञ्चालन नै खुल्न पुग्यो ।

सुन भित्राउने तस्कर रमेश थापा र ढकालबिचको संवादले हवाईमार्गबाट सुन भित्र्याउने चारवटा अलग–अलग समूह सक्रिय रहेको खुल्यो ।

प्रहरीले ढकालको मोबाइलबाट बरामद गरेको ५४ पृष्ठ लामो संवादबाटै रमेशको समूहलाई ढकालसँगै एसएसपी श्यामबहादुर खत्री, केदार तथा पान दुई उपनामले चिनिने अर्का अधिकृत टेक्निसियन श्रीनारायण यादव र विमानस्थलकै कर्मचारीहरु गंगा भूर्तेल, श्यामच्वामु श्रेष्ठको सहयोग रहेको खुलेको थियो ।

थापा र ढकालबीच १८ माघ २०७२ देखि १५ पुस २०७३ सम्मको फेसबुकको म्यासेन्जर च्याटमा एउटा सुटकेशसहित युवाको फोटो पठाउने र त्यो भन्सार पार भए नभएको यकिन गर्ने संवाद भएको छ । संवादमा दुबई र काठमाडौंमा बराबर बसोबास गर्ने रमेशले सुन ल्याउने भरिया र सुन भएको सुटकेशका विषयमा म्यासेन्जरमा फोटो पठाउथे । सुन आउने विमानको विषयमा जानकारी गराएपछि सुनको जाँचगर्न बसेका ढकालले जाँच नै नगरी बाहिर पठाउने गरेका थिए ।

यसरी समातिएको थियो साढे ३३ किलो सुन
प्रहरीको अनुसन्धान ब्यूरोको एक टोलीले संयुक्त अरब इमिरेटस (युएई) बाट आएका एक यात्रुको लगेजमा दुईसय ८२ थान सुनका बिस्कुट २१ पुस २०७३ मा बरामद गरेको थियो । एयर अरेबियाको उडानमा दुबईबाट काठमाडौं आएका नेपालगञ्जका युवा गोपालबहादुर शाहीको लगेजमा सुन बरामद भएको थियोे ।
शाहीको ब्यागेजमा कालो टेपले बाधेको अवस्थामा सुनका बिस्कुट र बनिबनाउ गहना गरी साढे ३३ किलोग्राम सुन बरामद भएको थियो । ब्युरोले १९ थान औठी र १८ थान सुनका सिक्री बाहिरी भागमा र सवारीसाधनका पार्टसमा लुकाइएको अवस्थामा सुनका बिस्कुट बरामद गरेको थियो । पक्राउ परेका शाहीले सुन लुकाइएका सामग्री, हेलिकोप्टरका पाटपुर्जा भएको बयान दिएका थिए । शाहीले ल्याएका सुन लिन गएका दिलबन्धु थापा र सन्तोष काफ्ले बा ४ च ९११४ नम्बरको डाइहात्सूको टेरियस गाडी सहित पक्राउ परेका थिए । हिमालखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *