पार्टीमा आन्तरिक वार्ता हुन्छ, यसलाई अनौठो मान्नु पर्दैन

अन्तरवार्ता राजनीति वाग्मती प्रदेश

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद यतिबेला उत्सर्गमा छ । दुई पार्टीबीचको एकतापश्चात बनेको नेकपाको एकता प्रक्रिया सिध्धिएको छैन । अर्कोतिर विश्वभर महामारीको रुपमा फैलिएको कोराना संक्रणको सन्त्रास उस्तै छ । यही बेलामा भारतले नेपाली भूमि लिपुलेख–लिम्पियाधुरा मिचेर सडक निर्माण गरेको छ । सरकामा रहेको पार्टीले यी सबै सामना गर्न सक्छ ? सक्छ भने कसरी तयारी गरिरहेको छ ? नेकपा वागमती प्रदेशका सचिव आनन्दप्रसाद पोखरेलसँग तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एल.बी. विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः
० नेकपामा आन्तरिक किचलो किन बल्झिँदै गइरहेको छ ?
नेपालका दुई शक्तिशाली कम्युनिस्ट पार्टीहरु एक भएका छन् । यी पार्टीहरु बीचको एकता प्रक्रिया अझै टुंगिएको छैन । यो अवस्थामा हामीले सरकार सञ्चालन र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने महत्वपूर्ण कामहरु गरिरहेका छौँ । त्यसका साथसाथै अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) विरुद्धको लडाइँ पनि जारी छ । यही बीचमा सीमा विवादको समस्या पुनः बल्झिएको छ । भारतले कालापानी, लिपुलेक आफ्नो हो भनेर सडक निर्माण गरी उद्घाटनसमेत गरिसकेकाले सरकारका अगाडि यो समस्याको सामना गर्नुपर्ने अर्को एउटा चुनौती थपिएको छ । यो स्थिति भनेको नेपाल, नेपाली जनता र नेपाल सरकारका लागि पेचिलो अवस्था हो । यो अवस्थामा नेपालका राजनीतिक दलहरु आन्तरिक रुपमा एकजुट हुनुपर्ने विशिष्ट परिस्थिति पनि हो, यो । यो मजबुत हुनुपर्ने बेलामा पार्टीको आन्तरिक किचलो निकालिएको छ । यो शोभनीय होइन, सुखद होइन । राम्रो होइन । यो पार्टीभित्रको अन्तर संघर्ष जुन ढंगले सतहमा आएको छ । र, पार्टीभित्र नै पक्ष र विपक्षको परिस्थति सिर्जना भएको छ । त्यो एकदमै अनुचित र गलत छ । त्यसले हामीसँग चुनौती छन् । हामीसँग ५ वटा चुनौतीहरु छन् । पहिलो एकतालाई दिगो, बलियो र एकीकृत बनाउने, दोस्रो कोभिड संक्रमणको विश्वब्यापी महामारीको चुनौतीलाई आत्मसात् गर्ने, तेस्रो नेपालको सार्वभौमसत्ता र अखण्डतालाई आत्मसात् गर्दै भारतीय थिचोमिचोको लडाइँमा एकीकृत हुने । अतिक्रमित भूभाग नेपालमा फिर्ता गर्ने र नेपालको सार्वभौमिकता कायम गर्ने, पाँचौँ अन्तिमपटक नेपालका समृद्धि र चाहनालाई पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । कोरोनाका कारण अहिले अर्थतन्त्रमा चुनौती थपिएको छ । अर्थतन्त्र जोगाइराख्न र उत्पादनमूलक पद्धतिको विकास गर्नेलगायत च्ुनौतीहरु छन् । त्यसले गर्दा पार्टीभित्रको एकता अत्यावश्यक छ । यो चुनौतीको सामना गर्नका लागि नै अन्य राजनीतिक दल र पार्टीहरुबीच एकताको खाँचो छ । त्यसले गर्दा पार्टीभित्र देखिएका समस्यालाई समाधान गरेर सिंगो नेपालका समस्या साम्य पार्नेतर्फ एकजुट हुन म सम्पूर्ण राजनीतिक दल तथा हाम्रो पार्टीका नेता कार्यकर्ताहरुलाई अनुरोध गर्न चाहन्छु । अहिले जग हसाइँको काममा लाग्नु राम्रो होइन, यसैले यो काम नगर्न म आह्वान गर्न चाहन्छु ।

० सरकारको आलोचना बढिरहेको छ । विभिन्न मुद्दामा मुछि“दै आएको सरकार कोरोना नियन्त्रणका लागि खरिद गरिएका स्वास्थ्य सामग्रीमा पनि मुछियो । यी मुद्दाबारे नेकपामै चर्को विरोध हुने गरेको छ । सरकार नै कमजोरी देखिनुको कारण के रहेछ ? कहाँ कमजोरी छ ?
वर्तमान सरकार इतिहासमै सबैभन्दा बढी बहुुमतसहित गठित सरकार हो । कम्युनिस्ट पार्टीलाई र कम्युनिस्ट सिद्धान्तलाई असहमत राख्ने पुँजीवादीहरु, साम्यवादीहरु र नवउदारवादी पुँजीवादको पक्ष पोषण गर्ने तागतहरु कम्युनिस्ट पार्टीको शक्ति र यो सत्तासँग असहमति राखेका थिए । त्यसैले गर्दा वादका कारण यसको असहमति भयो । दोस्रो कुरा यो कम्युनिस्ट पार्टीको सरकार सफल बन्यो भने अब हाम्रो पालो कहिल्यै आउँदैन भन्ने ठानिरहेका राजनीतिक दलहरुले पनि त्यही किसिमले प्रचारप्रसार गरे, नेपालका मिडियाहरुले वादकै कारणले गर्दा र मिडियाहरु केही व्यक्तिको निहित स्वार्थमा र कुनै देशको इशासामा चल्ने कल्चरले गर्दा मिडियाहरुले पनि बेलाबेलामा असहमति राखे । मैले भन्दिनँ सबै सरकारभन्दा अरु पक्षहरुकै कमजारी हो । सरकारका केही कार्यशैलीहरु पनि गलत थिए होलान् । यसकारण पनि यहाँ समस्या सिर्जना भइरहेको छ । मान्छेलाई यसैले नै कमजोर पारेको हो । औषधि खरिद प्रकरणका बारेका सरकार स्पष्ट रुपमा भनिरहेको छ, जुन किसिमले औषधि नेपालमा आयो । त्यसैले नै नेपालमा कोभिड–१९ विरुद्ध लड्न सकिरहेका छौँ । नेपालीलाई मृत्यु हुन नदिनेसम्मको तहमा नागरिकलाई ल्याउन सकिएको हो । त्यसकारणले गर्दा सजिलो छ । यसका भ्रष्टाचार नभएको स्वास्थ्मन्त्री आफँैले भन्नुभएको छ । उहाँले कारबाही गर्ने अंगहरुले गल्ती भएको पत्तामा लागे आफू कारबाहीको भागीदार हुन तयार रहेको स्पष्ट पार्नु भएका छन् । त्यो सबैले भोग्न तयार हुनुपर्छ । तर, सरकारलाई मन नपराउने, सरकारको काम कारबाहीलाई मन नपराउने केही व्यक्तिहरुका कारण सरकारको बेइज्जत भइरहेको हो । उपचारको क्रममा चुकेर मृत्यु भएका मान्छेहरुका कारण पनि सरकारको आलोचना बढाएर गम्भीर बनाउन सक्छन् । अहिले यो मौसम छोपेर बढाइचढाइ गरिवरी सरकारलाई गम्भीर बनाइँदै छ । यसरी गम्भीर बनाउनेहरुले नै यसमा बढाइचढाइ गरेको पाइन्छ । यो स्थिति मात्र हो । आवश्यक रुपमा हामी अगाडि बढ्छौँ, गल्ती गरेका कारबाही गर्न पनि हामी पछि पर्दैनौँ । सरकारलाई यसमा हाम्रो पूर्ण साथ र समर्थन रहेको छ । हामीले संवेदनशील हुन पनि अहिले जरुरी छ । आलोचना र घेराबन्दी नै अहिलको ठूलो गम्भीर समस्या हो । किनकि यहाँ आलोचना मात्र गर्ने काम भयो । यसको निचोड निकाल्न सकिएन । आलोचना र आरोप लगाइसपछि यसको निचोड पनि निकालिनु पथ्र्यो । जुन असम्भवजस्तै बनेको छ । नेपालमा इतिहासमै अगाडि छ । विकास निर्माणका कामहरु भइरहेका छन् । आलोचना जति गरिएका छन् । यी सबै आग्रह र पूर्वाग्रह हुन् ।
० सरकारका कामप्रति तपाइँ सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट छैन । यत्तिले सन्तुष्ट भए बाँकी काम गर्न सकिँदैन । हाम्रो असन्तुष्टि नै विकास निर्माणको अर्को ऊर्जा हो । कामहरु हुँदै गएको सरकार गम्भीर छ । विकासका कामहरुमा यसले गति लिन्छ । विकास निर्माण यसका सूत्राधारहरुमा समेत धक्का पु¥याउने काम हाम्रो पार्टीलाई मान्य हुनेछैन । यो हामीले कदापि सहने छैनौँ । र, आधार वर्षका रुपमा पहिले सरकारले विकासको जग बसालिसकेको अवस्थामा केही काम गर्छ भन्ने विश्वास थियो । कोरोनाको विश्वब्यापी महामारीका कारण यसमा पनि सरकारलाई ठूलो धक्का पुग्यो । नेपाल भ्रमण वर्ष २०२० असफल बन्यो । यसलाई स्थागित गर्नुप¥यो । नेपाल भित्रिने ठूला लगानीकर्ताहरुले लगानी गर्न पाएनन् । २०२० को सुरुवातमै सरकारले महामारीको अघि घुँडा टेक्नुप¥यो । जुन अत्यन्तै दुःखद छ । हाम्रो चाहना थिएन । नचाहेरै यस्तो भयो ।

० सरकारले ल्याएको अध्यादेशले ठूलै तरंग ल्यायो । यसलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
अध्यादेशको तरंग आयो, गयो । सरकारले पार्टीलाई अझ मजबुत र शक्तिशाली बनाउने सपनाका साथ अध्यादेश ल्याएको थियो । तर, त्यो फिर्ता गर्नुप¥यो । यसैले यस विषयमा मैले बाँकी प्रतिक्रिया राखिराख्न आवश्यक ठानिनँ ।
० नेकपाकै पनि भीम रावल र अन्य केही युवा नेताहरुको फरक मत छ । यसलाई कसरी नियाल्नु भएको छ ?
पार्टीमा आन्तरिक तर्क वितर्क भइरहन्छ । फेरि मानिसमा एक संस्कृति नै छ, तर्कमाथि तर्क गर्ने । यसैले पनि यसमा अनौठो मान्नुपर्ने वा भीम रावल गलत वा सही भन्नुपर्ने मैले देख्दिनँ । सबैको चिन्तन नेकपालाई कसरी स्थापित गराउने भन्ने नै हो । यसैले यो अनौठो कुरा हो, भन्ने मलाई लाग्दैन । यसका आ–आफ्नै शैलीहरु पनि हुन्छन् । गन्तव्य र पुग्ने ठाउँ त एउटै हो आखिर त्यो जुनसुकै कुरामा पनि । अहिले सीमा अतिक्रमण, पार्टीका सरकार गतिविधि र अन्य कामहरुमा यस्तो भइरहेकै हुन्छ । तर्क फरक होला । नेकपाको एउटै विचार, सिद्धान्त र मर्म छ । अहिलेका सातै सरकारका सांसदहरु पनि हुन् । अहिले रावल कमरेडले भूमिमाथिको अक्रिमणको बारेमा बोल्नु भएको छ । जुन उहाँको दायित्व हो । यसमा सबैले एकबद्ध भएर लाग्नुपर्छ । सुधारका कामहरुमा अगाडि बढ्नु पर्छ । आफ्नो एक चिम्टी भूमीमाथि पनि अतिक्रमण हुन दिइनु हुँदैन । नेपालमा लोकतन्त्रको विकास गर्ने, सबैखाले कानुनहरु बलिया र मजबुत बनाउने कामहरु गर्ने गर्नुपर्छ । कोरोनाबाट मुलुकलाई मुक्त बनाएर समृद्ध नेपाल, सुखी नेपालीको अभिभारा सरकारले पूरा गर्ने काममा लाग्नुपर्दछ । समावेशितामा पनि सरकार लाग्नुपर्दछ भन्ने हाम्रो धारणा छ ।
० सरकारले विकासका कामहरु कसरी गर्न सक्छ ?
सरकारले विकासका कामहरु अहिले कोरोनाका कारण सामाजिक दुरी कायम गरेर गर्न सक्छ । विकास निर्माणमा सम्पूर्ण युवा दस्ता परिचालन गर्न सक्छ । अहिले विदेशिएका युवाहरु स्वदेश फर्किने क्रम बढिरहेको छ । उनीहरुको व्यवस्थापन गर्न सक्ने कार्यक्रमहरु तय गरिनुपर्छ । उनीहरुलाई स्वदेशमै रोजगारी दिलाइनुपर्छ । एक घर एक रोजगार कार्यक्रम सञ्चालन गरिनुपर्छ । कोरोनाले देश विकास गर्ने अवसर दिएको छ । सरकारले यो मौका छोपेर धेरै कामहरु गर्न सक्छ । यसका लागि मुख्यगरी कृषिमा लगानी बढाउनु पर्छ । अन्य विलासी खर्चहरु जस्तै, कर्मचारीको विदेश भ्रमण, उच्चस्तरीय भ्रमणमा ठूलो खर्चलगायतलाई केही समयलाई रोकिनु पर्छ । त्यो खर्चलाई पनि कृषिमा प्रयाग गरिनु पर्छ । यस वर्षको बजेटले ग्रामीण विकासलाई प्राथमितामा राख्न सक्नुपर्छ ।
० वागमती प्रदेशमा पार्टी एकताको काम कहाँ पुग्यो ?
वागमती प्रदेशमा पार्टी एकता सकिएको छ । हामीले प्रदेश, जिल्ला, नगर र टोलसम्मै कमिटीहरु गठन गरिसकेका छौँ । यसबेलासम्म बाँकी अन्य कामहरु पनि सकिन्थ्यो । बाध्यात्मक हामीले त्यो रोक्नुपर्ने भयो । कोरोनाको महामारी त्यही बेलामा फैलियो । यसले कार्यकर्ता प्रशिक्षणका कामहरु र एकता प्रक्रिया टुंगिएका कुराहरु हामीले सार्वजनिकसमेत गर्न भ्याएका छैनौँ । अब बाँकी भने यहाँ कार्याकर्तालाई पार्टी सदस्यता वितरण गर्न मात्रै हो । यो काम पनि हामीले चाँडै सिध्याउने गरी कोरोनालगत्तै काम थाल्ने छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *