खेतीपातीका कुरा

लेख

तपाई कृषिकर्मतिर लाग्ने बीचार गर्नुभएको छ भने सुरुमा नै केही प्रश्न तथा धारणाको सामाना गर्न तयार हुनु आवश्यक हुन्छ । ‘सफल होला र ? अहिलेसम्म कोही पनि सफलतामा पुगेको देखिन्न । यसमा तपाईंलाई केही समयमा निराशा आउँछ होला । यसबाट प्रतिफल लिन धेरै समय लाग्छ । काम गर्ने मान्छे नै पाउँदैन । बल्ल बल्ल उत्पादन भयो भने पनि बेच्न सकिँदैन । नाफा बिचौलियालाई हुन्छ ।’ यी र यस्तै कुराहरुको सामाना गर्नु पर्छ । यसमा केही सत्यता छन् भने केही चाहिँ गफको मेसो मात्रै हुन् । यसै पेरिफेरिमा हामीले प्राप्त गरेको अनुभव यहाँहरुको बीचमा राख्ने जमर्को गरिएको छ ।
कृषि कर्ममा लाग्ने क्रममा के बाट सुरुवात गर्ने भन्नेमा हामी कम्पनी सञ्चालकहरुमा दुविधा नै थियो । संयोग मान्नु पर्छ हाम्रो जग्गा भएको स्थानमा अवलोकन गर्ने मनसाय पूर्वकृषि मन्त्री नागेन्द्र चौधरीले व्यक्त गरे । ०७५ मंसिरतिर पूर्वमन्त्री चौधरीसहित हामी चरिकोटतिर लाग्यौँ । पूर्वमन्त्री समेत गएकाले दोलखाका केही साथीहरुसँग फोन सम्पर्क गरी कृषी सम्बन्धी सेवा प्रवाह गर्ने सरकारी कार्यालयसँग सम्पर्क भयो । यस कार्यमा पत्रकार गायत्री आचार्यले हामीलाई सहयोग गरिन् । आचार्यको संयोजनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (किबी जोन), पशु सेवा कार्यालय, टुकी संघका प्रतिनिधिहरुको टोलीसहित हामी सिक्री (जग्गा भएको स्थान) तिर लाग्यौँ । किबी जोनबाट तत्कालिन अधिकृत मित्रवन्धु भट्टराई, पशुसेवा कार्यालयका तत्कालिन प्रमुख ज्ञानवहादुर थापा, कृषि सहकारीका अध्यक्ष हरिहर न्यौपानेलगायत हामीसमेत गरी ८, १० जनाको टिम जुटेका थियौँ । सबैले आफ्नो विज्ञताको आधारमा संभावना औँल्याए ।
समुन्द्री सतहदेखि १६÷१७ सय मिटर हाराहारीको उचाइँमा रहेको हाम्रो जग्गामा किबी फलको संभावना भएको देखियो । त्यसपछि बोच कृषि वागवानीमा पसी त्यहाँ अन्तक्र्रिया र अवलोकन ग¥यौँ । त्यहाँ किबी खेतीलाई व्यवसायिक बनाउन प्रयोगात्मक अभ्याससमेत भइरहेको छ । गुणराज पौडेलले हामीलाई राम्रोसँग ब्रिफिङ गरिदिए ।
सबैसँगको परामर्श र हामी कम्पनीका सञ्चालकहरुका बीचमा सल्लाह गरी किबीको व्यवसायिक खेती गर्ने निचोडमा पुग्यौँ । समुन्द्र सतहदेखि १२०० मिटर देखि २४०० सम्म किबीको व्यवसायिक खेती सकिने, रोपेको बिरुवाले ५० वर्षभन्दा बढी उत्पादन दिइरहने भएकाले पनि हामी यस खेतीप्रति आकर्षित भएका थियौँ । दोलखाका लागि सरकारी प्राथमिकतामा किबी परी किबी जोनको कार्यालय पनि स्थापना भएको र यहाँ विभिन्न स्थानमा परीक्षणसमेत भएकाले पनि हामीले उत्प्रेरणा मिलेको थियो । त्यो समयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत इलाम र दोलखामा किबी जोन घोषणा गरिएको थियो ।
हामी कम्पनी सञ्चालकहरु कृषि उत्पादनमा आधारित काम गर्नु पर्छ भन्ने तर कोही पनि नियमित जमिनमा धसिएर काम गर्न सक्ने खाल्का थिएनौँ । नियमित रेखदेखका लागि गीता दाहालको प्रतिवद्धता आएकाले काम थालियो । इसिमोडको गोदाबरीमा रहेको नर्सरीमा प्रतिगोटा रु ३०० पर्ने गरी ३५० वटा बिरुवा बुक गरियो । उता खाल्डा खन्न लगाइयो । ५ फिट गोलाइ र ३ फिट गहिरो भएको खाल्डा खन्नु पर्ने रहेछ । खाल्डा खन्नका लागि मान्छे पाइएन । छिमेकी पालिका शैलुङबाट बोलाएर खन्न लगाइयो । खाल्डा रेंखांकनका लागि किबीको पिता पहिचान पाएका श्याम खड्काको सहयोग लिइयो । उनको मार्गदर्शनका आधारमा चिह्न लगाइयो । खाल्डाबीचको दूरी ५ देखि ६ मिटर कायम गरियो । खाल्डा खन्ने अनी मल र माटो मिसाएर पुर्ने । पुर्ने काम पनि जटिल नै हुने रहेछ । कामदार पाउन मुस्किल । बल्ल बल्ल त्यो काम पनि गरियो । गोदावरीमा अर्डर गरेको बिरुवामध्ये २०० वटा मात्र दिन सक्ने जानकारी आयो । खाल्डा तयार भइसकेको थियो । नपुग बिरुवा किबी जोनको सहयोगमा बोचबाट बिरुवा मगाइयो । बोचको निजी नर्सरीबाट मगाएको बिरुवाको प्रतिबिरुवा मूल्य रु. १०० सस्तो पर्न गयो । हामीसँग मल पनि थिएन । मल किनियो । अनी बिरुवा रोप्ने आरम्भ गरियो । किबी जोन दोलखाका प्रमुखसहित भई उत्साहका सथ बिरुवा रोपन आरम्भ भयो । बिरुवा त के भन्नु र सुकेकोजस्ता देखिने सिटा वा छेस्का थिए । के होला र भन्नेजस्तो लाग्दथ्यो । खाल्डा खन्न जती मुस्किल थियो त्यत्ति नै रोपन र सधैँ चिसो पारिराख्नु पर्ने काम पनि । धन्न पानीको जोहो पहिला नै गरिएकोले मुस्किल त्यत्ति धेरै परेन । पानीलाई थप व्यवस्थित गर्न किबी जोनले केही मिटर जिआई पाइप खरिदका लागि सहकार्य ग¥यो । त्यस्तै प्लास्टिक पोखरी निर्माण गर्न भीमेश्वर नगरपालिकाले सहकार्य ग¥यो । किबी खेती सम्वन्धी किबी जोन दोलखाको सिफारिसमा गीता दाहाललाई बोच वागवानी केन्द्रमा तालिममा सहभागी गराउने मौका मिल्यो । त्यसै गरी दोस्रो वर्ष किबी जोनले सप्ताहव्यापी प्रदेश नं. १ मा भएको व्यवसायिक किबी खेतीको अवलोकलन र अध्ययन गर्ने मौकासमेत दिलाएको थियो ।
पहिलो वर्ष नै ३५० भन्दा बढी बिरुवा रोपिएको थियो । किबीका हरेक बिरुवामा पानी नियमित हाल्नु पर्ने काम कठिन हुने नै भयो । थोपा सिंचाइको प्रणाली खर्चिलो भएकाले सो राख्न सकिएन । पाइप तान्दै हरेक बिरुवामा पानी हाल्नु त्यो पनि झन्डै २० रोपनी जग्गा भरी छरिएर रोपिएका ३५० भन्दा बढी बिरुवामा । यो जटिल काम सम्पादन हुँदै थियो । रोपेको एक महिनामा नै बिरुवाले पात हाल्न थालेको देख्दा असाध्यै रमाइलो लाग्थ्यो । विस्तारै हाँगा फैलिँदा अनी बिरुवाको छेउमै गाडेको लठ्ठीमा वेरिँदा अनी वेरीएको लहरा फुकाउँदाको रमाइलोपन छुट्टै हुन्थ्यो ।
किबी खेतीका लागि पहिलो वर्ष त नियमित पानी लगाउने अनी बिरुवाको स्याहार गर्नु पर्छ । किबीको बिरुवालाई ६ फिट उचाइँमा पु¥याइरोक्नु राम्रो हुन्छ । अनी बिरुवाको कलमीभन्दा तलको भागबाट मुना पलाउँछ त्यसलाई चिमोट्नु पर्छ । धेरैवटा मुनाहरुमध्ये २ वटा मात्र राखी अरु हटाउनु राम्रो हुन्छ । नियमित रुपमा स्याहार यो खेतीले खोज्दो रहेछ । दोस्रो वर्ष भने यस्को थाँग्रा हाल्नु पर्ने यो अति खर्चिलो पाइयो । थाँग्रा २ तरिकाले हाल्न सकिंदो सकिन्छ । हुन त अस्थायी किसिमको थाँग्रा हाल्ने चलन पनि छ त्यस्तो भएमा १,२ वर्षमा नै फेर्नु पर्ने बाध्यता हुन्छ । कंक्रिट र रडसहितको पोल वा जिआई पाइपको टी आकारको थाँग्रा बनाउन सकिन्छ । यस्तो आकारको थाँग्रा २ मिटरभन्दा अग्लो हुनु पर्छ । यसरी तयार गरेको पोल वा थाँग्रा जमिनमुनी डेट फिटभन्दा बढी हुने गरी गिटी, बालुवा र सिमेन्टसहितको डिपिसी गर्नु पर्छ । टि आकार दिई अर्थात ढलानवाला घरको छतमा लुगा सुकाउने तार टाँगेजस्तो आकारको थाँग्रा गाड्ने र एक थाँग्रादेखि अर्को थाँग्रासम्म ५÷५ वटा तार तान्नु पर्छ । सोही तारमा किबीको लहरा फैलिन्छ । यो तार उच्च गुणस्तरको राखिनु पर्छ । यसरी एउटा थाँग्राका लागि ५ हजारभन्दा बढी खर्च हुने रहेछ । यो खर्चिलो नै हो । यसका लागि अर्को वर्ष पनि केही लगानी गर्नु अपरिहार्य हुन्छ । किबीको व्यवसायिक खेतीका लागि पहिलो र दोस्रो वर्ष अलि बढी लगानी गर्नु पर्ने हुन्छ । त्यसैगरी यसले नियमित स्याहारसमेत खोज्छ । पहिलो वर्ष ३५० वटा बिरुवाको स्याहार गर्न पनि एक जनाले मुस्किल परेको थियो भने दोस्रो वर्ष थप ३०० बिरुवा रोपिएको छ । अहिले किबीको बिरुवाले ओगटेको क्षेत्रफल नै २ हेक्टर अर्थात ४० रोपनी जती छ ।
किबी खेतीमा सधैँभरी खटिइरहने गीता दाहालका अनुसार हरेक ३ दिनमा कम्तीमा एकपटक हरेक बिरुवाको छेउमा पुग्नु पर्छ । झार पलाएको छ की, चिसो हराएको पो छ की अनी चोर बालुवा (अनावश्यक हाँगा वा मुना) पलाएको छ की, हाँगा बढेर बटारियो की भनी ध्यान दिइरहनु पर्छ । जहिले हेर्दा पनि मल कम भयो कि जस्तो लाग्छ रे । हिउँदमा हाँगा कटनी छटनीको काम गर्नै पर्छ । नजिकै जंगल छ । वन्यजन्तुको डर उत्तिकै हुन्छ । किबीको पातलाई मृगले मन पराउँदो रहेछ । अनी बाँदरको उपद्रो हुने नै भैगो । आगो लाग्ला की भन्ने चिन्ता भइहाल्छ ।
कृषिमा सरकारी अनुदान धेरै हुन्छ भन्नेसम्म सुनिएको हो तर त्यो पाइन्छ भनेर हामीले काम थालेको होइन । गर्दै जाउँ हामीले गरेको काममा केही अनुदान आएछ ठिकै मानौँला भन्ने आसा चाहिँ थियो नै । अनुदान कै लागि कृषि कर्ममा जुट्ने हाम्रो चाहना पटक्कै होइन र छैन पनि । हामीले किबी रोपेको दोस्रो वर्ष प्रदेश सरकारअन्तगत वाग्वानी बोचले थप ३०० वटा बिरुवा रोपनका लागि ३ लाख ८८ हजार रकम उपलब्ध गरायो । यसमा तोकिएको काम गर्नका लागि मात्र १५ लाखभन्दा बढी खर्च भएको छ । गत वर्ष रोपिएका बिरुवाका मध्ये १०० वटा थाँग्राका लागि लाग्ने रकमको आधा अनुदानबापत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना किबी जोन दोलखाबाट प्राप्त भएको छ । सिंचाइको कार्यलाई सहज बनाउन भीमेश्वर नगपालिकाले पाइप तथा प्लास्टिक पोखरीका लागि आंशिक अनुदान दिएको थियो । हामी आफैँ गर्नु पर्ने काम थियो सो काममा केही रकम अनुदानबापत उपलव्ध भयो । यो तरिका हामीलाई ठिक लागेको छ । तर धेरै कृषि अनुदानका लागि मात्र काम गरेकोजस्तो गर्ने चलन नभएको पनि होइन । कृषिमा अनुदान भन्ने कुरा गरिरहेको काममा उत्प्रेरणामुखी हुन सके मात्र व्यवसायिकता हुन सक्छ ।
किबीलाइ असिनाले धेरै नोक्सानी गर्दछ । आगोको डर पनि हुन्छ । वन्यजन्तुले पनि हैरान पार्दछ । यसबाट थोरै भए पनि सुरक्षित रहन बिमा गर्नु सान्दर्भिक हुन्छ । बिमा गर्ने जिम्मेवारी पाएका बिमा कम्पनी तयार हुँदैनन् । सरकारी उत्प्रेरणा समेतले धेरै किबीको बिरुवा रोपन भएको छ यसको खेती गर्नका लागि देखासेखीले पनि काम गरिरहेको छ । यसैले अब विस्तारका लागि धेरै चिन्ता लिनु पर्दैन । हाल भइरहेको व्यवसायबाट उपलब्धि हासिल भएमा अरु पनि आकर्षित हुन सक्छन् । तर बजारको सुनिश्चितता भने देखिन्न । गत वर्ष रोपिएको बिरुवाहरुमध्ये केहीमा यस पाला नै फल लागिरहेको छ । अर्को वर्षदेखि अलिक राम्रै उत्पादन हुन्छ होला । यसको बजारको बारेमा अहिलेदेखि नै चिन्ता वढेकोछ । नेपालभित्र यसको खाने बानी परिसकेको छैन । वाह्य निकासी हुने सम्भावना पनि तत्काल देखिन्न । त्यसैले किबी फलको प्रशोधनमा राज्यले ध्यान दिन ढिला भइसकेको छ । त्यतातिर बेलैमा ध्यान जान सकोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *