ठ्याक्कै मिति याद भएन, पहिलो चोटी बाजुरा गएको झन्डै एक वर्ष पछि ०५७ सालको चैत वा ०५८ को सुरुतिरको कुरा हुनुपर्छ । म सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) मा कार्यरत नै थिएँ । दोस्रोपटक बाजुरा जानु पर्ने भयो । त्यस समयमा नेपालमा चरम द्वन्द्व थियो । सरकारले संकटकाल लगाएको थियो । बाजुराको ओली गाउँमा सामुदायिक वन र उत्प्रेरणा सम्बन्धी तालिमका लागि जानु पर्ने भयो । हर्क थापा दाइ र म जाने भयौँ । अछामको साँफेबगरसम्म गाडीको सुविधा थियो । काठमाडौंवाट धनगढीसम्म रात्रि बसमा, त्यसपछि पनि अर्को रात्रि बसमा नै चढेर साँफेबगर पुग्यौँ । साँफेबगर पुग्दा २ रात लगातार गाडीमा नै बिताएका थियौँ । दिनमा पनि बसमा नै हुन्थ्यौँ । रात्रि बस भने पनि दिउँसो, राति, साँझ, बिहान सबै बस यात्रामा नै हुनु पर्दथ्यो । अन्यत्रको भन्दा अत्तेरियाभन्दा माथि लागेपछिको सडक असाध्यै रमाइलो लाग्थ्यो । भातकाँडामा खाना खान रोक्ने, भातमा तताएको घ्यू झ्वाइँ पारेर खाना पाइन्थ्यो । खसीको मासु पाइने तर हाम्रोतिरको जस्तो हुँदैन । त्यतातिर खसी काटेपछि रौँ पोलेर सफा पारिन्छ भने हाम्रोतिर तातोपानीले खुइल्याइने गरिन्छ । त्यो बेलामा खाना स्वादिलो नै लाग्थ्यो ।
काठमाडौंवाट हिँडेको तेस्रो दिन मध्याह्नमा हामी साँफेबगर झरेका थियौँ । अछाम जिल्लामा पर्ने साँफेबगर त्यो बेलामा व्यापारिक केन्द्र थियो । अझ भन्नु पर्दा अत्तेरियापछिको केन्द्र त्यही नै थियो । टिनबाट बनेका साना साना पसलहरु टन्नै थिए । नदीको किनारमा रहेको यो बजारमा सबैभन्दा बढी बिक्री हुने ‘मसला’ हो भन्थे । मसला भनेको खाने पदार्थ चाहिँ होइन । रेडियो वा क्यासेटमा प्रयोग गर्ने ब्याट्रीलाई मसला भन्ने चलन रहेछ । यस्ता मसला रेडियो, क्यासेटमा र उज्यालोका लागि रातिमा प्रयोग गर्ने टर्चमा प्रयोग हुन्थ्यो । हरेक भारी बोक्ने मान्छेको भारीसँगै क्यासेट घन्केको हुन्थ्यो । त्यहाँका मान्छेले ठड्यौलीमा भन्ने गर्दथे ‘क्यासेट भएन भने त कसैले गन्दा पनि गन्दैन बिहे पनि हुँदैन ।’ हामीसँग पनि सोनी टेपरेकर्डर थियो । मसला त रेडियो कार्यक्रम तयार गर्नका लागि अलि गतिलै खाल्का अंग्रेजीमा ए प्लस लेखिएका बोकेका हुन्थ्यौँ । आवज रेकर्डका लागि प्रयोग गरेर अली कमजोर भए पछि पनि क्यासेट बजाउन काम लाग्थ्यो । रेकर्डर र मसलाहरु रेडियो कार्यक्रम उत्पादन गर्न अन्तर्वार्ता लिनका लागि फेकोफनले उपलब्ध गराएको थियो । क्यासेट चक्कामा नयाँ नयाँ गीत भरेर बोकेका हुन्थ्यौँ । त्यही बजाउँदै हिड्यौँ । त्यहिँको परिवेशमा घुलमिल हुने कोशिस ग¥यौँ । अहिले रेडियो, क्यासेट, टर्च, मसला, ब्याट्री, लाइट भन्ने शब्दावली लेख्दा पनि अलि कस्तो–कस्तो लाग्ने भइसकेछ । यस्ता ब्याट्रीको तागत कम भए पछि पनि घाम सुकाएर पुनर्जागरणको कोशिस पनि हुन्थ्यो । अहिले ती दृश्य सम्झदा रमाइलो नै लाग्छ । जे होस् पूर्वतिर मसला भन्ने चलन छैन । मैले पहिलोपटक साँफेबगरमा नै सुनेको हो । ठाउँ अनुसारको भाषा फरक हुनु स्वभाविकै हो ।
साँफेबगरवाट केही घन्टा हिँड्न सके मात्र अर्को दिन बेलुका ओली गाउँ पुग्न सकिन्छ भन्ने जानकारी पायौँ । त्यसैल हामी सकेसम्म कस्सेर हिँडेका थियौँ । केही घन्टा तेर्सो बाह्रबिसे भन्ने स्थानसम्म अनी उकालो दुई घन्टा जति हिँडेपछि साँझ पर्न थाल्यो, बासको कुनै टुंगो थिएन । अहिलेजस्तो फोन हुने कुरा पनि भएन । हामीलाई बोलाउने लालबहादुर ओलीसँग पनि हाम्रो कुरा भएको होइन, बाटाको अवस्था कस्तो हुन्छ ? काठमाडौंमा थाहा हुने नै भएन । बाटोमा हिँड्दा भेटेका मान्छेलाई सोध्ने गर्दथ्यौँ । स्थानीयहरुले १० मिनेट लाग्ला भनेको ठाउँ पुग्न हामीलाई त आधा घन्टामा पो लाग्थ्यो । हामी दुवै जनालाइ मार्तडी जाने बाटो नौलो नभए पनि ओली गाउँ जाने बाटो अपरिचित नै थियो । यो भन्दा पहिला पनि बाजुराको सदरमुकाम मार्तडी गइसकेका थियौँ । हाम्रा लागि बसको यात्रा र भूगोल नौलो थिएन । यो पटक सदरमुकामभन्दा फरक ठाउँ ओली गाउँ जानु थियो । कानमा एयरफोन रुपी ठेडी लगाएर नयाँ नयाँ गीत सुन्दै रमाइलोसँग हिँडिरहेका थियौँ । टेप रेकर्डरलाई वाकमेन भन्ने पनि गरिन्थ्यो त्यो बेलामा । हिँड्दा प्रयोग गर्ने भएर होला तर त्यो शब्द जेन्डर अनुकूल भने थिएन । साँझ परिसकेको थियो । बाटाका छेउमा घरहरु फाट्टफुट्ट भेटिए, ती घरहरुमा एक पछि अर्को गर्दै बासको लागि अनुरोध गर्दथ्यौँ । बास दिन कोही पनि तयार भएनन् । हामी नयाँ मान्छे थियौँ । माओवादीको जनयुद्ध थियो । नयाँ मान्छेलाई बास नदिनु भन्ने सत्ता र विद्रोही पक्षवाट नै उर्दी थियो होला । पातलो घर भएको गाउँ भए पनि धेरै घरमा पुगेर बासका लागि आग्रह ग¥यौँ तर यहाँ त छैन अर्को घरमा जानुस् भन्ने कुरा मात्र हामीलाई भनिरहेका थिए । कतिपय घरतिर मोडिन खोज्दा पनि यता होइन, बाटो उता भनी मुलबाटो देखाउँथे ।
हामी असजिलो अवस्थामा पुग्दैथ्यौँ । दुई भाइ बारीको डिलमा उभिएर के गर्ने भनी सल्लाह ग¥यौँ । हामीले एउटा जुक्ति सोच्यौँ । हामीसँग रेकर्डर थियो अनी मसँग रेडियो नेपालले उपलव्ध गराएको सिंहदरवार छिर्न मिल्ने कार्ड पनि थियो । म रेडियो नेपालमा प्रशारण हुने सामुदायिक वन रेडियो कार्यक्रमको प्रस्तोता र रिपोर्ट पनि बनाउने गर्दथेँ । नियमित यसैमा काम गर्ने त होइन तर कहिले काहीँ जिल्लातिर गएको बेलामा रिपोर्ट ल्याउथेँ अनी आफू काठमाडौं भएको मौकामा रेडियो नेपालको स्टुडियो सिंहदरबारमा गएर प्रस्तोताको भूमिका पनि निर्वाह गर्दथेँ । त्यो बेलामा रेडियोमा वोल्ने मान्छेको पहिचान राम्रै मानिन्थ्यो । अहिलेको जस्तो एफएम रेडियोहरु थिएनन् । सामुदायिक वन रेडियो कार्यक्रम भनेपछि सबैतिरका उपभोक्ताले प्रतिक्षा गरेर नै सुन्ने गर्थे । सो सामुदायिक वन रेडियो कार्यक्रमको संयोजक अप्सरा चापागाई थिइन् भने प्रमुख प्रस्तोता शोभा न्यौपाने । कहिलेकाहीँ मैले पनि प्रस्तुतिको भूमिका निर्वाह गर्थेँ । हामी सबैले पाण्डव सुनुवार, चन्दा बिष्ट र ईश्वर थापासमेतबाट रेडियोमा बोल्ने, अन्तर्वार्ता लिने, स्क्रिप्ट लेख्ने तालिम लिएका थियौँ । मसँग भएको रेडियो नेपालले दिएको परिचय पत्रको उपयोग गर्ने जुक्ति निकालियो । रेकर्डर देखाई कानमा एयरफोन घुसारेर, हातमा रेडियो नेपालले दिएको सिंहदरबार प्रवेश गर्ने फोटोसहित भएको कार्ड देखाउँदै त्यस गाउँको अलि ठूलो घरमा गएर हामी रेडियो नेपालबाट आएको समाचार लिन ओली गाउँसम्म पुग्नु छ । आज यतै बस्नु प¥यो भनी बास दिन आग्रह ग¥यौँ । ती मान्छेले केही असजिलो मानेर तलदेखि माथिसम्म हेरेर अनकनाए तर नाई वा हुँदैन भन्न सकेनन् । हामी रेडियो नेपालको मान्छे भएको भनेपछि टार्न सकेनन् । आफ्नो घरमा त बस्न दिएनन् तर गोठमा बास दिन राजी भए । तल गाई भैँसी केही पालेका थिए, माथि पराल ओछ्याइदिए । हामीलाई त्यो पनि गजबै भयो । बाटामा बेहाल हुने अवस्था पुगिसकेका थियौँ । त्यत्ति भने पनि पाइयो । त्यो संकटको समयमा रेडियो कार्यक्रमको नाम भजाए पनि हामीले बाजुरा जिल्लावाट एक सामग्री तयार गरी प्रशारण गरेका थियौँ ।
हाम्रो जुक्तिप्रति आफैँ गद्गद् भयौँ । हामीसँग स्लिपिङ ब्याग थियो । त्यो प्रयोग गरियो राम्रै भयो । खानाका लागि सुख्खा रोटी र मोही दिए । भोकले गर्दा मिठो भयो नै । २ रात २ दिनको यात्राको थकान थियो । गोठमा सुत्नु परेकोले मलाई डर लागेको थियो । नभन्दै रात भर के के हल्ला गरेकोजस्तो लाग्यो । आगो बालिदिएका थिए । यत्तिसम्म भए पनि घरवालाले हामीलाई ठूलै गुण लगाएको मान्यौँ । केही पैसा दिनु पर्छ होला भन्ने सल्लाह गरेका थियौँ । सायद उनीले पैसा लिन मान्दैनन् तर पनि दिनु पर्छ भन्ने सल्लाह ग¥यौँ । बिहान सबेरै उठेर बाटो काट्नु नै बेस हुने भएकाले अलि छिटै उठि हिँड्ने सुरसार ग¥यौँ । हिँड्ने बेलामा सबैलाई धन्यवाद भन्यौँ, हामीलाई बास दिनुभयो भनेर खुसी व्यक्त ग¥यौँ । अनी कति पैसा दिने होला, खाना दिनु भयो सुत्ने ठाउँ दिनु भयो, भन्यौँ । हाम्रो अपेक्षाविपरीत उत्तर आयो ‘विचार गरी मिलाएर दिनुस् न’ भने । उनीहरुले पर्दैन भनेको भए पाँच सय रुपैयाँ दिने सल्लाह गरेका थियौँ । अनी सय रुपैयाँ मात्र दिएर हिँड्यौँ । चार सय रुपैयाँ नाफा भयो । त्यो बेलामा फेकोफनबाट तलबबाहेक दैनिक भ्रमण भत्ता ५० रुपैयाँ पाइन्थ्यो । त्यो विषम परिस्थितिमा पनि आँट गरेर हामीलाई बास दिनु पनि ठूलो जोखिमकै कुरा रहेछ । त्यो बेलामा रेडियो नेपालले दिएको कार्ड र ओली गाउँका लालबहादुर ओलीको नाम लिएर हामीलाई सजिलो भएको कुरा पछि थाहा पायौँ । हामी लालबहादुर ओलीको निम्तोमा त्यता जाँदै थियौँ । ओली त्यस क्षेत्रका परिचित थिए । उनको पहिचान फेकोफनको अतिरिक्त सामुदायिक विकासकर्ता र सामाजिक रुपान्तरणकर्ताको रुपमा देखिन्थ्यो । जे जस्तो भए पनि हामीलाई बास दिएर ठूलो गुण लगाएका छन् । अहिले त्यो ठाउँमा गाडी सरर चल्दो हो । हामी बास बसेको गाउँको तस्बिर चाहिँ आँखामा अहिले पनि आउँछ तर गाउँको नाम भने याद हुन सकेन । दुईदशक भइसकेको छ । त्यस ठाउँको सामाजिक तथा आर्थिक उन्नति भइसकेको होला । धन्यवाद ।