कोरोनाका कारण महाधिवेशन प्रभावित हुने सम्भावना छ

अन्तरवार्ता प्रमुख वाग्मती प्रदेश समाचार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी फागुनका लागि तोकिएको छ । तर बढ्दो आन्तरिक किचलोका कारण निर्धारित मितिमै महाधिवेशन हुन गाह्रो देखिएको छ । संस्थापन र इतरपक्षबीच द्वन्द्व बढिरहेका बेला महाधिवेशनलाई केन्द्रमा राखेर तामाकोशी सन्देशका लागि एल.बी विश्वकर्माले कांग्रेस केन्द्रीय सदस्य एनपी साउदसँग गरेको कुराकानीको सम्पादित अंश…

० फागुनमा अधिवेशनको मिति तय गर्नुभएको छ । महाधिवेशनको तयारी कस्तो छ ?

अहिले विश्वभर कोरोना महामारी फैलिरहेको छ । सबैतिर ठप्प छ, देश लकडाउन र निषेधाज्ञाको मारमा छ । महामारीका कारण दिनदिनै मानवीय क्षति भइरहेको छ । जसले गर्दा हाम्रा थुप्रै नेता कार्यकर्ताहरु पनि कोरोना संक्रमित बनेका छन् । यस्तो अवस्थामा नेपाली कांग्रेसको महाधिवेशनको क्यालेन्डर प्रभावित हुने नै भयो । पार्टी समायोजन गर्न बाँकी रहेका जिल्लामा छिटो समायोजन गर्नुपर्नेछ । सक्रिय सदस्यता वितरण गर्न बाँकी रहेका जिल्लामा त्यो काम पनि गर्नुपर्छ । नयाँ सदस्य वितरण गर्ने, अन्य पार्टीबाट आएका साथी र एकताबाट आएका साथीलाई सक्रिय सदस्यता वितरण गर्ने काम भइरहेको छ ।
० सधैँ मिति सार्दै आउनु भएको थियो। यसपटक तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुने कत्तिको सम्भव छ ?
आन्तरिक विवाद चर्किरहेको छ । हरेक नेताहरुले आ–आफ्नै अडान अघि सार्नुभएको छ । यसकारण तोकिएको समयमा महाधिवेशन हुन गाह्रो छ । अर्कोतर्फ यो कोरोना महामारीले विश्व नै भयभीत बनेको छ । मानव जाति नै चरम संकटमा छ । हाम्रो देशमा पनि त्यसको गम्भीर असर परेको छ । पछिल्लो समयमा नेपालमा पनि कोरोना सक्रमण दर धेरै उच्च हुँदै गइरहेको तथ्यांकहरुले देखाउँछ । यस्तो अवस्थामा वडादेखि प्रदेशसम्मका सम्मेलन गर्न सक्ने अवस्थामा छैन । यस्तो अवस्थामा अहिले नै तोकिएको समयमा महाधिवेशन हुन्छ भन्न सकिँदैन । वडादेखि प्रदेशसम्मका सम्मेलन भएनन् भने महाधिवेशन आफैँ प्रभावित हुन्छ नै । जुन छिटो गरौँ भनेर भन्न सकिने अवस्था कोरोनाका कारण छैन ।
० संस्थापन पक्षले महाधिवेशन धकेल्न बाहना खोजेको आरोप छ नि !
कोरोना महामारी हाम्रो महाधिवेशनलाई प्रभावित गर्न आएको होइन । यसले विश्वलाई नै प्रभावित पारेको छ । विश्वभरि आर्थिक अवस्था ओरालो लागेको छ । बेरोजगारी बढेको छ । शिक्षा, स्वास्थ्य क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । मानिसमा त्रास छ । यसका बाबजुद पनि नेपाली कांगे्रसको आन्तरिक रूपमा केही कमी कमजोरी नहोला भन्न सकिँदैन । यसलाई सुधार गर्दै जानुपर्छ । तर केही साथीले सुरुबाटै पार्टीको आन्तरिक कामकारबाहीको विरोध मात्र गर्नुभयो । नेपाली कांग्रेसको विधानअनुसार महाधिवेशन हुनुपर्छ । हामीले गर्नैपर्छ । तर कसैले गर्न चाहेन भनेर आरोप लगाउनु राम्रो होइन । समयअनुसार हुने हो । एक वर्ष थपियो । मिति घोषणा भएको छ तर कोरोनाका कारण यो प्रभावित हुँदा कसैको दोष होइन । यसलाई सबैले आत्मसात् गर्नुपर्छ । आरोप प्रत्यारोप होइन ।

० विभाग गठन र प्रतिनिधि छनोटमा संस्थापन पक्षले एकलौटी निर्णय गरेको आरोपलाई के भन्नुहुन्छ ?
विधानमा अधिवेशन सकिएको तीन महिनामा विभाग गठन गर्नुपर्ने व्यवस्था छ । अघिल्लो समयमा म पनि कार्यसमितिमा थिएँ । तर त्यो समयमा विभागदेखि अन्य काम समयमा हुन सकेका थिएनन् । निर्धारित समयमा कुनै पनि काम गर्न सकिएन भने त्यसको औचित्य नै सकियो भन्नु हुँदैन । यसले गर्ने काम हुन्छन् । यो नै यथेष्ट कारण होइन । जहाँसम्म एकलौटी ग¥यो भन्ने छ, त्यो होइन । आज पनि सभापतिले मिलेर विभागदेखि अन्य काम गरौँ भन्नुभएको छ । सहमतिमा विभागका प्रमुख बनाऔँ भन्नुभएको छ । हरेक ठाउँमा नियुक्ति गर्दा मेरिटअनुसार गर्ने कि भागबन्डामा गर्ने हो भन्नुभएको छ । आगामी महाधिवेशनमा एकताको सन्देश पनि हुन्छ । मिलेर जाऔँ भन्नुभएको छ । नेकपाको विकल्प हो भन्ने हुन्छ । एकता, मेलमिलाप हुनु पर्छ । विरोध गरेर कसैको भलो हुँदैन । मिलेर अगाडि बढेमा सबैको भलो हुन्छ । संवादको कमी छ । इगो कारण पनि छ । पार्टी सभापति सबैलाई समेटेर जान तयार हुनुहुन्छ । यस्तो हो भने समस्या जहाँ छ, त्यहाँबाट एकताको काम हुन्छ । एकल निर्णय गर्ने बाटोमा जानुभएको भए त विधानमा त सभापतिले विभाग गठन गर्ने अधिकार छ । तर, उहाँले सहमति खोज्नुभयो । त्यसकारण साथीहरूको आरोपमा सत्यता छैन । सबैले मिलेर जाने हो ।
० नेतृत्वमा पुस्तान्तरणको कुरा उठेको छ । अबको अधिवेशनबाट त्यसको अभ्यास सम्भव छ ?
पार्टीको महाधिवेशनमा उम्मेदवार उठ्छन् । यसमा धेरै कुरा उठ्छन् । पुस्तान्तरण, विधि विधानका कुरा उठ्छन् । यसका लागि पनि महाधिवेशन नै अन्तिम हो । यहाँ कसैलाई पार्टीको महाधिवेशनमा उम्मेदवार नउठ भन्न पाइँदैन । यस्तो भएपछि जसको विचारले नेतृत्व गर्छ, त्यसले महाधिवेशनबाट नेतृत्व गर्छ । उमेर बढी भएकालाई म मत दिन सकिँदैन भन्न सकिन्छ । अहिले पनि दोस्रो पुस्ता तयार भएको छ । कैयौँ मानिस तयारीमा पनि छन् । समयमा सबै कुरा आउँछ ।
० तपाई नेतृत्व लिन तयार हुनुहुन्छ कि ?
म नेतृत्वमै छु । १५–१६ वर्षदेखि केन्द्रीय सदस्यमा छु । अहिले महाधिवेशनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । देशभरिका साथीहरूसँग छलफल गर्न सकिएको छैन । सबैसँग छलफल नगरी केही भन्न सकिँदैन । सबैसँग छलफल गरेर अगाडि बढ्छु ।
० सरकारले मनपरी ग¥यो भनेर जनताहरुले विरोध गरिरहेका छन् । तर, कांग्रेसले प्रभावशाली प्रतिपक्षको भूमिका निभाउन नसकेको देखि“दैन, किन ?
अहिले सडकमा जान सजिलो छैन । नारा जुलुस वा जनतासहित पहिलेको जस्तो आन्दोलन गर्न कठिन छ । तर, पनि हामीले सदन र सामाजिक सञ्जालमार्फत निरन्तर दबाब दिइरहेका छौँ । सरकारका गलत कामहरुको भण्डाफोर गरिरहेका छौँ । फेरि यो सरकार विगतका ६ र ९ महिने सरकारजस्तो होइन । त्यसले तुरुन्तै सरकार परिवर्तन हुन्थ्यो । जसले गर्दा प्रतिपक्षको भूमिका देखिन्थ्यो । अहिले बहुमतको सरकार छ । पहिला अविश्वासका प्रस्ताव आउँथे । गठनबन्धनमा सरकार बन्थ्यो । सरकारले गरेका काम राम्रा छैनन् । प्रतिपक्षले पनि आफ्नो काम गरेको छ । हामी जनताको पक्षमा बोलिरहेका छौँ । सरकारले गरेका नराम्रा कामको हामीले सडकदेखि सदनसम्म आवाज उठाएका छौँ । तर अहिले कोरोनाका कारण आमसभा भेला गर्न सक्दैनौँ । त्यसैले हामीले जनताका मुद्दा सरकारसम्म पु¥याएका छौँ । सभापति पटक–पटक प्रधानमन्त्रीलाई भेट्न जानुभएको छ । ज्ञापनपत्र बुझाएका छौँ । सरकारको ध्यानाकर्षण गरेका छौँ । तर जति जनताले चाहना राखेका छन्, त्यति नभएको हो ।
० कोरोना महामारीको बेलामा थुप्रै भ्रष्टाचार काण्डहरु बाहिर आए । तर, कांग्रेसको कहीँ कतै उपस्थित देखिएन । किन ?
वर्तमान सरकार ठूला–ठूलो भ्रष्टाचारका मुद्दामा सामेल छ । अरू त अरू कोरोना महामारीको बेलामा पनि स्वास्थ्य सामग्री खरिदमा पनि सरकार मुछिएको छ । हामी कोरोना महामारी रोकथाममा असफल भइसकेका छौँ । कोरोना समुदाय स्तरमा फैलिसकेको छ भने जनतामा निराशा छ, सरकारप्रति आक्रोश छ । अर्थतन्त्र चौपट भएको छ । सत्ताधारी पार्टीका नेताहरू सत्ता केन्द्रित गतिविधिमा मात्र लागेका छन् । यो सरकारसँग धेरै दम्भ छ । राज्यका अंगलाई प्रभावित गरेको छ । संवैधानिक निकायलाई प्यारालाइज्ड गरेको छ । यसको विरोध हामीले गर्दै आएका छौँ । यो सरकार अधिनायकवादी छ । यो जनताप्रति जिम्मेवार छैन । यसको विरोध हामी गरिरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *