पार्टीमा अराजक र गैरराजनीतिक चेतना व्यक्तिहरु हाबी हुँदै गएका छन्

अन्तरवार्ता राजनीति वाग्मती प्रदेश

० दाङ प्रदेश कार्यालय निर्माणको क्रममा कांग्रेस सांसदहरुले कुर्सी भा“च्ने जुन खालको व्यवहार देखाए । के यो व्यवहार नै अन्तिम विकल्प थियो ?
हाम्रा सांसदहरुले जुन प्रकारको व्यवहार देखाउनु भयो । त्यो गलत व्यवहार प्रवृत्ति हो । उहाँहरुले आफ्नो मर्यादाभित्र रहेर काम गर्नुपथ्र्यो उहाँहरुले त्यो भुलेका छन् । राज्य सञ्चालनका लागि जनता चाहिन्छन् भन्ने कुरा कांग्रेसलाई सम्झाउने प्रयास गरिरहेका छौँ । तर, जुन शैली उहाँहरुले देखाए । त्यो खेदजनक छ । उहाँहरुको व्यवहार हेर्दा पनि लाजलाग्ने खालको देखिन्छ ।
० आफ्ना कुरा सुनाउने अरु उपाय पाउनु भएन हो ?
होइन । तर, हामी सरकारले सुन्ने अरु उपायको खोजीमै छौँ । सरकार अन्धो र बहिरो भएको छ । यसैले उसलाई सुनाउन आवश्यक छ । यो भन्दा पृथक शैली अपनाउन जरुरी छ । यो जे भयो । त्यो विल्कुलै गलत भएको छ ।
० कोरोना महामरीले तपाईंका नेताहरु प्रभावित छन् । अधिवेशनको तयारी कसरी गर्नुभएको छ ?
अहिले कोरोनाका कारण अधिवेशन तत्काल हुने, नहुने भन्ने कुरा नै छ । हामी चाहेर वा नचाहेर पनि आफ्ना जिम्मेवारी पनि गर्न सकिरहेका छैनौँ । पार्टीले यसतर्फ ध्यान दिनुपर्छ । अझ सरल र सहन तवरले युवाको उपस्थिति बढाउनु पर्छ । तर, अराजक शैलीले पार्टीमा गैरराजनीतिक व्यक्तिको हाबी बढ्दै गएको छ ।
० पार्टीभित्र नै सहयोग र असहयोग किन ?
जुन आरोप लगाएको छ, त्यो असत्य हो । आन्तरिक किचलो नभए स्थानीय निर्वाचन, प्रदेश र संंघीय निर्वाचनमा भूमिका हुन्थ्यो । आज यस्तो अवस्थामा विभागलगायत विभिन्न ठाउँमा नियुक्ति गर्नुभयो । विधानले दिएको एकवर्षे कार्यकाल थप्नुभयो । त्यो पनि ठीकै छ भन्यौँ । सहमतिमा संयोजनमा गएर सहमति ग¥यौँ । थपिएको कार्यकालमा महाधिवेशनको मिति दुईपटक थपिएपछि अब त तोकिएको समयमा महाधिवेशन हुनुपर्छ । महाधिवेशन भनेकोे नीतिगत निर्णय मात्र गर्ने ठाउँ होइन । नेतृत्व चुन्ने ठाउँ पनि हो । महाधिवेशनको मिति तोकिएपछि अब सार्ने काम गर्नुहुन्न । यस्तो ठाउँमा आचारसंहिता हुन्छ । तर, यसको खुला अपहेलना भएको छ । नेपाली कांग्रेसको इतिहास हेर्ने हो भने सुशील कोइरालाले साढे तीन वर्षमा गठन गरेका विभाग खारेज गर्न अहिलेका सभापति शेरबहादुर देउवाले माग गर्नुभएको हो र खारेज भए । उहाँले निर्णय खारेज नभए सामूहिक राजीनामा दिन्छु, सत्याग्रह गर्छु भन्नुभएको थियो । त्यो समयमा सबै निर्णय फिर्ता भएका थिए । विधानभित्रका कैयौँ कुरा बहुमतले गर्न नमिल्ने छन् । उहाँले भने बहुमतले निर्णय गर्दै जानुभयो । बीचबीचमा म विभाग गठन गर्दै छु, नाम दिने भए दिनुहोस् भन्दै हिँड्नुभयो । कैयौँ नियम संशोधन गर्नुभयो । यो सब स्वेच्छाचारी रूपमा पार्टी सञ्चालन गर्नुभयो । अहिले जति साथीहरू नियुक्त भएका छन्, ती सबै उहाँलाई नेतृत्व मान्न तयार छैनन् । यो भ्रमबाट पनि मुक्त भए हुन्छ । अहिले भएका सबै निर्णय एकलौटी भएका छन् । यो उहाँको पार्टी कब्जा गर्ने रणनीति मात्र हो । राष्ट्रिय परिस्थिति गम्भीर छ । यस्तो अवस्थामा मिलेर जानुपर्ने हो । कम्युनिस्टको शासन छ । भ्रष्टाचारमा सरकार लिप्त छ । यस्तो महामारीमा पनि सरकार जनताको पक्षमा छैन । दैनिक ज्यालादारी गर्ने ३५ लाख श्रमिकको बेहाल छ । सरकार लकडाउन, अर्धलकडाउन गरेर बसेको छ । सरकार चाहन्छ, जनता घरमा बसोस् । क्वारेन्टिन भेडीगोठजस्ता छन् । अस्पताल नपाएर बिमारी मरिरहेका छन् । आत्महत्या बढेको छ । यस्तो अवस्थामा सरकारका विरुद्ध सशक्त प्रतिरोध गर्नुपर्नेमा आफैँ आफैँबीच लडाइँ छ । कसरी हुन्छ ? कोरोनाको समयमा मिलेर जानुपर्ने अवस्थामा तिक्तता चाहँदैनौँ । हामी पार्टीमा समस्त एकता चाहन्छौँ । यो भनेको संस्थापनले मनपरी गरेर पनि हुन्छ भन्ने होइन । सबै सहमतिमा चल्नुपर्छ । मिलेर जानुपर्छ ।
० संस्थापनले निर्णय सच्याएन भने के गर्नुहुन्छ ?
हामी छलफलमा छौँ । लिखित रूपमा पार्टीमा असहमति दिन्छौँ । पार्टीको क्रियाशील सदस्यता मनपरी तरिकाले वितरण भयो, यो रोक्नुपर्छ । सबै ठाउँमा जिल्ला सभापतिलाई नै क्रियाशील सदस्यता रोकिएको छ । कहीँ जिल्ला सभापतिलाई काम दिएको छ । कहीँ सभापतिलाई नै थाहा छैन । यस्तो मनपरी हामी पनि टुलुटुलु हेरेर बस्दैनौँ । समायोजनमा पनि अलमल गरेको छ । कार्यसमितिको निर्देशिका छ । त्यहीअनुसार पार्टीको क्रियाशील सदस्यता वितरण गर्नुपर्छ । तर, हामी अहिले भएका बेथितिका बारेमा ठोस निर्णय लिँदै छौँ । लोकतन्त्र भनेको पारदर्शिता हो । विधिको शासन हो । यो भएन भने लोकतन्त्र हुँदैन ।
० लोकतान्त्रिक भनिने पार्टीभित्रै लोकतन्त्रको खडेरी लाग्यो है !
नेपाली कांग्रेसमा सबैभन्दा ठूलो समस्या आन्तरिक लोकतन्त्रको छ । लोकतान्त्रिक आन्दोलनमा संघर्ष ग¥यौँ । नेपालका तीन लोकतान्त्रिक आन्दोलनको नेतृत्व कांग्रेसले ग¥यो । तर पार्टीभित्र भने सधैँ लोकतन्त्रको खोजी गर्नुप¥यो । नेपाली कांग्रेस विधिप्रधान होइन, नेताप्रधान भयो । विधि विधानमा होइन, नेताको इच्छामा चल्यो । विचारप्रधान बनाउन सकिएन, व्यक्तिप्रधान नै रह्यो । हामीले आन्तरिक समस्याको समाधान खोजेनौँ । प्रवृत्ति सुधार्न सकेनौँ । पार्टी विधि र विधानमा चलेन । म अहिले पनि वैचारिक पुनः जागरणको आवश्यकता छ भन्दै यही अभियानमा छु । ० कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन नसकेको आरोप छ नि ?
यो आरोपमा आंशिक सत्यता छ । अहिले त कोरोना छ । यसभन्दा पहिला पनि कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन सकेन । वाइडबडी, नेपाल ट्रस्टको जग्गा, प्रिन्टिङ प्रेसको मात्र कुरा होइन । पछिल्लो समयमा ओम्नी काण्डसम्म सशक्त भूमिका निभाउन सकेन । लाउडा प्रकरणमा ५९ दिनसम्म संसद् अवरुद्ध गर्ने पार्टी एमाले हो । यो संसदीय इतिहासमा ताजै छ । अहिले जति पनि सरकारले गरेका भ्रष्टाचारका मुद्दा छन्, त्यसलाई लिएर तीन दिन पनि संसद अवरुद्ध गर्न सकेनौँ । मानवअधिकारको हनन्, गुठी विधेयकलगायत कुरा पनि मुद्दा बनाउन सकेनौँ । सरकारसँग आजित नेपाली जनताको आवाज उठाउन सकेनौँ ।
० ठूला काण्ड र प्रकरणमा कांग्रेस पनि मुछिएकाले मौन भएको भनिन्छ नि !
यदि कांग्रेस जोडिएको छ भने प्रमाणित गरेर देखाउँदा हुन्छ । अझ एक आयोग बनाएर छानबिन गर्दा हुन्छ । त्यो आयोग शक्तिशाली होस् । त्यसमा जुन व्यक्ति परे पनि परोस् । यो खोतल्न नेकपा चाहँदैन । कैयौँ मानिस मलाई पनि भन्छन्, लहरो तान्दा पहरो आउला । म भन्छु हामीले भ्रष्टाचार गरेका छौँ भने जनताका अगाडि नंग्याइदिए हुन्छ । भ्रष्टाचार छानबिन गर्न कांग्रेसले सरकारलाई रोकेको हो ? यो सबै केही पनि नगर्ने बहाना हो । सके छानबिन गरे हुन्छ ।
० यो महाधिवेशनबाट नेतृत्व पुस्तान्तरण हुन्छ कि हस्तान्तरण ?
पुस्तान्तरण भनेको स्वाभाविक प्रक्रिया हो । यो पुस्तान्तरण कसैले थालीमा राखेर दिँदैन । पुस्ताको अन्तरलाई संयोजन गर्नुपर्छ । नेतृत्व किस्तीमा राखेर कसैले बुझाउँदैन । यो लोकतान्त्रिक विधि र पद्धतिबाट खोसेर लिने हो । दोस्रो पुस्ताले सबै संयोजन गरेर लिनुपर्छ । दोस्रो पुस्तालाई नेतृत्व दिने हो भने सबैले मिलेर दिनुपर्छ । पुस्तान्तरण र पुस्ता अन्तर फरक छ । पुस्तान्तरण स्वाभाविक हो । तर पुस्ता अन्तर हुनु पर्छ । अहिले नयाँ पुस्ता राम्रो आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *