दसैँको मौका छोपेर व्यापारीले गर्ने गरेको ठगी

समाचार

नेपाली जनताको सबभन्दा ठूलो चाड दसैँको चहलपहल अहिले उत्कर्षमा पुगेको छ । तर विगतमा जस्तो दसैँलाई लिएर जनतामा उत्साह र उल्लास भने छैन । कोरोना महामारीको कारण नेपाली जनता यो वर्षको दसैँ त्रासमा मनाइराखेका छन् । दसैँ नेपालीको सबभन्दा ठूलो चाड मात्र नभएर सबभन्दा व्यापारिक कारोबार हुने अवसर पनि हो । पैसा नहुनेले समेत ऋण काढेर भए पनि दसैँका लागि परिवारका सदस्यलाई लुगाफाटासँगै खाद्य पदार्थ र मासुजन्य अन्य पदार्थसमेत दसैँको अवसरमा खरिद गर्ने गर्दछन् । यही कारणले गर्दा नै दसैँलाई ठूलासँगै साना व्यापारीले समेत आफ्नो व्यापार व्यावसाय बढाउने अवसरको रुपमा उपयोग गर्ने गरेका छन् । आमजनता समेत दसैँको अवसरमा मुठी खोलेर खर्च गर्ने भएकाले जनतालाई आकर्षित गर्नका लागि विभिन्न व्यवसायिक कम्पनी र उद्योगले आफ्नो उत्पादन बिक्रीका लागि विभिन्न अवसर र सहुलियत योजनासमेत सार्वजनिक गरेका हुन्छन् ।
तर केही गलत नियत राख्ने व्यापारी तथा व्यवसायीले भने दसैँको मौका छोपेर विभिन्न उपायमार्फत् लुट अभियान पनि दसैँकै अवसरमा संचालन गर्ने गर्दछन् । मिति नाघेको विभिन्न सामानलगायत खाद्यान्न वस्तुहरुमा नयाँ स्टिकर टाँसेर जनतालाई ठग्ने धन्दा कतिपय व्यापारी तथा व्यवसायीले दसैँकै अवसरमा गर्ने गर्दछन् । सरकारको सम्बन्धित निकायले गम्भीरतापूर्वक खबरदारी र अनुगमन नगर्दा तथा यस्ता गलत धन्दामा लागेका व्यापारी तथा व्यवसायीलाई रंगे हात पक्राउ गर्दा पनि कडा कारबाही नगरी कानुनको कमजोर कडी समातेर सजिलै उन्मुक्ति पाउने गरी कानुनी प्रक्रिया अगाडि बढाउने गरेकाले पनि यस्तो गलत धन्दा गर्ने व्यक्ति तथा कम्पनीले प्रोत्साहन पाउने गरेका छन् । केही समयअगाडि मात्रै उपभोक्ता हित संरक्षण विभागले मिति नाघेका सामानमा नयाँ स्टिकर हाल्ने धन्दा संचालन गरी राखेको गिरोहलाई रंगेहात पक्राउ गरेको थियो । यसरी जनतालाई ठगी गर्ने नियतले स्टिकर फेर्ने धन्दा गरिराखेका त्यस्ता व्यवसायीप्रति उपभोक्ता हित संरक्षण विभागका अधिकारीहरु कठोरतापूर्वक होइन, उदारतापूर्वक प्रस्तुत भएर उनीहरुलाई प्रोत्साहन गर्ने काम गरेका थिए । अहिले यही निकायले दसैँको अवसरमा बिक्रीमा राखेका अस्वस्थ खसी बोकाको सिंगमा रातो चिह्न लगाइदिएर बिक्रीका लागि अयोग्य भएको स्पष्ट संकेत गरेको छ । र, सिङमा रातो चिह्न लगाइएका खसी बोका अस्वस्थ भन्ने बुझ्ने ग्राहकले यस्ता खसी बोका किनेर दसैँ मनाउने काम निश्चित रुपमा गर्ने छैनन् भने यस्ता खसी बोकाहरु मासुको बिक्री गर्ने पसलमा पुग्ने निश्चित छ । यदि उपभोक्ता हित संरक्षण विभागले अस्वस्थ खसी बोकाको मासु खान आम जनतालाई सतर्क गर्ने नियतले यो उपाय अपनाएको हो भने विभागले यस्ता खसी बोकालाई बिक्री गर्नबाट नै निषेध गर्नु पर्ने थियो । तर उपभोक्ता हित संरक्षण विभागले यस्ता अस्वस्थ खसी बोका खास गरेर खसी बोका नै खरिद गरेर काटेर खान नसक्ने र केही किलो मासु किनेर दसैँ मनाउने तल्लो वर्गका जनताले भने अस्वस्थ खसी बोकाको मासु खाऊन् भन्ने नियत राखेर नै खानाका लागि अयोग्य मासु भएको खसी बोकालाई बिक्री वितरण गर्न भने नरोकेको प्रष्ट देखिन्छ । र, यसमा उपभोक्ता हित संरक्षण विभागका पदाधिकारीहरुको स्वार्थ गाँसिएको छैन भन्ने स्थिति छैन ।
सरकारको सम्बन्धित निकायले दसैँ आउन सुरु गरेसँगै बजारको अनुगमन र निरीक्षण पनि त्यसैगरी गम्भीरतापूर्वक गर्ने र मिति नाघेका सामग्रीलाई दसैँकै अवसरमा बिक्री गर्ने धन्दा चलाउने व्यवसायी तथा व्यापारीहरुमाथि कडा कारवाही गर्न थाले निश्चित रुपमा दसैँको मौका छोपेर यसरी बदमासी गर्ने व्यवसायीहरु निरुत्साहित हुने र आम जनताले ठगिनु नपर्ने अवस्था आउने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *