नेपालका कम्युनिस्टहरु न कछुवाको चालमा न खरायोको चालमा हिँड्ने गरेका छन् । उनीहरु नामले मात्र कम्युनिस्ट भनेर चिनिन्छ भने कामले घोर दक्षिणपन्थी देखिने गरेका छन् । उदाहरणका लागि हाल नेपालको संघीय सत्ता चलाएर बसेका नेकपाको नीतिहरुलाई केलाउँदा सबै पुँजीवादी नीतिहरु छन् । नेकपाका नेताहरु पुँजीवादी विकासबाट निकै प्रभावित भएको देखिन्छ त्यसैले उनीहरु नेपाललाई सिंगापुर बनाउने प्रण नेपाली जनताको सामु बारम्बार गर्दै आएका छन् । उनीहरु विदेशी मुलुकमा बनेका व्यापारिक टावरहरुबाट निकै प्रभावित छन् । त्यसैले नेपालमा पनि पुरानो भूकम्पले ढालेको ऐतिहासिक धराहराको ठाउँमा नयाँ व्यापारिक टावर बनाउँदै छन् । नेपालभर कतै स्मारकहरु, कतै ढोकाहरु र कतै व्यापारिक टावरहरु बनाएर नेपालमा नेकपा सरकारले विकासको मुल फुटाउन खोजिरहेको देखिन्छ । नेपालका कम्युनिस्टहरुलाई उद्योगको एलर्जी छ भने आयात व्यापारको ठूलो भोक जागेको छ । त्यसैले आयात व्यापारमा जोड लगाएको लगाएकै छन् । नेकपा सरकारले अहिले घरजग्गाको किनबेच र कित्ता काटमा लगाएको बन्देज फुकुवा गरेका छन् भने असिमित संख्या र मात्रामा महँगा गाडीहरु र रक्सीहरु नेपालका व्यापारीहरुले आयात गर्न पाउने भएका छन् । नेपालको अर्थतन्त्रमा आयात व्यापारबाट उठ्ने राजस्वको योगदानको अनुपात अत्याधिक भएको हुँदा आयात व्यापार कम हुँदा नेपालको भन्सारबाट पूर्वमा उठ्ने गरेको भन्सार राजस्व च्याप्पै सुक्ने अवस्थामा पुगेकाले नेकपा सरकार आत्तिएर विदेशी मुलुकहरुलाई ज्यादा फाइदा हुने बिलासिताको सामग्री आयातमा गरेको कटौती हटाएको हो । नेकपाका नेताहरुलाई उद्योगदेखि एलर्जी भएको हुँदा नेपालमा उद्योग धन्दा खोलेर चलाउनेमा भन्दा पनि विदेशी मुलुकहरुमा तयारी गरिएका बिलासिताका सामग्रीहरु आयात गरी काम चलाउनमा ज्यादा जोड लगाएका छन् । उद्योग खोलेर चलाउँदा अनेक लफडाहरु आइलाग्ने हुँदा त्यस्तो लफडामा लाग्नुभन्दा अरुले उत्पादन गरी आपूर्ति गर्ने वस्तु वा सामग्रीहरु उपयोग गर्दा कमिसनसमेत खान पाइने हुँदा नेकपाका नेताहरुको जोड आयात व्यापारमा नै छ । उद्योग खोलेपछि उत्पादन गरिएको वस्तु वा सामग्रीहरुको गुणस्तरदेखि लिएर निकासी र मजदुरहरुको समस्या पनि बढ्ने भएको हुँदा नेकपाका नेताहरुका लागि उद्योगको एलर्जी भएको हो । नेपालको उद्योगहरुमा काम गर्ने मजदुरहरुको समस्या चर्काउनेहरु पनि नेकपाका नेताहरु नै हुन्, त्यसैले अहिले आफैँ सत्तामा भएको बेला नयाँ उत्पादन उद्योगहरु खोली आफैँ समस्यामा पर्न रुचाएका छैनन् । पुँजीवादीहरुका लागि धनशक्ति र जनशक्ति दुवै प्रिय छन् । नेपालको धनशक्ति नभए पनि सस्तो जनशक्ति पर्याप्त छन् त्यसैले विदेशी मुलुकका पुँजीवादीहरुले नेपालको जनशक्ति उपयोग गर्नमा आफ्नो ध्यान केन्द्रित गरेका हुन् । नेकपाका कम्युनिस्ट नेताहरु उनै विदेशी पुँजीवादीहरुको प्रभावमा परेकाले नेपालमै उत्पादन उद्योगहरु खोली रोजगारी बढाउनुभन्दा पनि वैदेशिक रोजगारी नीतिबाट नै नेपालको बेरोजगारी समस्याको समाधान निकाल्न राष्ट्रिय स्तरमा नै संरचनाहरु खोलेर लागिपरेका छन् । कम्युनिस्टहरुको केन्द्रिकृत समाजबादी अर्थतन्त्र नेपालका कम्युनिस्टहरुले अपनाएको छैन । ठूला उत्पादन उद्योगहरुको स्थापना गरी सहकार्यमा चलाएर आमजनतालाई रोजगारी दिने र राष्ट्रिय उद्योगको जग बसाल्ने अभियानमा नेकपा सरकार चुकेको चुकेकै छ । सामाजिक न्यायको कुरा नेकपाले बेलाबेलामा गरेको भए पनि समाजकै हित गर्ने उद्योग विकासमा नेकपाको ध्यान छैन । त्यसैले नेपालका कम्युनिस्टहरु अहिलेसम्म पुँजीवादीहरुको नीति बोक्ने भरिया मात्रै बन्दै बसेका छन् । नेकपाका नेताहरु पुँजीवादी बजार अर्थतन्त्रको विकासको पक्षमा लागेको हग्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै हो । चिल बनेर नेपालको आकासमा उडान भरेका नेपालका कम्युनिस्ट नेताहरु यतिबेला पुँजीवादीका पाल्तु गिद्धझैँ बनेका छन् । सामान्य मानवीय संवेदना पनि गुमाइसकेको हुँदा कौवाझैँ जता पनि पाइन थालेका छन् र आफ्नो मुलुकको मोहरलाई लत्याएर अन्य मुलुकको फोहरबाट पेट भर्न हरहमेसा तत्पर हुन्छन् । पुँजीवादी आर्थिक व्यवस्थामा कमिसन खाने र खुवाउने अनि अयोग्यलाई चलखेल गरी योग्य बनाउनेजस्ता खेल खेल्न नेकपाका नेताहरु पारंगत भएका छन् । यस्तै ९ अर्बको कमिसनको खेल नेकपाका शीर्ष नेताहरुले राष्ट्रिय महत्वका परियोजना भनी न्वारान गरेका उच्च जलासाययुक्त बूढीगण्डकी जलविद्युत् परियोजनामा गरेको कुरा हालै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नै सार्वजनिक गरेका छन् । यसलाई नेपालमा पुँजीवादी बजार अर्थतन्त्रले गरेको कमालको संस्कारको विकास नै मान्नु पर्छ । नेकपा नेताहरु अहिले कमिसन खानकै लागि नेपालको विकास र समृद्धिसित कतैबाट पनि नजोडिएका बोगस परियोजनाहरु बनाउन तँछाड मछाड गरी लागेका छन् । एउटै नेकपाको शीर्ष नेताका पछाडि अनेकौँ विदेशीका एजेन्टहरु र तिनका नेपाली उपएजेन्टहरु घेराबन्दी लगाएर बसेका छन् । जसरी मह पिउने लोभमा परी मौरीहरु महमा नै डुबेर मर्ने गर्दछन्, त्यसरी नै नेकपाका लोभी नेताहरु कमिसनको लोभमा कमिसनको झोलमा डुबेर मर्नेवाला छन् । समय वा कालको चक्र बढो बलवान् हुन्छ । त्यसैले सत्तामा भएका बखत आफ्नो होइन, जनताको कल्याण गर्ने काममा नेकपाका नेताहरुले ध्यान दिनु पर्छ । रुखले आफैँ खानको लागि कहिले फलहरु फलाउँदैन । रुखले फल अन्य प्राणीहरुलाई खुवाउनका निमित्त फलाउने गर्दछ । राजनीतिक दलहरु पनि रुखजस्तै भएर नेपाली जनताका लागि सेवा फलाउन सके मात्रै दिगो बनेर लामो चल्न सक्छ अन्यथा आफ्नै लालचको सिकार आफैँ बन्दै जाने छन् । नदीहरु पनि अरुका लागि निरन्तर बहने गर्दछ र बिनाभेद्भाव सबैको तिर्खा मेटाउने काम गर्दछन् । दलहरुले पनि नदीजस्तै बग्नु पर्छ र बिनाभेद्भाव सबै नेपाली जनताको तिर्खा मेटाएर सबैलाई सुखी बनाउन कोसिस गर्दा राम्रो हुन्छ । पद र शक्तिमा बसेका नेकपाका नेताहरुले आफ्नो होइन, नेपाली जनताको आर्थिक उन्नति गर्नका लागि हमेसा प्रयास गर्नु लोक कल्याणकारी हुन्छ । लोभ लालच कमिसन र भ्रष्टाचारबाट भएको कमाइ एसिडजस्तै हुन्छ । एसिडले जुन भाँडोमा राख्यो त्यसै भाँडोलाई प्वाल पार्ने काम गर्छ । त्यस्तैगरी असत्यको बाटो अपनाई आर्जन गरेको धनदौलतले पनि कमिसनखोर नेताहरु र उनको परिवारलाई नै पिरोल्ने छ । अहिले नेपालको राजनीतिमा लागेका नेताहरुको ध्यानै पद र शक्ति पाएपछि जसरी पनि अकुत धन दौलत जोड्नेमा केन्द्रित छन् । चुनावमा मतदातासित झुटो बोल्ने, उसलाई धम्काएर वा तर्साएर बिनाडर त्रास भोट हाल्न नदिने र भोज भत्तेर गरी पैसा बाँडेर मतदाताहरुलाई आफ्नो पक्षमा पार्ने एवं बल प्रयोग गरी चुनाव बुथ नै कब्जा गर्नेजस्ता अनैतिक बाटाहरु अपनाएर नेताहरुले चुनाव जितेका हुन्छन् । त्यहि चुनावमा गरेको लगानी उठाउनका निमित्त नेताहरुले पद र शक्तिको दुरुपयोग गरी कमिसन खाने खेलमा लाग्ने हुँदा नेपालमा भ्रष्टाचार र अपराध काण्डहरुको शृंखला नै चलेका छन् । नेकपाका शीर्ष नेताहरुले भ्रष्टाचार र अपराधका काण्डहरु हुनबाट रोक्ने सार्वजनिक रुपमा नै बारम्बार प्रतिबद्धता जनाएको भए तापनि त्यो सार्थक हुन सकेको छैन । उनीहरुको चुनावी प्रतिबद्धताहरु जस्तै यो पनि थप प्रतिबद्धताको रुपमा मात्रै सीमित हुँदै आएका छन् । नेपालमा कोरोना रोगजस्तै फैलिएर राष्ट्रकै लागि खतरा बनेको भ्रष्टाचार र बलात्कार एवं हत्याजस्ता जघन्य अपराधका शृंखलाहरुलाई रोक्न वा निस्तेज पार्न नेकपाका शीर्ष नेताहरु गम्भीर देखिरहेको छैन । यस्ता अमानवीय काण्डहरु लगातर राष्ट्रमा घट्दै रहेको भए पनि त्यसलाई रोक्न कतैबाट उचित प्रयास भएको छैन । नेपालका कम्युनिस्टहरुले पुँजीवादी नीतिहरु बोकेर हिँडेको आफैँमा पनि नमिल्ने कुरा हो । नेपाली जनताले कम्युनिस्टहरुलाई नै ५ वर्षका लागि नेपालको सत्ता हाँक्न भोट हालेका हुन् । तर सत्तामा पुगेकै दिनदेखि पुँजीवादीहरुको घोडा नेपालका कम्युनिस्टहरु भएका छन् । पुँजीवादबाट पनि राष्ट्रको विकास हुन्छ तर नेपालमा त्यस्तो केहि भएको छैन केवल राष्ट्रको विनास मात्रै बढ्दै गएको छ । कम्युनिस्टहरुले पुँजीवादी नीतिअनुसार हिँडेको हुँदा नेपालमा विकासको गति न कछुवा न खरायोको चालमा अगाडि बढेको छ । नेपाल जहिले पनि अल्पविकसित मुलुकमै सीमित गराउने प्रपञ्च रचेर नेकपाले विदेशीलाई खुसी पारेका छन् भने नेपाली जनतालाई भने धोका दिएका छन् । नेपाल कहिले विकाससील र कहिले विकसित मुलुक बन्ने हो भन्ने लक्ष लिएर सोही अनुसारको नेपालको विकासमा लगानी बढाएर नेकपा सरकार अगाडि बढ्न किन खुट्टा कमाएको हो ? नेपाली जनतालाई जानकारी चाहियो । नेपालको विकासलाई बढाउन र विनासलाई रोक्नका निमित्त नेकपा सरकार सत्यगुणी किसानझैँ हुनुपर्छ । किसानहरु आफ्ना लागि होइन, अरुका लागि जिउने गर्दछन् । उसले मेहनत गरी उत्पादन गरेको अनाजले अरुलाई जीवन दिन्छ । नेकपा सरकारले किसानलाई मामुली ठानी सबैलाई वैदेशिक रोजगारीमा पठाएकाले नेपालमा खेतबारी बाँझै रहेका छन् र जीवन दायिनी अन्नको गेडो उब्जाउन सकिएको छैन । नेपालमा सामान्य दाल, चामल पनि विदेशबाटै आयात गर्नु पर्ने जोखिमपूर्ण स्थिति उत्पन्न भएको छ । यसरी प्रत्यक्ष रुपमा नेपालमा अन्नबाली उत्पादन विनास भएका छन् भने अप्रत्यक्ष रुपमा नेपाल राष्ट्रकै विनास हुँदै छ । भन्नका लागि त नेपालमा राष्ट्रबादको कुरा गरी कहिले नथाक्ने नेकपा कै राज चलेको छ । नेकपा जनताको गाँस, बास र कपासकै कुरा गर्दागर्दा नेपाली जनताको भोट पाएर सत्तारोहण भएका छन् । यस्तो नेकपा पार्टीले पुँजीवादी बाटोमा हिँडेर एकातिर नेपाली जनतालाई धोका दिएका छन् भने अर्कोतरि खेतबारी बाँझै बनाएर राष्ट्रकै विनास गरेका छन् । समय कालले पहिले परीक्षा लिन्छ, त्यसपछि सिकाउँछ त्यसैले नेपालका कम्युनिस्टहरुले विगतदेखि आफूले गर्दै आएको गल्तीहरुबाट सिको लिएर सच्चिनु पर्छ । जीवन वा देश विकासको परीक्षा स्कुल÷ कलेजको परीक्षाजस्तो हुँदैन जहाँ प्रश्न पत्रहरु हुन्छन् र एकैखाले प्रश्नहरु दोहरिन्छन् । जीबन वा देश विकासका पश्नहरु सबैका लागि बेग्लाबेग्लै हुन्छ, त्यसैले नक्कल गरी पास हुन सकिँदैन । नेपाल राष्ट्रको विकासको पश्न पनि मौलिक छन् त्यसैले अरु राष्ट्रको नक्कल गर्न खोजेमा वा विदेशीले देखाएको बाटोमा आँखा चिम्लेर हिँडेमा एकदिन भड्खालोमा परिन्छ र त्यो दिन राष्ट्रलाई जोगाउन सकिने छैन ।