लेजरथेरापीले अन्य उपचार भन्दा २०० गुणले छिटो प्रतिफल दिन्छ

Uncategorized

लेजरथेरापी फिजियोथेरापीअन्तर्गत पर्ने लाइटथेरापी हो । शरीरका विभिन्न अंगमा हुने दुखाइको उपचारका लागि यो थेरापी उपयोगी हुन्छ । दुर्घटना वा विभिन्न रोगका कारण बिग्रेको कोषिकालाई विकिरणको माध्यमद्वारा पुनर्जीवन दिन यो थेरापी महत्वपूर्ण मानिन्छ । शल्यक्रियाबिना जटिल समस्याको उपचार सजिलै गर्न सकिने भएकाले लेजर थेरापीको प्रयोग र प्रभावकारिता बढ्दो रहेको डा.सुशीला वैद्य बताउनु हुन्छ । प्रस्तुत छ, लेजर थेरापीका प्रयोग क्षेत्र, उपयोगितालगायत विषयमा तामाकोशी सन्देश साप्ताहिकका सम्पादक रामचन्द्र बस्नेतले डा. वैद्यसँग गरेको कुराकानीको सारः
डा.सॉप, लेजर थेरापी भनेको के हो ?
लेजर भनेको एक प्रकारको विकिरण हो । विकिरणबाट उपचार गरिने चाहिँ लेजर थेरापी उपचार हो । यो प्रविधि अल्बर्ट आइन्सटाइनले विकास गरेका हुन् । बिग्रेको कोषिकाहरूलाई पुनर्जीवन दिन लेजर उपचार पद्धतिको प्रयोग गरिन्छ । लेजर उपचार विधिलाई हिलिङ थेरापीसमेत भनिन्छ । यसको प्रयोग मुख्यतः शरीरका विभिन्न भागमा हुने दुखाइ, जलन, नसा च्यापिएका, मांसपेशीमा भएको दुखाइ कम गर्न उपयोगी ठानिन्छ । यस विधिमा लेजर लाइटको खास प्रयोग हुन्छ जुन दुखाइयुक्त स्थानमा टार्गेट गरी उपकरणको माध्यमबाट प्रकाश पार्ने गरिन्छ । त्यसैले यसलाई टार्गेट पद्धतिसमेत भन्ने गरिन्छ । लेजर विकिरणले रोग लागेका अंगलाई सेकाएर उपचार गर्छ । त्यो विकिरण छालाको माध्यमबाट भित्री अंगसम्म पुगेर टिस्यू हिलिङको काम गर्छ जसले गर्दा रोगी अंग निको हुन्छ । यसमा कम शक्तिको विकिरणबाट सेकेर विभिन्न सैयौँ प्रकारका रोगहरुको उपचार गर्न सकिन्छ । यसको प्रयोगमा कुनै पनि साइड इफेक्ट हुँदैन । यो आयुर्वेदिक होमियोप्याथिक र एलोपेथिक उपचारसँगै एकै समयमा प्रयोग गर्न सकिन्छ । विकिरणको सेकाइबाट कोषिकालाई नयाँ जीवन दिन्छ । र, रोगलाई निको बनाउँछ । हामीकहाँ चाहिँ सुरुमै भन्दा पनि अरु ठाउँमा उपचार गरेर थाकेर आउने धेरै छन् । लेजर विकिरणबाट यस्ता बिरामी धेरै निको भएका छन् । ढाड दुखेर उठ्नै नसक्ने बिरामी पनि तेस्रो दिनमा नै बिस्तारै उठेर जाने गर्छन् । नयाँ दुखाइमा एक कोर्षले नै काम गर्छ भने का्रेनिक अर्थात् लामो समयदेखि दुखाइ भएका बिरामीलाई चाहिँ तीन चार कोर्ष दिन्छौँ । एक कोर्षमा १० दिन हुन्छ ।
लेजर थेरापीमा लेजर मेसिनबाट निस्केको विकिरणलाई धेरै गुणा बढाएर एकै ठाउँमा पर्ने गरी गहिराइसम्म सेक्ने काम गर्छ, जसले गर्दा दुखाइ कम हुन्छ । सुन्निएको ठीक हुन्छ । रक्तसञ्चालन सक्रिय गराई अंगको कोषिका र तन्तुलाई नयाँ जीवन दिन्छ र रोग बिस्तारै निको हुन्छ ।
लेजर थेरापीले निको पार्न सकिने मुख्य रोगहरू के के हुन् ?
छालासम्बन्धी रोग, हाडजोर्नी, मुटु, फोक्सो, पेट, आन्द्रा, नाक, कान, घाँटी र विभिन्न छालासम्बन्धी रोग यस विधिबाट निको पार्न सकिन्छ ।
लेजर थेरापीले कसरी काम गर्छ ?
लेजर थेरापीले विभिन्न कारणले खराब हुने पुगेको कोषिकालाई सक्रिय पार्दछ । यस थेरापीले कम रक्तसञ्चार भएको भए रक्तनली खोलिदिने, सुन्निएको अंग निको पार्ने आदि काम गर्छ ।
लेजर थेरापीका असर पनि छन् ?
६ सय नानामिटरदेखि ११ सयसम्मको डोजमा लेजर थेरापी गरिन्छ । लेजर विकिरण छालाको बाहिरी माध्यमबाट रोग लागेको अंगमा पठाएर यसको उपचार हुन्छ । यो थेरापी न्यून विकिरणमा गरिने भएकाले यसका अन्य असर छैनन् । रोग लागेको अंग चलाउने, हल्लाउने, बंग्याउने, काट्ने, थिच्ने, घोच्नेलगायत काम नगरी शरीरको बाहिरी भागबाट विकिरण पठाएर यसको उपचार गरिने भएकाले यो थेरापीले अन्य उपचार विधिभन्दा २ सय गुणा छिटो प्रतिफल दिन्छ ।
यो थेरापी कति सफल हुन्छ ?
यो थेरापी सुरु भएको ४० वर्ष भयो । यो अवधिमा यो थेरापीले अन्य कुनै असरबिना सबै उपचारमा राम्रो प्रतिफल दिएको छ । त्यसैले यो थेपारी सफल मानिएको छ ।
कुन अवस्थामा लेजर थेरापी गर्नुपर्छ ?
रोगको सुरुआती अवस्थामा यसको थेरापी बढी राम्रो हुन्छ । रोग, दुर्घटना वा अन्य जुनसुकै कारणले शरीरको कुनै पनि अंगमा घाउ हुनु, दुख्नु, सुन्निनु भनेको त्यो अंगमा भएको कोषिका बिग्रिनु हो । उक्त कोषिका पुनः सक्रिय हुन सफा हुनुपर्छ, भाइरस हट्नुपर्छ, घाउ पुरिनुपर्छ, त्यो कोषिकासम्म रक्तसञ्चार भई लवण पुग्नुपर्छ । जति चाँडो थेरापी ग¥यो, उति नै चाँडो कोष पुनः सक्रिय हुन्छ ।
अरू प्रविधि र यसमा के फरक छ ?
सबै खालका प्रविधिका आ–आफ्नै विशेषता छन् । प्रविधिमा जस्तो उपकरण प्रयोग ग¥यो त्यस्तै भिन्नता हुन्छ । आयुर्वेदिक अलग्गै, एलोपेथिक अलग्गै, होमियोप्याथिक अलग्गै, भएजस्तै लेजरको विकिरणबाट हुने भएकाले यो त झन् फरक छ । झण्डै ४० वर्षको अनुसन्धानपछि प्रमाणित भएर लेजर थेरापी आएको हो । यसले शरीरको कुनै पनि अंगलाई हानि गर्दैन भन्ने कुरा वैज्ञानिक रुपमा प्रमाणित भएको छ । यो फिजियोथेरापी अन्तर्गत नै पर्छ । फिजियोथेरापी अन्तर्गत जति पनि उपचारमा उपकरणहरुको प्रयोग हुन्छ सबैभन्दा बढी आधुनिक र उपयुक्त मान्न सकिन्छ । जसमा कुनै पनि तातो चिसो हुँदैन, यसको कुनै पनि साइड इफेक्ट छैन । कुनै पनि हानिकारक डोज हुँदैन । यसले हरेक सेल सद्धे बनाउने क्षमता राख्छ । सेल सामान्य हुनेबित्तिकै त्यहाँको रोग निको हुन्छ । मेसिनबाट दिइएको डोज पहिला नै निश्चित हुन्छ । एउटा अंग विशेषलाई त्यो डोज दिइन्छ जसले गर्दा त्यो अंग हिलिङ हुन्छ । यो बन्दा नै कोषीकालाई सक्रिय गराएर पुनः सामान्य अवस्थामा ल्याउन कति डोज चाइन्छ भन्ने अनुसन्धान गरिएको हो । कति गहिराइसम्म जाने र सेक्ने अनि कति गहिराइमा रहेको अंगको रोगलाई टार्गेट गर्ने पहिला नै फिक्स गरिएको हुन्छ । यसमा फिक्स गरेको डोज अनुसार सुपरफिसियल दिने, भित्रसम्म दिने भनेर बनाइएको हुन्छ भने त्यसमा पनि शरीरको हरेक अंगलाई मिलाएर डोज प्रोग्रामिङ गरिन्छ । त्यो डोज कहीँ पनि डाइभर्सन हुँदैन । लेजरको एकदमै राम्रो उपलब्धि र लक्ष्य भनेकै जति डोज मेसिनबाट दिइन्छ त्यत्ति डोज सेल्सले पाउन सक्छ । यो लेजर विकिरण मोनोक्रोमाटिक कोहरेन्ट हो । औषधिले अस्थायी रुपमा मात्रै उपचार गर्छ र यसको साइड इफेक्ट पनि हुन्छ । तर लेजर थेरापीको कुनै साइड इफेक्ट छैन । रोग हेरी पूर्ण डोज पुग्ने गरी उपचार गरिसकेपछि यसको इफेक्ट दिर्घकालिन रहन्छ ।
यो थेरापी कतिपटक र कति अन्तरालमा गर्नुपर्छ ?
रोगअनुसार यसको थेरापी फरक–फरक हुन्छ । नाक, कान, घाँटीमा हुने समस्या, नाक बन्द भएको, नाकमा मासु पलाएको, घाँटीको टन्सिल भएको, जिब्रो सुन्निएको, गिजा सुन्निएको आदि समस्या समाधानका लागि ५ दिनको थेरापी पनि पर्याप्त हुन्छ । छालामा भएको घाउलगायततको उपचारका लागि १० दिन र बाथ, घुँडा खिइएको, जोर्नी खिइएको, नशा च्यापिएको, पक्षाघात आदि रोगका लागि सोभन्दा केही दिन बढी यो थेरापी गर्नुपर्ने हुन्छ । पुरानो रोगको उपचारका लागि यो थेरापी गर्न लाग्ने समय तुलनात्मक रूपमा बढी हुन्छ ।
कुन उमेरका व्यक्तिमा यो थेरापी गर्न सकिन्छ ?
यो थेरापी गर्न उमेरको बन्देज छैन । भर्खरै जन्मिएका बच्चादेखि वृद्धसमेतलाई यो थेरापी गर्न सकिन्छ । जन्मिँदै हातगोडा नचल्ने, असामान्य अवस्थामा जन्मिएका बच्चामा पनि यो थेरापी गर्न सकिन्छ ।
कुन अवस्थामा लेजर थेरापी गर्नु हु“दैन ?
आँखा र आँखा नजिकका अंगमा लेजर थेरापी गर्नुहुँदैन । यस्तै गर्भावस्थाका महिलाका साथै रक्तअल्पता र क्यान्सरका बिरामीले पनि यो थेरापी गर्नु हुँदैन ।
नेपालमा लेजर थेरापीको प्रयोग अवस्था कस्तो छ ?
नेपालमा अन्य विकसित देशमा जस्तै आधुनिक लेजर थेरापी मेसिन उपलब्ध छ । देशभर सबै ठाउँमा यो थेरापी सहजै पाउने अवस्था भने छैन ।
यो थेरापी कत्तिको मह“गो छ ?
आर्थिक रूपमा यो एकदमै सस्तो छ । जुन अरु उपचार विधि हुने ठाउँमा लिइने शुल्कभन्दा निकै सस्तो छ । किनकि, बिरामी आफैँले त्यो भोगेका छन् । एउटा अकुपंचर गर्दा एक दिनको हजारभन्दा माथि तिर्नु परेको बताउँछन् । तर लेजर थेरापीमा आधा घन्टामा एउटा व्यक्तिलाई विभिन्न उपकरण प्रयोग गरेर उपचार गरेको ६ सय रूपैयाँभन्दा बढी लाग्दैन । अन्य उपचार विधि प्रयोग गर्नुप¥यो भने केही थप खर्च लाग्छ तर मुख्य लेजर थेरापी गर्दा दिनको चार सय मात्रै हो । समग्रमा लेजर थेरापीको उपचार, नतीजा आदि हेर्दा यो निकै सस्तो छ ।
नेपालमा यसको प्रयोग कस्तो छ ?
नेपालमा यसको प्रयोग दिनहुँ बढ्ने क्रममा रहेको छ । बिरामीहरुले यसको उपयोगबारे बुझ्दै गएका छन् । अहिले यसको व्यापकता बढ्दै गएको छ । सबैभन्दा बढी अन्त निको नभएका बिरामीहरु यहाँ आउने चलन छ । जति ठाउँमा गए तर उपाय लागेन अनि कसैले यहाँ जान भन्दियो भने आउनेहरू पनि छन् । अहिले यसलाई नयाँ आसाको रुपमा लिने गरेका छन् । म काहिँबाट पनि निको भइनँ भने लेजर थेरापीबाट निको हुन्छु भनेरसमेत लिन थालेका छन् । कुनै पनि रोगको सुरुको स्टेजमा औषधि खाँदाखाँदै पनि लेजर थेरापी गर्न सकिन्छ । वर्षौँ औषधि खाएर उपाय नलागेर खुट्टा बांगो, हात माथि नजाने, ढाँडमा नशा च्यापिएर खुट्टा एकदमै लुलो, जिउ नतान्ने हिँड्न नसक्ने, जिउ हल्लिने खुट्टा पोल्ने भएपछि यसले केही समय लिन्छ । तर यो पनि निको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *