गोवा भ्रमण संस्मरण

लेख

विगतका भ्रमण वा यात्राहरुलाई स्मरण गर्ने क्रममा यसपटक भारत भ्रमणलाई सम्झने कोसिस गरिएको छ । वन क्षेत्रमा क्रियाशिल सहजकर्ताहरुको संस्था कफ्सन नेपालको राष्ट्रिय कार्यसमितिको टिम र एकाघरका परिवारसहितको भ्रमणको चाँजोपाँचो मिलाइएको थियो । कफ्सन नेपालको राष्ट्रिय कार्यसमितिको बैठक नै भारतको गोवा बस्ने प्रबन्ध मिलाइएको थियो । सो एक हप्ताभन्दा पनि लामो भ्रमणको क्रममा भारतका धेरै स्थान भ्रमण गर्ने कोसिस गरिएको थियो । अबका केही शृंखलामा सोही भ्रमणका विविध पक्षहरुको चर्चा गरिएको छ । पहिलो शृंखलामा नेपालबाट गोरखपुरसम्मको यात्रा, त्यसपछि रेल यात्राका बारेमा उल्लेख गरिएको छ ।
भ्रमणको सोच
वि.सं. २०७३मा कफ्सन नेपालका तेस्रो कार्यकालको अन्तिम वर्ष पनि भएकाले टिमलाई थप मजबुत बनाउन र स्मरणीय बनाउन पनि हामी सबै चाहन्थ्यौँ । राष्ट्रिय कार्यसमितिको एक बैठकमा तत्कालिन उपाध्यक्ष सरोज पाण्डेले कार्यसमितिको टिम नै भ्रमण जाने प्रसंग उठाउनु भयो । सकेसम्म नेपाल बाहिर जानेकुरालाई प्राथमिकता राखी छलफल भयो । कार्यसमितिले चासोपूर्वक लिई यसको तारताम्य मिलाउन स्थायी समितिलाई म्यान्डेट दियो । संस्था र सम्बन्धी व्यक्ति आर्थिक भार नपर्ने गरी भ्रमणको व्यवस्था मिलाउन सकिने सल्लाह भयो । सो भ्रमणका राष्ट्रिय कार्यसमितिको बैठक कै रुप लिई सबै सहभागी हुने प्रतिबद्धतासमेत जाहेर भयो । भ्रमण गर्दाको एक उपयुक्त स्थानमा राष्ट्रिय कार्यसमितिको बैठकसमेत बस्ने निर्णय भएको थियो । सकेसम्म भ्रमण भारतको पर्यटकीय क्षेत्र र समुन्द्रका् छेउसम्म पुग्ने गरी व्यवस्थापन गर्ने सल्लाह भयो । यसका लागि एक स्थान गोवा हुने सल्लाह भयो ।
कार्यसमितिको निर्णय कार्यान्वयन गर्ने सम्बन्धी सचिवालय वा स्थायी समितिको जिम्मेवारी भित्र पर्दछ । सोही अनुसार स्रोतको व्यवस्थापन र भ्रमणका क्षेत्रहरु पहिचान गर्न लागियो । गोवा जाने र गोवा नै कार्यसमितिको बैठकसमेत बस्ने गरी कार्यतालिका बनाइयो ।
यात्राको तयारी र सुरुवात
करिब एक महिना अघिदेखि व्यवस्थापनका लागि संस्थाका तत्कालिन उपाध्यक्ष सरोजकुमार पाण्डे र तत्कालिन कोषाध्यक्ष बिना श्रेष्ठ लागि रहनुभयो । काठमाडांैबाट नै रेलको टिकट प्रबन्ध गरिएको थियो । राष्ट्रिय कार्यसमितिका सबैलाई सहभागिताका लागि अनुरोध गरिएको थियो । अन्तिम समयसम्म अर्थात् रेलको टिकट निश्चित गर्ने बेलासम्म जम्मा १३ जनाले समय व्यवस्थापन गर्न सक्नु भयो । त्यसैगरी सम्बन्धित व्यक्तिकै सम्पूर्ण खर्चमा आफ्नै एकाघरको सदस्य श्रीमान् वा श्रीमती र छोराछोरी लैजान सकिने व्यवस्था गरिएको थियो । सो अनुसार केहीले लैजाने जानकारी गराई टिकटका लागि रकम पनि बुझाइसक्नु भएको थियो । कार्यसमितिका जम्मा १३ जनाका लागि टिकटको व्यवस्था गरिए पनि अन्तिम क्षणमा आएर २ जना सदस्य जनाको अति जरुरी काम परेर जान सक्नु भएन । रेलको टिकट रद्द नै गराउनु परेको थियो ।
हाम्रो यात्रा भैरहवाको सुनौली नाकाबाट प्रवेश गरी गोरखपुर जाने त्यहाँबाट रेलको यात्राबाट मुम्बई पुग्ने अनि गोवा जाने थियो । त्यसैगरी, गोवामा बैठक सम्पन्न गरी घुमघामपश्चात रेलबाटै नयाँ दिल्ली आउने घुम्ने अनि रेलबाटै गोरखपुर फर्कने कार्यक्रम निर्धारण गरिएको थियो । यो रेलयात्राका लागि प्रतिव्यक्ति नेपाली रु. ६ हजार ४ सय को टिकट व्यवस्था भएको थियो । टिकट रद्ध गर्नु पर्दा २ दिनअघि नै गर्नु पर्ने र सो बापतको प्रतिव्यक्ति रु. १ हजार ५ सय कटाउने रहेछ । १० वर्षमुनीको केटाकेटीका लागि टिकट शुल्कमा केही छुट पाइयो । यो भ्रमणमा लागि कफ्सन नेपालका राष्ट्रिय कार्यसमितिका लागि मात्र रेलको टिकट र लज खर्च संस्थाले व्यहोर्ने निर्णय भएको थियो । खाने तथा अन्य खर्च सम्बन्धित व्यक्तिले व्यवस्था गर्नु पर्ने निर्णय थियो । कार्यसमितिका एकाघरका सदस्यको निम्ति सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिले नै बेहोर्ने निर्णय भएको थियो ।
कफ्सन नेपालको उपलब्ध ११ जना पदाधिकारी र केही पदाधिकारीका परिवारसहित गरी २० जनाको हाम्रो टोली १९ चैत ०७३ बिहानै जुट्यौँ । १८ गतेका दिन कफ्सन नेपालको कार्यालयमा नै एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेकाले सबैलाई जुट्न पनि सजिलो भएको थियो । बिहानै २ वटा स–साना गाडीमा सुनौली नाकातिर लागेका थियौँ । त्यो समयमा मुग्लिङदेखि नारायणगढसम्मको बाटो विस्तारको काम चलिरहेकोले बिहान १० बजेदेखि ४ बजेसम्म गाडी चलाउन पाइँदो रहेनछ । त्यही भएर हामी बिहान ४ बजे नै काठमाडौंबाट हिँडी १० बजेभित्र मुग्लिङ कटिसक्ने गरी चाँजोपाँचो मिलाएका थियौँ ।
भ्रमण टोलीका सदस्यहरु
हाम्रो टोलीका सबै सदस्य काठमाडौंमा नै जम्मा भएका थियौँ । हुन त हाम्रो टोली सदस्यहरु विभिन्न जिल्लाका थियौँ तथापि हामी सबै अघिल्लो दिनमा नै काठमाडौंमा जम्मा भइसकेका थियौँ । हाम्रो टोलीमा कफ्सन नेपालका अध्यक्ष भोला खतिवडा, उपाध्यक्ष सरोजकुमार पाण्डे, महासचिव अजयविक्रम मानन्धर, कोषाध्यक्ष बिना श्रेष्ठ सदस्यहरु छिन्डुप मेनाक्पा भोटे, सुनिता श्रेष्ठ, राजेन्द्र खड्का, ज्ञानबहादुर खड्का, लोकराज गिरी, गायत्री आचार्य र अनुगमन समितिको संयोजक गणेश पौडेल सामेल थियौँ । त्यसैगरी, अन्य पारिवारिक सदस्यमा अनिता खतिवडा, प्रकृती खतिवडा, प्रत्यूष खतिवडा, साश्वत पाण्डे, अनिता मानन्धर, अमृता मानन्धर, अनुज मानन्धर, हरिकृष्ण श्रेष्ठ, हविज श्रेष्ठ गरी २० जनाको टोली थियो ।
पहिलो गाँसमा नै ढुंगा
हाम्रो २ वटा गाडीका टोलीहरु सँगसँगै गयौँ । नेपालको पूर्व पश्चिमको बीचमा पर्ने नवलपरासीको मध्यविन्दु भन्ने स्थानमा ओर्लिएर फोटो खिच्यौँ । रमाइलो गर्दै हाम्रो टोली दिउँसो ३ बजेतिर सुनौली नाका पुग्यो । त्यहाँ सार्वजनिक बसमा गोरखपुर गयौँ । करिब सय किलोमिटरको दूरीका लागि बसले भारतीय रुपैयाँ १०२ भाडा लियो । अन्य प्राइभेट सवारीसाधनहरु पनि पाइन्छन् तर महँगो । भारतमा बस तथा ट्रेन सेवा सरकारी हुने गर्दछन् । झन्डै ३ घन्टाको बस यात्रा पछि हामी गोरखपुर पुग्यौँ । गोरखपुरमा खाना खाएर रेल स्टेसनतिर लाग्यौँ । खाना खाने बेलामा हामी ठगिएको महसुस भयो । भारत भ्रमणको पहिलो गाँसमा ढुंगा परेकोजस्तो भयो । बासी र नमिठो खाना भागमा आइलाग्यो । भारतभर यस्तो मात्र खान पाइन्छ कि क्या हो भन्ने चिन्ता लागिरह्यो ।
गोरखपुरबाट हाम्रो रेल यात्रा ९ बजे राति सुरु हुने थियो । हाम्रो टोलीमध्ये धेरैका लागि रेलको यात्रा पहिलोपटक थियो । हामीसँग ६ जना केटाकेटीहरु थिए । उनीहरुका लागि त झन् सबै कुरा कौतुहलताको विषय हुने नै भयो । निर्धारित समयभन्दा केही ढिलो गरी रेलले आफ्नो गति लियो । केही समय त सबैलाई रमाइलो नै भयो तर यो रेलमा हामीले ३२ घन्टा गुजार्नु थियो । रेलभित्र नै खाने कुराहरु किन्न पाइँदोरहेछ । गर्मीको समय भएकाले पानी चाहि अत्याधिक चाहिने । हामी बसेको डिम्बा नै गीत गाउने नाच्ने गरेर समय बितायौँ । समय बिताउन ताससमेत खेल्यौँ ।
३४ घन्टा जतिको रेल यात्रा गर्दै निर्धारित समयभन्दा केही ढिलो हामी बम्बई सहर पुग्यौँ । बम्बई भन्नासाथ हाम्रो दिमागमा चेलीबेटी बेचबिखन र कोठी भन्ने सम्झन पुग्छौँ । अहिले यो सहरलाई मुम्बई भनिने गरिन्छ । यस सहर सिनेमाको सहर भनेर पनि चिन्ने गरिन्छ । यस सहरमा घुम्नका लागि हामीसँग केही घन्टा समय थियो । क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *