नेकपा भित्रको किचलोले संसद बिघटन

लेख

सौताको रिसले पोईको नाक काट्ने भनेको जस्तै घटना अहिले नेपालको राजनीतिमा भएको छ । नेकपा भित्र चलेको लामो विवादको समाधान निकाल्न नसकेपछि प्रधानमंत्री ओली ज्यूले आफ्नो कठपुतली संमाननीय राष्ट्रपति विद्या देवी भण्डारी ज्यूको सहयोग लिएर संसद नै विघटन गरिदिएका छन । संसदको कार्यकाल अझ २ बर्ष बाँकी नै छ र यहि संसदको चुनावबाट नेकपाको सरकारलाई दुईतिहाई बहुमत पनि प्राप्त भएको हो । विगत लामो समय सम्म कुनैपनि राजनीतिक दलले पूर्ण बहुमत नपाउँदा नयाँ नयाँ सरकारहरु बन्ने र ढल्ने क्रम जारी रह्यो । त्यसबाट नेपाली जनता लगातार पीडित हुँदा नेपालको राजनीतिक प्रणाली देखि नै नेपाली जनता दिग्दार हुँदै गएका थिए । त्यसैले गत आम चुनावमा स्थिर सरकार बनाउने नेपाली जनताको चाहाना बढेकाले गर्दा नेकपालाई भोट हालेर दुईतिहाई बहुमत दिएका थिए । तर कुकुरलाई घीउ नपचेको जस्तो आफ्नै दुईतिहाई बहुमत भएको संसद नेकपा कै प्रधानमंत्री ओली ज्यूले बिघटन गरिदिएकाले नेपालमा तहल्का मचेको छ र संसारकै राजनीतिका पण्डितहरु चकित भएका छन । अखिर प्रधानमंत्री ओली ज्यूलाई के कुराले बाध्य पार्दा यस्तो आफ्नै खुट्टामा आफैले बन्चरो हान्ने सम्मको मुर्खता गर्न पनि बाँकी राखेन । अहिले नेपालमा प्रधानमंत्री ओली ज्यूको कुकर्मले गर्दा नेपाली जनता पनि चकित भएका छन भने नेपालका सबै राजनीतिक दलहरु आन्दोलित भएका छन । नयाँ चुनाव हुने मितिको घोषणा गर्दा पनि नेपाली जनता र नेपालका राजनीतिक दलहरुलाई खुसी तुल्याउन सकेको छैन । लोकतन्त्रमा चुनाव महत्वपूर्ण कार्य हो त्यसैले चुनाव गर्ने घोषणा हुँदा सबै खुसी हुनुपर्नेमा त्यसो भएन उल्टै विघटन भएको संसदलाई व्युझाउन नेपाली जनता र नेपालका राजनीतिक दलहरु सडकमा आन्दोलनहरु गर्दै छन भने सर्वोच्च अदालतमा संसद बिघटन गैरकानुनी भएको भन्दै रिटनिवेदनहरु दर्ता गराएका छन । नेपालको न्यायपालिका माथि नेपाली जनताको कमै भरोसा भएको हुँदा रिटनिवेदन दिनको साथसाथै सडकमा आन्दोलनहरु पनि चलाएका छन । पूर्व एमाले र माओवादी केन्द्रको एकता गरी लोकप्रिय राजनीतिक दल नेकपा बनाउन सफल भएका प्रधानमत्री ओली ज्यूकै नेतृत्वमा उक्त दलले गत आम चुनावमा अभुतपूर्व विजय पाउन सफल भएको थियो । फलस्वरुप नेपालको राजनीतिक इतिहासमा पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीलाई दुईतिहाई बहुमत लिएर बलियो र स्थिर सरकार बनाउने सुनौलो मौका प्राप्त हुँदा उहाँ कै नेतृत्वमा कम्युनिष्टहरुको नेपाल सरकार बनेको थियो । अहिले उक्त संसदको दुईबर्षे कार्यकाल बाँकी हुँदानै उहाँले नै संसद बिघटन गरेकाले एकाएक हिरोबाट जिरो भएका छन । यतिबेला प्रधानमंत्री ओली र राष्ट्रपति विद्य देवी भण्डारीलाई नेपाली जनताले राष्ट्रकै दुष्मन ठानेका छन र यदि संसद भंग गर्ने उहाँहरुको निर्णयलाई सर्वोच्चवाट खारेज भएमा नेपाली जनता प्रधानमंत्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने सम्मको सोच बनाएर आन्दोलन गरी सडक तताएका छन भने रिटनिवेदनको चाङै बोकेर अन्धो न्यायपालिकाको ढोका ढकढकाएका छन । नयाँ चुनाव गराउँछु भन्दा यसरी नेपाली जनता रिसाउनु पर्ने कारण के हो भन्ने कौतुहल सबैलाई भएको छ । नेपाल भित्र र बाहिर तहल्का नै मचिएको छ । उत्तरको क्षिमेकी देश चीनले नेकपा पार्टी भित्रको एकता कायम राख्नको लागि पहिले देखि नै निकै मेहनत गर्दै आएको छ भने हाल उत्पन्न संकटको समाधान निकाल्नका लागि चीनिया कम्युनिष्ट पार्टीबाट चार जनातको टोलीनै नेपाल आएका छन । चीनले नेपालका कम्युनिष्टहरुका विच एकता कायम राख्न चाहेको छ त्यसैले कुनै एक नेतालाई च्यापेर नेपालको राजनीतिमा हस्तक्षेप मात्रै गर्ने नीति लिएको छैन । चीनको यहि नीतिले गर्दा प्रधानमंत्री ओली रुष्ठ भएर दक्षिणको क्षिमेकी भारत तिर ढल्केको अनुमान नेपालका राजनीतिका पण्डितहरुले लगाएका छन । सत्यता जेसुकै भए पनि चीनले नेपालको राजनीतिमा अमेरिका लगाएत बिदेशी मुलुकहरुको प्रभाव बढेर नेपाल पनि अफगानिस्तान जस्तो बनोस भन्ने चाहेको छैन । आफ्नो मुलुक भोटको सुरक्षाको लागि नेपालको राजनीति स्थिर होस भन्ने चाहाना चीनले राखेको हुँदा नेपालको बिकासमा पनि चीनले लगातार सहयोग गर्दै आएको छ । भारतको पनि नेपाल प्रति कुनै दुराग्रह छैन तर घनिष्ट सम्बन्धमा बाँधिएको क्षिमेकी भएको हुँदा व्यवाहरिक खटपटहरु भने धेरै छन । अहिले नेपालको राजनीतिमा आएको भूकम्प बिदेशीको हस्तक्षेपबाट नभएर नेपालको आफ्नै आन्तरिक कारणले नै हो । नेपाली जनताले नेपालको राजनीतिक गतिविधिहरु सामान्य अवस्थामा नै चलोस भन्ने चाहेका छन । पार्टी भित्रको द्वन्द्वले दुईबर्ष नै कार्यकाल भएको संसद विधटन गर्ने प्रधानमंत्री ओली र स्वीकृत गर्ने राष्ट्रपति भण्डारीलाई नेपाली जनताले राष्ट्रकै खलनायक सम्झेका छन । नेपाली जनता क्रुद्ध भएर न्याय र आन्दोलनको मार्गमा लागेका छन र वर्तमान संसदलाई कायम गरी त्यसै मार्फत खलनायकहरु माथि सशक्त कार्यबाही गर्ने लक्ष लिएका छन । दुई ठुला कम्युनिष्ट पार्टीहरुका विच एकता गरी आम चुनावको सक्रिय नेतृत्व गर्दै चुनावमा अभुतपूर्व जित हाँसिल गरी नाम कमाएका प्रधानमंत्री ओली ज्यूले एकासी यस्तो निर्णय लिएकाले नेपाली जनता दुस्खी भएका छन । प्रधानमंत्री ओली ज्यूको समकालिन सहयोद्धा राघाकृष्ण मैनाली ज्यूले उहाँको मनोविज्ञानको बारेमा प्रकाशित गर्नुभएको लेखहरु र हिमालय टिभी च्यानेलबाट प्रसारित कार्यक्रम हार्ड टक मार्फत निकै जानकारीमा आएको छ । प्रकाशमा आएको जनाकारी अनुसार प्रधानमंत्री ओली राम्रो संगठन कर्ता होइन भन्ने पत्तो लागेको छ । साथै उहाँको स्वभाव अनुसार चल्न नसक्ने र नचल्नेहरु माथि उल्टै झन उग्रभएर खनिने गरेको बताएका छन । एक प्रकारले प्रधानमंत्री ओली ज्यू बाबुआमाले तह लगाउन नसक्दा उदण्ड स्वभाव भएको बिग्रेको बालक जस्तै व्यवहार पहिले देखिनै राजनीतिमा पनि देखाउने गरेको पोल खुलेको छ । प्रधानमंत्री ओली ज्यूको उदण्ड स्वभावको सिकार अहिले नेपालको राजनीति बनेको छ र त्यसलाई सच्याउन सबै लागि परेका छन भने उहाँको स्वयम भने झणझन उदण्ड बन्दै गएको छ । आफुले गरेको कर्म सही हो कि गलत भनी खुट्याउन तिर नलागी उदण्ड बालक झै झन ठुलोठुलो स्वर गरी आफ्नो गल्तीहरु बढाउन अहिले प्रधानमंत्री ओली ज्यू ज्यान फालेर लाग्नु भएको देखिन्छ । यतिबेला उहाँले घोषणा गर्नु भएको मध्यावधी चुनाव हुन सक्छ भनी कसैले पनि बिश्वास गरेको छैन । सबैले यो कोरोना कालमा उहाँले गर्न लागेको मध्यावधी चुनाव र चुनावमा खर्च गर्ने ३५ अर्बको लगानीलाई वाईयात कामको संज्ञा दिएर बिरोध गरेका छन । संसदको २ बर्षे कार्यकाल बाँकी हुँदा नै उक्त संसदलाई विघटन गरी गराउन लागिएको यो नयाँ चुनावबाट कुनै राजनीतिक उपलव्धी नहुने उल्टै फजुल खर्च बढाउने भएकाले सबैले बिरोध जनाएका छन । आखिर यो मध्यावधी चुनावबाट पनि पुरानै चेहराहरु चुनाव जितेर आउने छन र प्रधानमंत्री ओली ज्यूले खोजेको जस्तो राजनीतिक परिस्थिति नेपालमा बन्न कहिले सक्दैन । त्यो बेला के गर्ने भन्ने प्रश्न आउँछ पक्कै पनि उक्त संसदलाई पुनस् बिघटन गर्न सकिने छैन । कोरोनाले गर्दा चुनावको लागि सभा समारोह गर्न सकिने सहज परिस्थिति नेपालमा छैन । यसको साथै कोरोनाको परीक्षण र उपचार गर्नको लागि पनि खर्च जुटाउन नसकेको नेपाल सरकारले एकासी ३५ अर्ब थप खर्च कताबाट जुटाउने हो आर्थिक स्रोतको कुनै सुनिश्चितता छैन । त्यसैले राष्ट्रिय ऋण लिएर काम चलाउँदै आएको नेपाल सरकारले थप राष्ट्रिय ऋण लिनुपर्ने हुन्छ । नेपाली जनता दलहरुले बनाएका बिभिन्न सरकारहरुले आँखा चिम्लेर लिएको विगतका राष्ट्रिय ऋणहरुबाटै घोप्टोचेप्टो बनीसकेको अहिलेको अवस्थामा थप राष्ट्रिय ऋणको बोझ धान्न सक्दैन । त्यसैले आम चुनावलाई नियमित तालिका अनुसार नै चल्न दिनु पर्छ यसरी वेमौसमी आम चुनाव गराउनु हुन्न । नेकपाका नेताहरु अहिले दुई खेमामा बाँडिएका छन त्यसकारण भोटको बिभाजन हुन्छ र धेरै रुष्ठ नेकपाका मतदताहरु अन्य राजनीतिक दलहरुलाई भोट हाल्न तिर लाग्ने छन । यसरी नेकपाको भोटमा बिभाजन हुँदा नेपाली काँग्रेस यो आम चुनाव पछि ठुलो राजनीतिक दल हुने निश्चित छ । प्रधानमंत्री ओली ज्यू स्वयम पनि सुरक्षा वा स्वास्थ्यको कारणभाट सक्रियताको साथ आम चुनावको प्रचार प्रसारमा लाग्न सक्ने छैन । यसको विपरित नेकपा कै आर्को खेमाका शीर्ष नेताहरु सक्रिय भएर चुनावको प्रचार प्रसारमा लाग्न सक्षम छन त्यसैले यो आम चुनाव पछाडि सोही खेमा नै ज्यादा सफल हुने भएकाले प्रधानमंत्रीको भन्दा ठुलो राजनीतिक दल बन्न सफल हुने छन । प्रधानमंत्री ओली ज्यूले नेतृत्व गर्नु भएको नेकपाको खेमा भने सानो राजनीतिक दल बनेर चोक्टा खान गएको बुढी झोलमा डुबेर मरी भनेको जस्तो अवस्थामा परिणत हुने देखिन्छ । त्यसैले यो भईरहेको संसद बिघटन गरी नयाँ संसदको लागि चुनाव गराउने प्रधानमंत्री ओलीको निर्णय र राष्ट्रपति भण्डारीको स्वीकृति गलत छन र उक्त चुनावमा गर्ने ३५ अर्बको खर्च लुटको धन फुपूको श्राद्ध मात्रैमा सीमित भएर कुनै ठोश उपलव्धी राष्ट्रलाई हुने छैन । यहि समयमा नेकपाका शीर्ष नेताहरुको र नेकपाको लोकप्रियतामा निकै कमी आएको छ । त्यसैले मध्यावधी चुनावको नतिजा नेकपाको शीर्ष नेताहरुको पक्षमा अथवा पार्टीको पक्षमा आउने संभावना धेरै छैन । हुँदोखाँदोको संसद बिघटन भएकाले नेकपा मात्र होइन प्रधानमंत्री देखि लिएर नेकपाका अन्य शीर्ष नेताहरु समेतको बदनाम भएको हुँदा अब नेपालमा कम्युनिष्टहरु सत्तामा फेरि आउन नसक्ने देखिएको छ । आफ्नै घरमा आगो लगाएर खरानी घस्ने नेपालको कम्युनिष्टहरुलाई नेपाली जनताले सत्तोसराप गर्दैछन । पहिले कम्युनिष्टहरु नेकपाको रुपमा गोलबन्द हुँदा नेपाली जनता खुसी भएका थिए भने हाल दुई खेमामा बिभाजित नेकपालाई देखेर नेपाली जनतालाई वाकवाक लाग्न थालेको छ । आफैले जित्न नसक्ने चुनाव गराउन तम्सेका प्रधानमंत्री ओली ज्यूलाई देखेर नेपालको राजनीतिका पण्डितहरु आश्चर्यमा परेका छन । अहिले सम्म सम्मान जनक जनमत पाउने संभावना टरेको छैन तर अझ चुनाव ढिलो हुने भएमा कम्युनिष्टहरुको पत्तासाफ हुने चुनावी विज्ञहरुले लख काटेका छन । त्यसैले नेपाली जनतालाई प्रधानमंत्री ओली र राष्ट्रपति भण्डारीलको लागि यो चुनाव भालुको कान समाते जस्तो भएकाले चुनाव परसार्दै लाने वा चुनावै नगराउने हो कि जस्तो लाग्न थालेको छ । राजनीतिका पण्डितहरुको पनि बूझाई यहिनै भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *