अघिल्लो श्रृखलाहरुमा नेपाल देखि कम्वोडियासम्म पुगेको संस्मरणहरु प्रस्तुत गरिएको थियो । त्यसै गरी कम्वोडियामा भएको कार्यशालाको विवरण उल्लेख गरिएको थियो । यस श्रृखलामा भने कम्वोडियामा भएका केही रोचक प्रसँगहरुलाई उल्लेख गर्ने कोशिस गरिएको छ ।
नुन भन्न जानिएन
हाम्रो टिम सदस्य मध्ये डिगवहादुर लिम्वु हामी हिड्ने २ दिन अघि अचानक हातखुट्टा नचल्ले विरामी हुनभयो । पछि थाहा भयो उहाँलाई यूरिक एसिड भएछ । उहाँलाई असाध्यै पिडा भयो तैपनि उहाँ जानको लागि तयार हुनु भयो । कम्वोडियामा नै रहँदा समेत उहाँ विरामी नैं हुनुहुन्थ्यो । उहाँ र म एउटै कोठामा वस्दथ्यौं ।
हाम्रो नेपाली टिमको डिग वहादुर लिम्वु विरामी हुनु भएकोले मैले सहयोग गर्ने कुराहरु गरिरहन्थ्ये । वाइफाइ सुविधा होटलमा थियो । अनलाइनवाट नेपालमा खवर पठाउने गरिरहन्थ्यौं । स्काइपवाट भिडियो कल समेत हुने गर्दथ्यो । नेपालमा जोगराज गिरीसँग फेसवुक मार्फत कुरा गरी डिक दाईको घरमा फोन गर्नु र राम्रोसँग हामी पुगेको कुरा गर्न लगायौं ।
डिग दाईको टन्सील वढेकोले नुन र तातो पानीले कुल्ला गर्न पर्छ भन्ने विचारले मैले होटलको रिसेप्सनमा फोन गरें । तातो पानी भन्ने कुरा त वुझाउन सकें तर नुन वुझाउन सकिन । रिसेप्सनमा गएर अंग्रेजीमा साल्ट भन्दा पनि वुझ्दैन, संकेतवाट पनि वुझेन वा संकेत गरेर नून वताउन पनि सकिंन, म हैरान भए । अंग्रजी पनि सामान्य मात्र वुझ्ने तर पनि साल्ट भनेको वुझ्न सकेन । म हैरान भएर संकेत गर्दै थिएँ । त्यही वेलामा थाईलैण्ड की एक दिदी आईन । उनी रिकफ्ट नामक संस्था की थिइन । मेरो समस्या वताएँ । उनलाई पनि नूनको कम्वोडिएन भाषा याद भएन । थाइ र कम्वोडिएन भाषा अलिअलि मिल्दो पनि रहेछ । उनीले पनि वल्ल वल्ल वुझाउन सकिन् । वुझे पछि सवै जना मरी मरी हाँसीयो ।
पैसा सोकेसमा खात वनाइ राख्ने
वेलुका घनश्याम दाई, डिग दाइ र म औषधी किन्न गयौं । ठाउँ फेला पार्न पनि गाहे, वल्ल वल्ल फेला प¥यो । तर त्यहाँ पनि वुझाउन महाभारत नैं भयो । वल्ल केही कुरा वुझेर औषधी दियो । डिक दाइले टिप्स स्वरुप ५०० दिए । तर नेपाली १० रुपैया मात्र । त्यँहा अमेरिक एक डलर वरावर त्यहाँको करिव ४ हजार जती हुँदो रहेछ । त्यहाँको मुद्रा दशहजारको पनि नोट हुने । अनी पैसा पनि पसलमा सोकेशमा तासको खात राखे जसरी राख्ने चलन रहेछ ।
हामी कार्यशाला सञ्चालन भएको शहरमा नैं रहँदा त्यहाँका साथीहरुले वेलुका पार्टीको आयोजना गरे । हाम्रो गजल रेष्टुरेन्ट भने जस्तो स्थानमा लगे । सवैजना रमाईलोसँग नाचे हामी पनि त्यहाँको तालमा नाच्ने प्रयत्न ग¥यौं । त्यहाँ नाच्न सजिलो रहेछ । हात हल्लाए पुग्ने ।
गाई पाल्ने तर दुध खान नपाइने
त्यहाँ दहि दुध खान मुस्कील रहेछ । हामीले सोध्यौं । गाई पाल्दैन भनेर । उनीहरुले भने पाल्छन् । अनी हामीले सोध्यौं खै त दहि दुध । उनीहरु हामीलाई छक्क परेर सोध्छन् । गाई पाल्दै दुध खान पाइन्छ र ? यहाँ त गाइ टन्न पाल्छन तर दुधका लागि होइन मासुको लागि पो त भने हामी पनि झन दङ्ग अनी छक्क प¥यौं । त्यहा वसुञ्जेल मटन पनि देख्न पाईएन । कुखुरा, माछा, सँगुर, गाई गोरुको मासु देखियो । सँुगरको मासु हाम्रो तीर सवै तरकारीमा प्याज हालै जस्तै हुँदो रहेछ । विहान देखि वेलुका सम्म नैं जतीखेर पनि भात खाने चलन रहेछ ।
तरकारीमा मसला र चिल्लो नहुने । तरकारीहरुमा धेरै जसो जडिवुटी मिसाएको हुने । धेरै तरकारीहरु उसीनेको मात्र हुने हुनाले म सुगर तथा प्रेशरको विरामीलाई पनि केही असर भएन । अनी होटलहरुमा राम्रो तरकारीहरुमा हाम्रो तिर घोडथाप्रे भन्ने झार हाल्दा रहेछन् त्यसले तरकारी सुगन्धीत तथा मिठास दिंदो रहेछन् । हरेक तरकारीमा जडिवुटी मिसाउने भएकोले त्यहाँका मान्छेको पक्कै पनि स्वास्थ्य स्थीति राम्रै होला ।
नेपालीलाई कम्वोडिएन वनाएर ३ डलर वचाइयो
त्यसै गरी कार्यशाला गोष्ठीको दोस्रो दिन फिल्ड भिजीटको क्रममा पुरातात्वीक स्थानमा गयौं । त्यहाँ सार्वजनिक शौचालय रहेछ । त्यहाँ पिसाव फेर्न गएको, विदेशीलाई १००० लाग्दो रहेछ स्वदेशीलाई ५०० । मसँग त्यहाँको रकम साटेको नैं थिइन, हेङ दाले ५०० तिरी दिए । हा हा पिसाव फेरको ५०० तिरेर त्यही पनि कम्वोडिएन रेटमा ।
अर्को प्रसंग, हिन्दुको पुरातात्विक स्थानमा भ्रमण गर्ने विदेशीलाई ३ डलर लाग्दो रहेछ तर कम्वोडियनलाई निशुल्क । हामी नेपाली ४ जना मध्ये ३ जनाको टिकट काटी डिग वहादुर लिम्वु कम्वोडियन जस्तो देखीने हुनाले हामीले उहाँको चाँही टिकटको पैसा तिरेनौं । नेपालीलाई पनि कम्वोडियन वनाएर ३ डलर जोगायौं । नेपाली वुद्धी प्रयोग गर्न सफल भईयो ।
तेस्रो दिनको कार्यशाला सकेर हामी कम्वोडियाको राजधानी नोमपेन तिर लाग्यौं । २ दिन अघि नैं शारदा नेपालले हामीलाई खाना खाने निम्तो दिनु भएको थियो । नेपाली खाना पाइने आशाले हामी खुसी थियौं । शारदाको श्रीमान त्यहाँ टेलीकमको सिए हुनुहुन्थ्यो । हामीलाई होटलमा गाडी लिई लिन आउनु भयो । हामीले टन्न खाना खायौं । उनीले नैं रातीमा गाडीमा वजार घुमाई दिइ होटलमा छोडिदिनु भयो । यहाँ पनि नेपालीहरु जागीर तथा वन्द व्यापारमा संलग्न भै वसोवास गरिरहेको पाइदो रहेछ ।
त्यस समयमा तत्कालिन राजाका पिता पूर्व राजा नरोद्धम सिंहानुकको मृत्यू भएको रहेछ । तर सदगद् गर्न वाँकी रहेछ । वजार भरी पूर्व राजाको फोटाहरु सजाएर राखिएको रहेछ । त्यहाका नागरिकहरु राजनीतिमा चासो भएका तर खुलेर कुरा गर्न साह्ै डराउँदा रहेछन् । त्यहाँका आदिवासीका नेता नै हाम्रो कार्यशालामा थिए । मैले राजनीतिका कुरा कोट्याँउदा पल्याक पुल्युक चारै तिर हेरेर असन्तुष्टी व्यक्त गरे । त्यहाँ वोल्नका लागि स्वतन्त्रता नभएको आभास देखिन्छ । त्यहाँका मान्छेहरुमा भियतनाम प्रति वढि नैं आक्रोशित भएको देखियो ।
किलिङ्ग साइट (यूद्धको अवशेषलाई आर्थिक उपार्जनमा)
कम्वोडिया वसाईको अन्तिम दिन, विहानै हामी किलिङ्ग साइट तिर लागियो । राजधानी देखि नजिकै रहेको यो किलिङ्ग साइटमा पोलपोटको समयमा आफ्ना विरोधीहरु मार्ने स्थानलाई स्मारक वनाएको रहेछ । त्यस स्थानमा करिव २० हजार मान्छे मारेको रहेछ । विभिन्न स्थानवाट विरोधीहरु ल्याई मान्छे मारेको रहेछ । त्यहाँ किलिङ्ग ट्री रहेछ जहाँ मान्छेलाई याताना दिई झुण्ड्यार मारेको रे । त्यसै गरी म्याजिक ट्री रहेछ जहाँ याताना दिँदा मान्छेको चिच्चाहाटलाई वाहिर नजाओस भनी त्यो रुखमा ठुला ठुला स्पीकर राख्ने गरेको थियो रे ।
मान्छे ल्याउने ट्रक राख्ने ठाउँ, मान्छे पुर्ने स्थान जस्ता विभिन्न स्थानको पहिचान सहित राखेको रहेछ । त्यो आतंकित स्थानलाई अहिले पर्यटकिय स्थान वनाएर अर्थोपार्जनको माध्यम वनाएको रहेछ । त्यहाँ मारेका मान्छेको खप्पर तथा हड्डीको स्मारक वनाएर राखेको रहेछ । त्यती वेलाका विभिन्न फोटो लगायतको प्रदर्शनीमा राखेको छ । त्यससँग सम्वन्धीत विभिन्न भिडियो वनाएर देखाइने गरिदों रहेछ । स्मारक क्षेत्र भित्रका विभिन्न स्थानका शव्द चित्रवाट चिनारी गराउने अडियो पनि पाईदोरहेछ । सो अंग्रेजी भाषाको अडियो सुन्दै घुम्नका लागि ५ डलर लाग्दो रहेछ । किलिङ्ग साईटमा प्रवेशका लागि मात्र तिन डलर शुल्क लाग्दछ । पर्यटकको घुइचो नैं हुँदो रहेछ ।
त्यहाँ जाँदा माहोल र मन नैं फरक हुने गर्दो रहेछ । अलि अलि डर अनी कौतुहलता पनि । नेपालमा पनि हामीले युद्ध भोगेकाले केही मनमनै तुलना समेत गर्न वाध्य भइयो । यसवाट नेपालले सिक्न पर्ने पाठहरु धेरै छन् । त्यस मध्ये पनि विगतका दुःखलाई कसरी आर्थिक समृद्धिसँग जोड्ने भन्ने महत्वपुर्ण पक्ष देखियो । त्यहाँ भित्र स्थानीय गाइडको व्यवस्था रहेछ । ती गाइडहरु पनि युद्धमा संलग्न, पिडितहरु हुँदा रहेछन् । उनीहरु भन्थ्ये मेरो वुवालाई यहाँ नेर मारेको, यसरी मारेको, म त्यो वेलामा यती वर्षको थिएँ । यस्तो काम गरेको वेलामा हाम्रोमा खमेरुज आए भनेर प्रत्यक्ष भोगेको मान्छेले प्रत्यक्ष रुपमा पर्यटकलाई वताउँदा हामी पनि ट्वाल्ल पर्यौं ।
अरु देशका यूद्ध नभोगेकोलाई त झन् अचम्मकै कुरा भै गयो । त्यस ठाउँमा जाने पर्यटक अधिकांश रुने तथा आंशु झार्दा रहेछन् त्यसमा हाम्रो टिम समेत अछुतो रहन सकेन । मलाइ पनि कता कता चसक्क मन चस्क्यो । कम्पोङ्गथोङमा वस्दा नैं किलिङ साइट छुटाउन नहुने स्थान भनेर भनेका थिए । त्यसै गरी नोमपेनमा हामीलाई पाहुना सत्कार गरी नेपाली खाना खुवाउने शारदा नेपाल तथा उहाँको परिवारले पनि सोही कुरा वताउनु भएको थियो । साच्चै हो रहेछ ।
किलिङ साइटको भ्रमण पछि हामी वजार घुम्न र केही सामान किन्न लाग्यौं । त्यहाँको एक सुपर मार्केटमा प्रवेश गरी विभिन्न सामान हेर्न थाल्यौं । यस क्रममा घनश्याम दाईले दाह्ी वनाउनु भयो । ४ डलरमा दाह्ी वनाउने काम गराउनु भयो । त्यहाँ दाह्ी वनाउँदा क्रिम लाउने चलन हुँदो रहनेछ तर पैसा भने महँगो । कपडाहरु सस्तामा पाइदो रहेछ । मैले पनि ५ डलरमा एक टिसर्ट किने. । गीताजीले अरु पनि धेरै सामान किन्नु भयो । मैले चाँही वैंककमा किनौंला भनेर त्यहाँ ध्यान दिइन तर त्यहाँ नैं सस्तो वजार रहेछ । पछि चुक्चुकाउनु प¥यो । कम्वोडियाको स्टोन प्रशिद्ध रहेछ साथीहरुले केहि लिनु भयो तर मेरो प्राथमिकतामा त्यस्ता वस्तु कहिल्यै पर्दैन ।
हामी कम्वोडियाको करीव एक घण्टाको हवाइ यात्रा पछि थाइलैण्ड स्थीत सुवर्णभूमि विमानस्थलमा पुग्यौं । हामी रिकफ्टको गेष्टरुममा वास वस्न पुग्यौं । वैंकक पुगेको दोस्रो दिन रिकफ्टको टिमसँग हाम्रो वैठक तय भएको थियो । हामी वस्ने कोठाको छेउमा भान्सा कोठा उपलव्ध थियो । त्यहाँ सामान ल्याएर पकाउन र खान सकिने व्यवस्था रहेछ । विहान वाहीर खान नजाने त्यही पकाउने सल्लाह भयो । क्रमसः