कम्बोडिया यात्रा संस्मरण (२)

लेख

पछिल्ला शृंखलामा कम्बोडिया भ्रमणसँग सम्बन्धित संस्मरणहरु देख्ने क्रम चलिरहेको छ । अघिल्लो शृंखलामा नेपालको विमानस्थलदेखि सुवर्णभूमि विमानस्थलसम्म पुगेको अनी त्यहाँको अलमल सम्बन्धी विवरण उल्लेख गरिएको थियो । यस शृंखलामा बैंककदेखि कम्बोडियासम्म पुगेको संस्मरण लेख्ने कोसिस गरिएको छ ।
विमानस्थलमा चेकजाँच
०६९ मंसिर २० गते बिहान थाइल्यान्डको समयअनुसार ८ बजे नै कम्बोडियाका लागि उड्नु पर्ने थियो । हामी क्यासेसार्ट युनिभर्सिटीको कम्पाउन्डभित्र रहेको रिकफ्टको गेस्टरुममा वसेका थियौँ । त्यहाँवाट ५ बजे नै विमानस्थलतिर लाग्नु पर्ने भएकाले हामी बसेको रिकफ्टको रिसेप्सनमा बिहान ४ बजे हामीलाई उठाउने भनेका थियौ । त्यही नै ट्याक्सी वोलाउने पनि भनेका थियौँ । सोहीअनुसार हामी हिजो आएको सुवर्णभूमि विमानस्थल एयरपोर्टमा पुग्यौँ । हामी ३ जनाको बोर्डिङपास नेपालबाट नै पाइएको थियो । घनश्याम पाण्डेको मात्र बाँकी थियो । उहाँले लिनु भयो । अनी हामी विमानस्थलभित्र छि¥यौँ ।
विमानस्थलमा छिर्दा सुरक्षा जाँचको क्रममा त्यहाँ पनि लाएका बाहिरी लुगा, पेटी, पर्स, कम्प्युटर, मोबाइल टोकरीमा राखी एक्सरे मेसिनमा राख्ने चलन रहेछ । त्यतिखेर चाहिँ नेपालमा टेक्नोलोजी नभएर होइन रहेछ भन्ने लाग्यो । यसै बेलामा डिगबहादुर लिम्बूको झोलाको भित्र मेटल देखायो । दोहो¥याएर चेक गर्दासमेत देखाएकोले झोला खोतल्दा दारी काट्ने ब्लेड देखियो । त्यो फालेपछि कुनै समस्या देखाएन ।
हामी विमान स्थलभित्र ड्यूटी फ्री पसलमा टहल्दै थियौँ । गैरसरकारी संस्था महासंघका तत्कालिन महासचिव गोपाल लम्साल र सिसिओका रामजी न्यौपानेसँग भेट भयो । सामान्य भलाकुसारी चल्यो । हामीले सामान्य खाजा खायौँ । बैंकक एयरमार्फत कम्बोडियाको राजधानी नोमपेनतिर लाग्यौँ ।
लगभग १ घन्टाको उडान यात्रापछि कम्बोडियाको राजधानीस्थित विमानस्थल पुगियो । कम्बोडियामा २ वटा अन्तर्राष्ट्रिय विमान स्थल रहेछन् । हामी उत्रिएको विमानस्थल सामान्य खालको देखिए पनि त्यहाँको कार्यकुशलता प्रसंशा गर्नलायक थियो । मेरो दिमागमा गरिब देश नेपालभन्दा पनि कमजोर अवस्था होला भन्ने लागेको थियो । विमानस्थलमा प्रवेश गरेदेखि नै नेपालको भन्दा प्रभावकारी शैली भएको महशुस गर्न थालेका थियौँ ।
विमानस्थलका कर्मचारीको व्यवहार पनि राम्रो । अभिवादन गर्दै हाम्रो विवरणहरु इन्ट्री गरे, एकमहिने भिसा लगाइदिए । हाम्रो लागि पर्यटकीय भिसा लगाउँदो रहेछ । प्रतिव्यक्ति २० अमेरीकी डलर शुल्क लाग्दो रहेछ । इन्ट्री गर्दा सबै हातको औँलाको प्रिन्ट र मान्छेको फोटो खिच्ने चलन रहेछ । यो प्रक्रिया बैंककमा पनि थियो तर नेपालमा त्यस्तो व्यवस्था भेटिएको थिएन । विमानस्थलभित्रै मोबाइलको सिमकार्ड लिन पाउने व्यवस्था रहेछ । घनश्याम पाण्डेले मोबाइलको सिमकार्ड लिनु भयो ।
हामीलाई रिसिभ गर्न रिकफ्ट कम्बोडियाको प्रमुख हेङ दा आउनु भएको रहेछ । उहाँको स्वागतका साथ उहाँले व्यवस्था गरेको नेपालको माइक्रो बसजस्तो लाग्ने गाडीमा विमानस्थलवाट बाहिरियौँ । हामी पुग्यौँ रिकफ्ट कम्बोडियाको कार्यालयमा । यो कार्यालय त्यहाँको वन विभागभित्र नै रहेछ । मैले दालाई सोधेको थिएँ, ‘तपाईको कार्यालय भाडामा हो की के हो ?’ भनेर । सरकारले नै परियोजनालाई कार्यालय उपलव्ध गराएको रहेछ । कार्यालयमा एक्कैक्षण बसेर केही नयाँ फल र सिमल तरुल खाएर फेरि हाम्रो कार्यक्रम स्थल कम्पोङथोङतिर लाग्यौँ । सो स्थान राजधानीबाट २५० किलोमिटर जति टाढा थियो । त्यहाँ पुग्न गाडीले १२० डलर (रिजर्भ) लियो ।
राजधानी सुन्दर लाग्यो । त्यहाँ दुइवटा ठूला ठूला भवन बन्दै रहेछन् । गाडीबाट नै फोटो खिच्दै अगाडि लागियो । बीच बाटोतिर खाना खान एक होटलमा गयौँ । होटल सफा नै थियो । गाई र सुँगुरको मासु सबैतिर पाइने । मैले चाहिँ माछा खाने विचार गरेँ र अर्डर गरेँ । खानापछि बाहिर चहारियो । त्यहाँको मिष्ठान्न परिकार गँगटा, फटेङ्ग्रा फ्राई रहेछजस्तो लाग्यो । प्रायः पसलको बाहिर ती परिकार सजाएर खानाका लागि तयार गरेको रहेछ । त्यस्तै सिंगो, भँगेरा पकाएर राखेको देखियो । फोटो खिचेँ ।
हामी हाम्रो कार्यक्रम भएको नगर कम्पोङथोङ दिउँसोको ४ बजेतिर पुगियो । निर्धारण गरेको होटलमा बसियो । अनि गोष्ठीको हल हेरियो । हाम्रो सेसनअनुुसार टेबुल तथा कुर्सी मिलाउन भनियो । अनि बेलुका खाना खाएर कोठातिर लागियो ।
कम्बोडियामा १५ वर्षका लागि राष्ट्रिय वन हस्तान्तरण
गोष्ठीको पहिलो दिन ९ बजेदेखि कार्यक्रम सुरु गरियो । कार्यक्रममा त्यहाँको वन विभागमा उपप्रमुख आएका थिए । सामान्य औपचारिकता स्वागत अभिव्यक्तिपश्चात परिचय कार्यक्रम गरियो । त्यसपश्चात प्रस्तुतिको क्रम थालियो । मेरो पनि ३० मिनेट जतिको कफ्सनको परिचय र नेपालमा रेडप्लस अभियान, समुदायको अधिकार सम्बन्धी प्रस्तुत गरेँ । सबै देशको प्रस्तुतिपछि केही नयाँ नौलो अनुभूति गरेँ ।
नेपालको सामुदायिक वनको सिको गरेको कम्बोडियाले आफ्नो सामुदायिक वनको प्रक्रियामा उद्यम विकासको चरण राखेको रहेछ , त्यसै गरी १५ वर्षका लागि सामुदायिक वनको हस्तान्तरणको सम्झौता हुने गरेको रहेछ ।
पोलपोट नरसंहार र राजाको पुनआगमन
दोस्रो दिन, कम्बोडियाको सामुदायिक वनको स्थलगत भ्रमणका लागि त्चबउभबलन च्यगलन ऋँ मा गइयो । त्यँहाका उपभोक्ताका अगुवाहरुले प्रस्तुति गरे । हामीले पनि अन्तक्र्रिया ग¥यौँ । त्यसपछि हामी हिन्दूहरुको मन्दिरको अवशेष गरेको क्षेत्रमा गयौँ । त्यो स्थान पुरातात्विक महत्वको रहेको पाइयो । शिवलिंग, दुर्गाका मूर्ति रहेका मन्दिरको जिर्ण भग्नावशेष देखियो । पोलपोटको शासनकाल अघि राम्रो अवस्थामा मन्दिर थियो रे अहिले भग्नावशेष मात्र छ । जीर्णोदार गरिएको रहेनछ ।
पोलपोटले सन् १९७५मा शासन सत्ता कब्जा गरेपछि उस्को १९७९ सम्मको ४ वर्षे शासन कालमा ३० लाख मान्छेलाई संंहार गरेको थियो रे । त्यस समयमा नै मन्दिरहरु सखाप पारेको रे । खमेरुजको नेता पोलपोटले ३ दिनमा नोमपेन (राजधानी) कब्जा गरेको थियो रे । त्यसपछि गाउँको मान्छेले सहर कब्जा गरी सहरका मान्छे सबैलाई गाउँ लखेटेको थियो । जस्ले पोलपोटको निर्देशन मानेनन् उस्लाई मारेको रहेछ । यो क्रममा ३० लाख सखाप पारेछ । हुन त यो संख्यामा अमेरिकाले भियतनाम आक्रमण गर्दा मरेका मान्छे पनि यही संख्यामा जोडेको छ भन्ने आरोप पनि रहेछ । जे भए पनि पोलपोटले मान्छे चाहिँ धेरै मारेको रहेछ । पोलपोटले राजा नरोद्दम सिंहानुक लखेटेको रहेछ । पुनः पोलपोटसँग हारेका सेना तथा राजासमेतको पहलमा पोलपोटलाई लखेटेछन् । पुनः राजाको आगमन भएछ ।
कार्यशालाको तेस्रो वा अन्तिम दिन, स्थलगत अवलोकन भ्रमणको समीक्षा गरियो । भावी योजना तयार गरी । घोषणा पत्र तयार गरियो । घोषणा पत्रमा समुदायमा आधारित वन व्यवस्थापन पद्धतिलाई विस्तार गर्न पहल गर्ने, सामुदायिक सम्पत्तिमाथि सामुदायिक अधिकारको सुनिश्चितताका लागि पहल गर्ने तथा सबै निकायहरुलाई आग्रह गर्ने, कुनै पनि देशको सार्वजनिक नीति नियम बनाउँदा बहुसरोकारवाला तथा अधिकारवालाहरुको प्रत्यक्ष संलग्नतामा हुन जोडदार माग गर्नेजस्ता विषयहरु समावेश गरी ६ बुँदे घोषणापत्र जारी गरिएको थियो । क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *