यसरी पलायन हुँदै छन् नेपाली युवतीहरु

लेख

लेखक–खुश्वु रान
आजको २१औँ शताब्दीमा पनि हाम्रो नेपाल संसारको तुलनामा सयाँै वर्ष पछि परिसकेको छ । भौगोलिक वनावटको आधारले प्रकृतिको धनी देश भए तापनि विकशित हिसाबले हामी पछि नै छौँ । जे हाम्रा अग्रजनहरुले अँगालेका रितिरिवाज धर्म, संस्कृतिलगायत स्वदेशमा कृषि खेतिपाती र प्रवासमा अर्काको गुलामी … । हो, त्यहि रितिरिवाज आज हामीले पनि गरिरहेका छौँ । अहिले संसार आधुनिक तरिकाले अघि बढिरहेको छ । यो दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो तर हामी नेपाली भने जहाँको त्यहि छौँ ।
आज पनि नेपालको अधिकांश ग्रामीण भू–भागमा अवस्थित विकट पहाडी क्षेत्रदेखि हिमाल, तराई राजधानी काठमाडौंसम्मका महिलाहरुमाथि विभिन्न हिंसाका घटनाहरु दिनानुदिन बढिरहेको पाइन्छ । विविध कारणले देशको गरिबी, बेरोजगार र अशिक्षाले गर्दा नै महिलाहरु घरेलुलगायत हिंस्रक घटनामा पर्ने गरेको पाइन्छ ।
नेपालमा शिक्षित भइकन पनि महिलाहरु बेरोजगार हुन बाध्य छन् । किनभने एक त रोजगारी नै पाउँदैनन्, पाइहाले पनि शैक्षिक योग्यता, क्षमता र सीप अनुसारको पारिश्रमिक पाउँदैनन् । यदि पारिश्रमिक पाइहाले पनि काम गर्ने निश्चित समय तोकिँदैन । अझ कतिपय कार्यहरुमा त विभिन्न यौनजन्य हिंसा व्यहोर्न बाध्य छन् । एकातिर योग्यता अनुसारको काम नपाउनु, अर्कातिर उचित पारिश्रमिक नभएको कारणले घरव्यवहार धान्न नसकेर विचलित भइरहेका हुन्छन् । उनीहरुको त्यो विचलित मानसिकताले कुँडिएको मन विदेसिनु पर्ने बाध्य हुन्छ । यिनै विविध बाध्यताको कारण नेपाली दिदीबहिनीहरु विदेश पलायन हुनु परेको घटनाहरु छरपष्ट छन् । विदेश जाने प्रक्रियामा पनि हरेक महिलाहरुले दुःख कष्टको सामना गर्दै विदेशिनु पर्छ । तर अधिकांश महिला दिदीबहिनीहरु विदेश गएर पनि भनेजस्तो र सम्झौताअनुसार तोकिएको काम नपाएर पीडित हुन्छन् । नेपालमा एउटा काम भनेर तोकिएर पठाइन्छ तर त्यहाँ अर्कै काममा लगाइन्छ । के गर्ने बेरोजगार र आर्थिक स्थितिले ऋण गरेर विदेश पुगेका हुन्छन् । त्यहाँ पुगिसकेपछि जे काम पाए पनि बाध्यता विवश भएर गर्नुपर्ने हुन्छ । त्यस्तो घटनाहरु हामीहरुले विभिन्न सञ्चार माध्यमहरुबाट सुन्ने र देख्ने गरेका छौँ ।
नेपालबाट वैदेशिक रोजगारीका लागि जाने महिलाहरु धेरैजसोे खाडी मुलुकतिर जान्छन् जस्तै कुवेत, बहराइन, साइप्रास, साउदी, कतार, दुबई, मलेसिया अग्रपंक्तिमा छन् । यी मुलुकहरुमा जाने अधिकांश महिलाहरु घरेलु कामदारको रुपमा पुग्छन् । घरेलु कामदारको रुपमा जाने अधिकांश महिला यौन दुव्र्यवहार, शोषण हुने गरेको पाइन्छ । ती महिलाहरु त्यसरी बाध्यताले आफ्नो जीवनयापन गरिरहेका छन् । कतिपय महिला दिदीबहिनीहरु शारीरिक र मानसिक यातना सहन नसकेर आत्माहत्या गर्न बाध्य हुन्छन् । ती मुलुकहरुमा नेपाली दूताबासहरु छन् । तर, आफ्नो देशको नागरिकलाई आपत्विपत परेको बेलामा किन उद्दार गर्न सक्दैनन् ? यी दुःख र कष्टबाट बाँचेर स्वदेश फर्किएका महिलाहरुले कमाएर ल्याएको पुँजी केही समयसम्म त पुग्छ । त्यो पुँजी सकिएपछि उनीहरुको महत्वकांक्षा यथावत् रहन्छन् । त्यसपछि ती महिलाहरु देहव्यापार गर्न बाध्य भएका धेरै घटनाहरु छन् । अहिले नेपालमा धेरै महिला अधिकारकर्मीहरु छन् । तर, तिनले किन आज बुलन्द अवाज उठाउन सक्दैनन् ? सधैँ महिला मुक्तिका लागि भनेर कुर्लने महिला अधिकारकर्मीहरुको काम के हो ? अर्कातिर देशको राष्ट्रप्रमुखदेखि प्रधानन्यायाधीशसम्म महिला भइसकेका छन् । तर, उनीहरुले महिलामैत्री कानुन र नियमलाई किन लागू गर्न सक्दैनन् । महिला राष्ट्रपति भएको देशमा हजारौँ महिला दिदीबहिनीहरु बलात्कृत हुन बाध्य छन् । तिनलाई न्याय दिन किन सक्दैनन् ? अन्य विकसित मुलुकको तुलनामा नेपालमा धेरै महिलाहरु धेरै अवसर पाएका छन् तर, त्यो अधिकार र अवसरको सही ठाउँमा सदुपयोग भएको पाइँदैन । राष्ट्रपतिदेखि प्रधानन्यायाधीशसम्म हुँदा पनि महिलामैत्री कानुन दरिलो ढंगले किन लागू गर्न सक्दैनन् ? देशमा कानुन बने पनी यस्को परिपालन भएको छैन । सधैँझैँ आज पनि त्यहि दुःखमा अल्झिरहेका छन् । मलाई लाग्छ यो चल्ति कहिले बदलिनेवाला छैन । यो दुनियाँमा बाँच्नका निम्ति सर्वप्रथम हामीले आफ्नो सोच बदल्नु पर्छ । केहि गर्ने योजना बनाउनु पर्छ भन्नेतिर युवायुवती लाग्नुपर्नेमा खाडीको ५० डिग्री तातो घाममा रोजीरोटीका लागि आफ्नो भएको जायजेथा बन्धकी राखी विदेशिनु परेको छ । राजनीतिक दलको सरकार बन्छ अनि सरकारमा बस्नेहरु भन्छन्– अब नेपाली युवाहरु विदेशिनु पर्दैन, नेपालमा रोजगार पाइन्छ । तर, सरकार बनेको तीन वर्ष नभई सरकार ढाल्ने खेलोेतिर लाग्छन् । जनतालाई सडकमा उतार्छन् र सिधै नारा जुलुस लगाउँछन् यो भन्दा अन्य नेपालमा केही छैन । नेपालमा भएका उद्योग, कलकारखाना बन्द अवस्थामा रहेका छन् कुनै नयाँ योजना भए पनि संचालन हुन सकेका छैनन् । त्यस कारण पनि नेपाली युवायुवती विदेशिनु परेको छ । हाम्रो देशको मुख्य शक्ति युवा पलायन एक मुख्य चुनौति बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *