जनताबाट पराजित कांग्रेसको ऐतिहासिक विजय

सम्पादकीय

०७४ सालमा सम्पन्न भएको निर्वाचन परिणामले नेपाली कांग्रेसलाई राजनीतिको किनारमा पु¥याइदिएको थियो । २७५ सिटमध्ये जम्मा ६३ स्थानमा विजयी भएपछि नेपाली कांग्रेसको यो हालत भएको हो । उक्त निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले ऐतिहासिक विजय प्राप्त गर्दै १७४ स्थानमा विजय प्राप्त गरेको थियो । यो चु्नाव परिणामबाट उत्साहित भएका नेकपा एमाले र माओवादी केन्द्रले ३ जेठ ०७५ मा एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए । दुई ठूला कम्युनिस्ट पार्टी एकीकरण भएको र कम्युनिस्टको पक्षमा प्रवल जनमत देखिएको यसैगरी प्रजातन्त्रवादीको नेतृत्व गर्ने नेपाली कांग्रेस किनारा लागेको स्थितिबाट हौसिएर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अबको ४०–५० वर्ष नेपालमा कम्युनिस्टको शासन चल्ने ठोकुवासमेत गरेका थिए ।
तर दुई ठूला कम्युनिस्ट पार्टी एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको साढे दुई वर्ष पनि बित्न नपाउँदै आफ्नो राजनीतिक भविष्यका लागि नेकपाका शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष शरण पर्नु पर्ने अवस्था आएको छ । यो अवस्था अरुले होइन, नेकपाकै शीर्ष नेताले ल्याएका हुन् । सत्ता भोग गर्ने उत्कष्ट चाहनाले जन्माएको विवादले निकास पाउन नसकेपछि प्रधानमन्त्री केपी अ‍ोलीले प्रतिनिधिसभा नै विघटन गरी दिएका थिए । प्रधानमन्त्री ओलीको सिफारिसमा विघटन भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनस्र्थापना गरी दिएपछि उत्पन्न भएको राजनीतिक परिवर्तनको स्थितिमा सबभन्दा पहिले प्रचण्ड नेतृत्वको नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल आफ्नो र आफ्नो पार्टीको राजनीतिक साख जोगाउनका लागि सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना भएको भोलिपल्ट नै कांग्रेस सभापति देउवाको निवासमा शरण पर्न गएका थिए । सम्पन्न आमनिर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेको कम्युनिस्ट शक्ति यति चाँडै उक्त निर्वाचनमा त्यसैगरी नराम्रो पराजय भोगेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शरणमा पुग्नु पर्ने अवस्था आउँछ भनेर कसैले पनि सोचेको थिएन । तर नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताले नै जनमतको उपेक्षा गर्दै सत्ताको भागबण्डालाई लिएर चर्को विवाद गरेपछि यो अवस्था आएको छ । यो अवस्थाका लागि अरु होइन, नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई नै जिम्मेवार मान्नु पर्दछ ।
सम्पन्न निर्वाचनमा कम्युनिस्ट गठबन्धनलाई नेपाली जनताले अपूर्व समर्थन गरेका थिए । उक्त समर्थनबाट प्राप्त भएको परिणामलाई कम्युनिस्ट नेताहरुले जोगाउन सकेनन् । यही कारणले गर्दा चुनावमा जनताबाट अस्विकृत भएको नेपाली कांग्रेसको शीर्ष नेताहरुको शरणमा जानु पर्ने अवस्थामा नेकपाका नेताहरु पुगेका हुन् । यो नियतिबाट नेकापका नेताहरुले जनमतको उपेक्षा मात्र गरेको स्थिति बनेको छैन की कम्युनिस्टको भविष्यमाथि नै अन्धकार ल्याउने कामसमेत नेकपाका नेताहरुबाट भएको छ । त्यसकारण प्रधानमन्त्री केपी ओलीको सिफारिसबाट विघटन भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिँदा नेपाली जनताको विजय भए पनि नेपालका कम्युनिस्टको भने पराजय भएको छ र सर्वोच्च अदालतको निर्णयले सम्पन्न आमनिर्वाचनको परिणामबाट केन्द्रीय राजनीतिको किनारामा पुगेको नेपाली कांग्रेसले नसोचेको उपलब्धि र विजय प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *