राजनीतिक अपरिपक्वताको बाटोमा नेकपाको प्रचण्ड पक्ष

समाचार

रामचन्द्र बस्नेत
चितवन पुगेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड गुटका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालले गत मंगलबार अपराह्न एकअर्कालाई लड्डु खुवाएर आपसमा खुसी बाँड्ने काम गरेका छन् । गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले प्रतितिधिसभा विघटन गर्न गरेको सिफारिस अनुसार राष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभा विघटन गरिएको थियो । प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिसप्रति सत्तारुढ नेकपाकै प्रचण्ड गुटको कडा आपत्ति रहेको थियो र यो गुटले मुलुकका विभिन्न भागमा उक्त निर्णयको विरुद्धमा नियमित रुपमा प्रदर्शन गर्दै आएको थियो । गत फागुन ११ गते भरतपुरमा प्रतिनिधिसभा विघटनको विरोधमा आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष प्रचण्ड र नेता नेपाल अघिल्लो मंगलबार नै भरतपुर पुगेका थिए । उनीहरु भरतपुर पुगेको केही समयपछि नै सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिभा पुनस्र्थापना गर्ने निर्णय गरेपछि नेकपाका अध्यक्ष दाहाल र नेता माधव नेपाल गद्गद् हुँदै एकअर्कामा लड्डु खुवाएर यो खुसीलाई व्यक्त गरेका थिए । प्रधानमन्त्रीमा प्रतिनिधिसभा विघटन गर्न संविधानले अधिकार नदिएको भन्दै प्रतिनिधिसभा विघटन भएको लगत्तै सर्वोच्च अदालतमा परेका १३ वटा रिट निवदेनमाथि छलफल पछि निर्णय गर्दै संवैधानिक इजलासले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना गर्न गरेको निर्णयलाई आफ्नो पक्षको ठूलो राजनीतिक विजयको रुपमा सत्तारुढ नेकपाको प्रचण्ड पक्षले लिएको छ र यो निर्णयलाई खुसीमा व्यक्त गर्नका लागि प्रचण्ड पक्षले अहिले पनि मुलुकका विभिन्न स्थानमा विजय जुलुस गरी राखेको छ । नेकपा प्रचण्ड पक्षका नेताहरु भने सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापनाका निर्णय आएसँगै सरकार गठनको कसरतमा राजनीतिको सामान्य विश्लेसन समेत नगरी लाग्न थालेका छन् । यही क्रममा गत बुधबार भरतपुरमा आयोजना हुने विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रमलाई समेत रद्द गरेर नेकपाका अध्यक्ष प्रचण्ड र नेता नेपाल बुधबार बिहानै भरतपुरबाट काठमाडौंतिर प्रस्थान गरेका थिए । उनीहरुको काठमाडौं प्रवेशसँगै बुढानिलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरकार गठनका सम्बन्धमा छलफल गर्नका लागि पुगेका थिए र अध्यक्ष प्रचण्ड र नेता नेपालले संयुक्त सरकार गठन गर्ने सँगै सरकारको नेतृत्व गर्न कांग्रेस सभापति देउवासँग प्रस्ताव समेत गरेका थिए । तर कांग्रेस सभापति देउवाले नेकपाका अध्यक्ष र वरिष्ठ नेताको यो प्रस्तावलाई पार्टीमा छलफल गरेर जवाफ दिने भनेर टारिदिएपछि निराश भएर देउवा निवासबाट बाहिरिएका नेकपाका अध्यक्ष प्रचण्ड र नेता दाहालले यो भेटघाटको भोलिपल्ट बिहान सरकार गठनकै सिलसिलामा संसदमा ३२ स्थान रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग भेटवार्ता गरेका थिए । सरकार गठनको प्रयोजनमा नेकपा अध्यक्ष तथा नेताको आग्रहमा भएको उक्त भेटवार्ताको सुरुमा नै जनता समाजवादीका नेता राजेन्द्र महतोले प्रचण्ड र नेपाललाई तपाईंहरु अहिले कुन पार्टीमा हुनुहुन्छ भन्ने जिज्ञासा राखेपछि जनता समाजवादी पार्टी नेकपा प्रचण्ड समूहसँग मिलेर सरकार गठन गर्ने पक्षमा नरहेको स्पष्ट संकेत भएको थियो र त्यसपछि छलफलको क्रममा जनता समाजवादीका अध्यक्ष तथा शीर्ष नेताले रमेश चौधरीलाई रिहा गरेपछि र आफूहरुले उठाउँदै आएको मागलाई सम्बोधन हुने गरी संविधान संशोधन भएपछि मात्र सरकारमा प्रवेश गर्ने सम्बन्धमा विचार गर्ने जवाफ दिएपछि नेकपाका अध्यक्ष प्रचण्ड र नेता नेपालसँग सरकार गठनको निराश हुनुको विकल्प थिएन ।
वास्तवमा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना गर्न भएको निर्णयले प्रजातन्त्र र नेपाली जनताको विजय भएपनि सम्पन्न आमनिर्वाचनमा दुई तिहाई निकट स्थानमा विजय प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको भने पराजय नै भएको परिणामले देखाइराखेको छ । यही कारणले गर्दा सम्पन्न निर्वाचनमा जनताले बढारेर किनारा लगाएको नेपाली कांग्रेसका नेताहरुसँग नै सरकार गठनको मामिलामा नेकपाका अध्यक्ष प्रचण्ड र नेता नेपाल पुग्नु पर्ने अवस्था आएको हो । र, नेकपाको शक्ति संघर्षकै कारण पछिल्लो राजनीतिक घटना क्रममा राजनीतिक केन्द्र विन्दुमा जनताले किनारा लगाएको नेपाली कांग्रेस पुग्ने अवस्था पनि आएको हो । त्यस कारण सर्वोच्च अदालतको निर्णयलाई लिएर नेकपाको कुनै पक्षले पनि खुसी मनाउनुलाई ठूलो मूर्खता मात्र मान्नु पर्दछ । जुन मूर्खतालाई अहिले नेकपाका अध्यक्ष प्रचण्ड र उनी पक्षका नेताहरुले सार्वजनिक रुपमा प्रकट गरी राखेका छन् ।
सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना गर्नका लागि भएको निर्णय पछि विकास भएको राजनीतिक घटना क्रममा सत्तारुढ नेकपाको प्रचण्ड पक्षका अध्यक्षदेखि अन्य नेताहरुले देखाएको गतिविधिको आधारमा यो पक्षमा अझै पनि राजनीतिक सुझुबझ विकास नभएको निष्कर्ष जसले पनि निकाल्न सक्दछ । राजनीतिक सुझबुझ नभएकै कारणले गर्दा सर्वोच्चको निर्णयबाट राजनीतिक शक्ति गुमाएको भएपनि नेकपाको प्रचण्ड पक्षले एकातिर खुसी मनाउने र अर्कोतिर सरकार गठन गर्ने कच्चा खेललाई अगाडि बढाई राखेको छ । सर्वोच्च अदालतले गरेको निर्णयलाई ठूलो उपलब्धी मानेर खुसी मनाउँदा तथा सरकार गठन गर्ने असफल प्रयाश गर्दा अन्ततः प्रचण्ड पक्षको राजनीतिक कमजोरीलाई नै सार्वजनिक गर्ने काम भई राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *