लम्बेतान कृषिको आफ्नै अनुभव

लेख

हामीले उत्पादन केन्द्रित काम गर्नु पर्दछ भन्ने सोचका साथ किवी खेती थालनी ग¥यौँ । ३०० वटा किवी फलको बिरुवाबाट कामको श्रीगणेश गरेको थियौँ ।
किवीका लागि सिंचाइ नियमित चाहिँदोरहेछ । पोखरी खन्न लाग्यौँ । खन्दै जाँदा १२०० वर्गमिटर भन्दा ठूलो पोखरी तयार भयो । पोखरी किन खाली राख्ने भनेर माछा पालन सुरु ग¥यौँ । किवी फलको बिरुवा रेखदेख गर्ने मान्छे चाहियो । उस्लाई बस्न घर चाहियो । दुईतले घर बनायौँ । एक जना मात्र वस्न सकिने भएन । परिवारसहित त्यहाँ बस्ने व्यवस्था मिलायौँ । त्यो परिवारले केही कुखुरा, हाँस पनि पाल्न थाल्यो ।
किवी फलको बिरुवाका लागि प्रतिबिरुवा प्रतिवर्ष २ भारी जति मल चाहिन्छ । त्यति मात्र होइन, हरेक बालीलाई मल नभई हुँदैन । हुँदाहुँदा माछालाई पनि गाईभैँसीको गोबर नै चाहिँदो रहेछ । त्यसैले गाईभैँसी नपाली भएन । वस्तु पालेपछि दूध पनि हुने भयो, त्यसको बजारको चाँजोपाँजो पनि मिलाउनु पर्ने भयो ।
किवी फलको बिरुवा ६ देखि ८ मिटरको फरकमा लगाइन्छ त्यस बीचको जग्गा खाली हुन पुग्यो । अनि अकबरे खुर्सानीको खेती सुरु भयो । उत्पादन राम्रै भयो । कतारसम्म पठाएर बिक्री गरियो । सँगै अन्य तरकारी खेती पनि सुरुवात भइरहेको छ ।
१० वर्ष भन्दा बढी बाँझो बसेको खेत थियो । जोत्नलाई ट्र्याक्टर किनियो । धान, कुन्यूँको रहर पनि जाग्यो । ४÷५ गह्रा धान रोपियो । रैथाने बालीहरुको संरक्षण र प्रवद्र्धन गर्नु पर्छ भनी केही पाटाहरुमा तोरी, मिठे तथा तितेफापर अनि झुसे तिल पनि छरियो ।
नयाँ प्रजाति लगाउने रहर बढ्यो, अनि चुच्चे ओखर र एभोकाडोको बिरुवा थपियो । पाखोपखेरो भएकाले वन कार्यालयले उपलब्ध गराएको टिम्बुरको बिरुवा रोपियो ।
पहिलो वर्ष किवी फलको बिरुवा ३०० वटा लगाएको थियौँ । दोस्रो वर्ष ३०० थप्यौँ । अनि अर्को वर्ष पनि १०० वटा थपिँदै छ । दोलखा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किवी जोनको कार्यालय भएकाले सहज भइरहेको छ । त्यसैगरी प्रदेश सरकारअन्तर्गत बोच वागवानी छ त्यहाँ पनि किवी प्रवद्र्धन कै काम भइरहेको छ । ती कार्यालयको समन्वय सहकार्यमा काम अगाडि बढाइरह्यौँ । स्थानीय सरकारसँग पनि नियमित समन्वय भइरहेको छ ।
यो वर्ष टनेलमा तरकारी खेती, टर्की र खसीबाख्रा पालन गर्ने हो की भन्ने लागिरहेको छ । त्यसैगरी, किवीको फूल अनि तोरी र फापर भएको ठाउँमा मौरी पालन राम्रो हुन्छ भन्ने लागेर मौरी पालनको प्रयाससमेत हुँदै छ ।
किवी फलको बिरुवा रोपनबाट सुरु भएको हाम्रो कृषि कर्म तपश्वीको गृहस्थ जीवनमा रुपान्तरण भएजस्तै भइरहेको छ । तपश्वी अब ब्रम्हाचारी अवस्थामा फर्कन नसकेजस्तै भइरहेको छ, हामीलाई कृषि व्यवसाय । तपश्वीलाई गृहस्थ जीवनमा कहिलेकाहीँ दिक्दारी र झन्झटिलो भए पनि रमाइलो र आनन्दै भएको होला । फरक दुनियाँमा रमाएकै होला । त्यस्तै छ हाम्रो अवस्था पनि । कृषि उत्पादनमा जोडिन पाउँदा आफैँलाई खुसी लागेकै छ । झन्झट र कठिनाइको त लामै शृंखला बन्न सक्छ ।
कृषि कर्ममा नलागेसम्म त्यहाँका सवाल र बाधा थाहा हुन सक्दैन । भए पनि सुत्केरी हुँदाको पीडा सुुनेर पुरुषले व्याख्या गरे जस्तो मात्र हुने रहेछ । सबै तहका सरकारका नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता भन्ने गरेको पाइन्छ तर बजेटमा पावरवाला चस्मा लगाएर खोज्दा पनि भेट्न मुस्किल पर्छ ।
बाली बिमा गराउँदा लाग्ने शुल्कको ७५ प्रतिशत रकम सरकारले बेहोरिदिन्छ तर बाली बिमा गर्ने जिम्मा पाएको बिमा कम्पनी तयार हुँदैन । पशु बिमा गराउन चाहन्छ तर बाली बिमा गराउन मरिकाट्य मान्दैन । दोलखामा बाली बिमा गर्ने जिम्मा पाएको प्रिमिएर इन्सुरेन्स कम्पनीको चरिकोट शाखामा कुरा गर्दा हामीलाई केन्द्रीय कार्यालयले बाली बिमा नगराउनु भन्छ । लौन केन्द्रीय कार्यालयलाई दबाब दिन लगाउनु प¥यो भनेर हामीसँग उल्टो सहयोग माग्छन् ।
कृषि कर्ममा लागेकाले उत्पादनमा मात्र जोड दिन पाए पो प्रशस्तै उत्पादन हुन्थ्यो । के गर्नु ? उत्पादन भए पछि कहाँ लगेर बेच्नु भन्ने कुरा बिरुवा लगाउँदादेखि नै चिन्ता हुन्छ । कृषि उपज उचित मूल्य किनी दिने ग्यारेन्टी हुने हो भने उत्पादनको चिन्ता नलिए पनि हुन्थ्यो तर खै ?
बिउको गुणस्तरको कुनै ग्यारेन्टी छैन । लगेको बिउ नउम्रेको, नफूलेको, नफलेको हिसाव किताव गरेर साध्य छैन । किवीको बिरुवा कै कुरा गरौँ, एक प्रजाति भनेर लगेको अर्कै रहेछ, पोथी बिरुवा भनेर रोपेको भाले परेछ । यो पीडा कहाँ पोख्ने ? कस्ले जिम्मेवारी लिने ?
केन्द्रीय बैंकको निर्देशनमा सबै बैंकहरुले कृषिका लागि न्यूनतम् ब्याजमा ऋण दिने कुरा छ तर लिन मुस्किल परिरहेको छ । सानो रकम लगानी गर्न बैंकहरु इच्छा देखाउँदैनन् । उनीहरुले ब्याज अनुदानबापतको रकम राष्ट्र बैंकवाट सोध भर्ना लिनु पर्ने रहेछ । त्यो प्रक्रिया झन्झट भएर हो की किन हो बैंकहरु कृषिमा लगानी गर्न सहज मानिरहेको पाइन्न । धेरै कृषि फर्महरुलाई बिनाधितो सानो स्तरमा ऋण चाहिने हुन्छ ।
ऋण लिन चाहने कम्पनीहरुले सबै सेयर सदस्य र एकाघरका समेत बैंकमा नै उपस्थित गराएर सहिछाप लगाउनु पर्ने भनिन्छ । धेरै जना मिली गठन गरेको कम्पनीले यो व्यवस्था कार्यान्वयन गर्न मुस्किल पर्दछ ।
सरकारले केही उपकरणमा अनुदानसमेत दिने गरेको छ । कतिपय सरकारले बाँझो जग्गा जोती खेती गर्नेलाई जोत्नका लागि प्रोत्साहन पैसा पनि दिने भनेको छ । विभिन्न कृषि उपजमा आधारित ब्लकहरु सञ्चालन गरिरहेको छ । उपज वा प्रतिफलमा आधारित अनुदान कार्यक्रम पनि घोषणा गरेको भेटिन्छ । यो सकरात्मक कदम हो । तर यस्ता अवसरवाट फाइदा लिनका लागि कागजात मिलाउन सामान्य किसानलाई धेरै मुस्किल पर्दछ । व्यवसायिक काम गर्ने कम्पनी वा फर्महरुलाई त कहिलेकाहीँ हम्मेहम्मे परेको हुन्छ ।
सरकारी अनुदान लिनकै लागि फर्महरु दर्ता भएको पनि भेटिएको छ । त्यसैले ब्याज अनुदानमा आधारित ऋण प्रवाह गरे वास्तविक कृषि व्यवसायमा लगानी हुन्थ्यो की ? नेपालमा कृषि फर्म धेरै छन् । माथि उल्लेख गरेका सवालहरु भोगिरहेका छौँ । अनि हामी फर्म सञ्चालकहरु बीच एक आपसमा जानकारी अभाव छ । के उत्पादन हुँदै छ ? के अनुभव छ ? भन्ने बारेमा हामी आपसमा अनभिज्ञ भयौँ । हामीले एभोकाडोको बिरुवा रोप्ने चाहनाका साथ बिरुवा खोज्न थाल्यौँ । धेरै जनासँग सम्पर्क ग¥यौँ । एभोकाडोको राजधानी धनकुटा भएकाले त्यहाँका मित्र राजेन्द्र खड्कासँग सम्पर्क गरी एक नर्सरी सञ्चालकको सम्पर्क नं. पाइयो । त्यो नर्सरीबाट बिरुवा मगाइयो । उनको खातामा पैसा पठाइयो उनले बसमा हालेर बिरुवा पठाइदिए । केही समयपछि हामीजस्तै फर्म सञ्चालकहरुको सानो छलफल काठमाडौं राखेका थियौँ । त्यही बेलामा थाहा भयो कि काठमाडौंमा म बस्ने घरभन्दा केही मिटर पर नै एभोकाडोको बिरुवा पाइँदोरहेछ । यस्ता जानकारी अभाव खड्किरहेको छ ।
त्यसैले, कृषि सवालमा आधारित पैरवी गर्न, उत्पादन, अनुभव तथा सिकाइ आदान प्रदानका लागि फर्म तथा कम्पनीहरुको महासंघसमेत गठन भएको छ । खेती कर्ममा जुटेका फर्म तथा कम्पनीको साझा संस्था फेडेरेसन अफ एग्रिकल्चर एन्ड हर्बल क्रप ग्रोअर, नेपाल नामको स्थापना भएको छ । यसको काम कृषि फर्म तथा कम्पनीको क्षमता विकास, समन्वय र पैरवी गर्ने रहेको छ ।
व्यवसायिक कृषि कर्ममा धेरै सभावना छन् । कृषि आजको आवश्यकता पनि हो तर यसको व्यवसायीकरण हुन सकेको छैन । अक्षरको खेती गर्नेलाई मात्र ठूलो मान्छे भनिने यो दुनियाँमा बाँच्नका लागि खाने पदार्थ उत्पादन गर्नेलाई सम्मानका शब्दसमेत प्रयोग कञ्च्युस्याइँ गरिन्छ । राज्यले प्राथमिकता राख्ने र सबै क्षेत्रले समन्वयात्मक भूमिका खेल्ने हो भने कृषि नै मुलुक र मुलुकवासीको समृद्धिका लागि एक प्रमुख क्षेत्र हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *