मन्त्रीकै अगाडि झण्डै मारमुंग्री

राजनीति समाचार

कामाडौं । अस्ति शुक्रबार अपराह्न राजधानीको बबरमहलतिर रमाइलो दृश्य देखा प¥यो । त्यहाँ सरकारका बहालवाला मन्त्रीकै अघि कर्मचारीहरु पाखुरा सुर्किरहेका थिए । एक अर्काेलाई कुट्न तम्सिइरहेका थिए । बबरमहलस्थित जिविस हल, अपराह्न तीन बजेको समय । ओलीनिकटकै कर्मचारीका अध्यक्ष केदार देवकोटाले प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेका थिए, टोपबहादुर रायमाझीलाई । ओलीका कर्मचारीबाट निम्तो पाएका रायमाझीले सोचे यहाँ ओली गुटकै मात्र कर्मचारी होलान् । मन्त्रीले गुट नचिनी बोल्दा मञ्चमा होहल्ला मात्र होइन, झण्डै हात हालाहालको स्थिति पुगेको हो नेपाल निजामती कर्मचारी संगठनको कार्यक्रम थियो । त्यहाँ यो सगंठन अझैँ फुटिसकेको स्थिति थिएन । त्यहाँ ओली गुटका मात्र होइनन्, माधव प्रचण्ड गुटका कर्मचारीहरु पनि उपस्थित थिए । मन्त्री रायमाझीलाई कसैले भनेनन्, उनले सोचे सबै ओली खेमाकै कर्मचारीहरु मात्र छन् यहाँ ।
अनि भाषण ठोक्न थाले, पुष्पकमल दाहाल र माधव नेपालविरुद्ध धाराप्रवाह गाली गर्न थाले । मन्त्री जति जति गाली गर्दथे, ओली खेमाका कर्मचारी उतिउति हुटिङ गर्दथे । यसरी मन्त्रीले आफ्ना नेताहलाई खुइल्याएको माधव प्रचण्ड कित्तातिर उभिएका कर्मचारीहरुलाई चित्त बुझ्ने कुरै थिएन । रायमाझीले लड्डु खाएको, खुवाएको प्रंसग निकाले । हलमा हुटिङ भइरहेको थियो । पछि माधव प्रचण्ड खेमामा लागेका कर्मचारीहरुलाई पनि व्यंग्य गर्न थाले । त्यस्तैमा जीवन भण्डारी हलबाट जुरुक्क उठे । र, भने मन्त्रीज्यू यहाँ लड्डु खाने पनि छौँ र खुवाउने पनि छौँ । यो कर्मचारीको कार्यक्रम हो । अलि स्वंयमित भएर बोल्नुहोला । तपाईँले हामीलाई किन गाली गर्नु गर्नुहुन्छ ? राजनीतिक कुरा गर्नुहोस् । त्यहाँ एक क्षण नाराबाजी भयो । झन्डै कुटाकुटको अवस्था आयो । प्रमुख अतिथि बनाएर डाकिएको मन्त्रीमाथि मञ्चबाटै यसरी चुनौती दिएपछि ओली पक्षधर कर्मचारीहरु उनलाई कुट्न तम्सिए । मन्त्रीकै अघि मुठ्ठी उज्याउँदै भण्डारीले एक एक गरी आउनुहोला, सबैसँग भिड्छु भन्न भ्याए । उनलाई रोक्न तम्सँदै थिए माधव नेपाल पक्षधर भनी चिनिएका महासचिव रेवन्त गौतम, भवानी खतिवडा, आरसी लामिछानेहरु अनि पिट्न चाहिँ अहिले प्रधानमन्त्री कार्यलयतिर रहेको देवेन्द्र ढकाललगायत तम्सिरहेका थिए । झन्डै ५ मिनेट होहल्ला भएपछि मन्त्री रायमाझीले हात जोडेर माफी माग्दै भने ‘उहाँले भन्नुभएको ठीकै हो । प्रतिनिधिसभा बिघटन गरेर प्रधानमन्त्री ओलीले गल्ती गर्नुभएको हो’ भन्न भ्याए । स्रोतका अनुसार रायमाझीलाई प्रमुख अतिथि बनाउन अध्यक्ष देवकोटाले प्रस्ताव गरेका थिए । स्रोत भन्छ, रायमाझीलाई प्रमुख अतिथि बनाउने प्रस्तावलाई सुरुमा नेपाल पक्षका कर्मचारीहरूले विरोध जनाएका थिए । ‘आउनु हुन्छ भने संघीय मन्त्रीलाई प्रमुख अतिथि बनाऔँ नभए कसैलाई नबनाऔँ’ भन्ने नेपाल पक्षका कर्मचारीहरूले भनेका थिए । तर देवकोटाका बलजफ्तीबाट रायामाझलाई प्रमुख अतिथि बनाइएको थियो । यसरी मञ्चमै आफूलाई झपारिएपछि कार्यक्रम सकिएपछि नासु तहका कर्मचारीलाई तीन पटकसम्म नमस्ते गर्दै, हात मिलाउँदै ‘तपाईले सही भन्नुभएको हो’ भनेर मन्त्री हलबाट बाहिरिएका थिए ।
मनलाग्दी बोल्दै ओलीका मन्त्रीहरु
प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटका मन्त्रीहरु जस्लाई अहिले आफ्नै बोली भारी भइरहेको छ । सार्वजनिक कार्यक्रममा मन्त्रीहरुले बोली चिप्लिँदा अहिले ओलीका क्याबिनेटका मन्त्रीहरु सामाजिक सञ्जालमा ट्रोलको सिकार भइरहेका छन् ।
जिब्रो चिप्लिएकै कारण अहिले प्रधानमन्त्री ओलीको पछिल्लोपटक विस्तारित क्याबिनेटका तीनमन्त्रीहरुको सामाजिक सञ्जालमा उडाइने पात्र बनेका छन् । आफू कहाँ र के कस्तो कार्यक्रममा छु भन्ने हेक्का नराखी बोल्दा मन्त्रीहरु अहिले आलोचित बनिरहेका छन् ।
पछिल्लोपटक बोली चिप्लिएर विवादमा तानिएका मन्त्री हुन्, मणिचन्द्र थापा । उनी बिना मगर हटेपछि खानेपानी मन्त्रालय सम्हाल्न आइपुगेका थिए । मन्त्री बनेसँगै उनी सुर्खेतमा आयोजित एउटा कार्यक्रममा सम्बोधनका क्रममा चिप्लिएर ‘श्री ५ को सरकार’ भन्दै सम्बोधन गरे । उनका आलोचकहरुका लागि मसला बनिहाल्यो । उनले सम्बोधनका क्रममा तत्काल आफ्नो गल्ती सच्याए पनि सामाजिक सञ्जालमा ‘श्री ५ को सन्देश बोकेर मणि थापा सुर्खेत पुगेको भन्दै’ व्यांग्यात्मक रुपमा प्रयोगकर्ताहरुले भिडियो भाइरल बनाएका हुन् ।
उनले भनेका थिए, ‘सुर्खेतका आदरणीय जनसमुदायहरु ! नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा, ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईँहरुलाई लालसलाम भन्न चाहन्छु,’ उनले सम्बोधनका क्रममा यस्तो भन्दै ‘सरी’ भनेर सच्याएका थिए । पछि सामाजिक सञ्जालबाटै माफी पनि मागे । तर मुखबाट निस्केको गोली र बन्दुकबाट निस्केको बोली उस्तै भन्छन् । मणिचन्द्र थापाको श्री ५ वाला सम्बोधन सेलाउन नपाउँदै फेरि चर्चा र विवादमा तानिए शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको भाषण ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पाटन कलेज फर प्रोफेसनल स्टडिज (पिसिपिएस कलेज) को तेस्रो दीक्षान्त समारोहको प्रमुख अतिथि थिए । त्यहाँ दीक्षित भएका विद्यार्थीहरुलाई शिक्षा नीतिबारे होइन राजनीतिक गफ जोते । जो अहिले सामाजिक सञ्जाल र विशेष गरी टिकटकमा भाइरल भइरहेको छ । उनले विद्यार्थी र शिक्षकहरुको अगाडि बोलेका छन्, ‘प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिनु हुन्न । सरकार हिजोभन्दा अहिले झनै शक्तिशाली भएको छ । म पनि पावरफुल शिक्षा मन्त्री छ, कोही माइकालाल जन्मेको छ ? केपी ओलीको कठालो समातेर सडकमा ल्याउने ? केपी ओली इज केपी ओली, फुटबलको पेलेजस्तै हो ।’ यो प्रकरण सेलाएकै थिएन । प्रधानमन्त्री ओलीलाई काठ तस्करमा मुछिएका व्यक्तिलाई वन मन्त्री बनाएको आरोप खेपिरहेका अर्काे वन मन्त्रीले एक सार्वजनिक कार्यक्रममै एक अर्ब घुसको प्रस्ताव आएको बताए । तर त्यस्तो प्रस्ताव गर्ने को थियो मन्त्रीले खुलाएनन् । त्यहाँ उनले मानिसलाई रुखले कार्बनडाइअक्साइड दिन्छ भने मानिसले अक्सिजन फ्याल्छ भन्दै भाषणै ठोके । यो भाषण अहिले टिकटकमा भाइरल भइरहेको छ भने सामाजिक सञ्जालमा उनलाई गालीको वर्षा भइरहेको छ । उता मन्त्री आले चाहिँ मेरो अभिव्यक्ति तोडमोड भयो भन्दै रोइलो गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *