पार्टी पुनस्र्थापित भएपछि जिम्मेवारी फेरबदल मात्र भएको हो

अन्तरवार्ता

 

 

प्रधानमन्त्री केपी ओलीले आफूपक्षीय केन्द्रीय सदस्यहरूको बैठकबाट माधव नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेपछि एमालेभित्र विवाद झन् चर्किएको छ । नेपाल समूहले बैठकको माग गरिरहँदा ओलीले अर्को पक्षका नेतालाई हटाउने र माओवादी केन्द्रबाट आएकालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गर्न पुगेका छन् । यस्तो निर्णयलगत्तै नेपाल समूहले शुक्रबार साँझ आफूपक्षीय स्थायी कमिटी सदस्यहरूको बैठक गरेर ओलीले पार्टी विभाजन नै गर्न खोजेको निष्कर्ष निकालेको छ । बैठकले आफ्नो पक्षको राष्ट्रिय भेलासमेत गर्ने निर्णय लिएको छ । एमालेभित्र किन यो परिस्थिति आयो ? प्रचार विभाग प्रमुख राजेन्द्र गौतमसँग भएको कुराकानीको सम्पादित अंशः
० नेकपा नाम विवादमा सर्वोच्च अदालतले फैसला सुनाएको छ । यसलाई कसरी हेर्न सकिन्छ ?
सर्वोच्च अदालतको फैसलाले दुईवटा विकल्प देखाएको देखिन्छ । नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपछि निर्वाचन आयोगले दिएको नेकपा नाम बदर गरिएको छ । सर्वोच्चले अब नयाँ नाम ल्याऊ, तिमीहरुको नाम ऋषि कट्टेलले दर्ता गरेको नेकपासँग जुध्यो । ऋषि कट्टेलले नेकपा नाम पाउने भएकाले नयाँ नाम दर्ता गर्नको लागि पत्राचार गर्ने एउटा विषय भयो । दुई वटा पार्टी एकीकरण भएर नेकपा भएको थियो । फैसलाले नेकपा विभाजन वा नयाँ नाम लिएर पुनः एकीकरणका लागि पनि बाटो खोलेको हो ।
० विभाग र प्रदेश कमिटी हेरफेर गर्दा अर्को पक्षकालाई हटाएर आफ्नो पक्षकालाई मात्रै किन हाल्नुभएको हो ?
पहिलो त, नेताहरूको कमिटीगत हैसियत पुनस्र्थापित भएको हो । कार्यविभाजनलाई पुरानै अवस्थामा फर्केको भन्न मिल्दैन । कार्यविभाजन त छिनछिनमा परिवर्तन भइरहने कुरा हो । जस्तो कि, एकीकरणका बेला महासचिव एक जना हुनुहुन्थ्यो, अहिले महासचिव नै अर्को हुनुभयो । फेरबदल त उता मात्रै भएन, यता पनि त भयो नि त । दोस्रो, उहाँहरू आउनु भएपछि छलफल गरेर कतिपय कुराको थप प्रबन्ध गर्न सकिन्छ, यो खासै ठूलो विषय होइन ।
० यो त स“गै बसौ“ पनि भन्ने, धकेल्ने पनि गरेकोजस्तो देखियो नि, होइन र ?
कसरी त्यस्तो हुन सक्छ ? हामीले औपचारिक रूपमा उहाँहरूलाई विगतका कमीकमजोरीलाई सच्याएर आत्मसमीक्षासाथ एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छौँ । नआउनुस् भनेको भन्न कसरी मिल्यो र ? यो त तपाईंको पूर्वाग्रहपूर्ण प्रश्न भयो ।
० तपाईंलाई के लाग्छ, उहा“हरुले अहिलेका निर्णयहरुलाई चुपचाप सहेर बस्नुहोला ? उहा“हरुले समानान्तर कमिटी बनाउनु पनि भयो, विद्रोह गर्नेलगायत कुराहरु गर्दै हुनुहुन्छ । यसो हेर्दा हिजोको नेकपाको विवाद त अब एमालेमा छिर्ने भयो नि ?
थाहा छैन किन हो तपाइँहरु यति धेरै शंकालु बन्नुभएको । तातो दूधले मुख पोलेको मान्छे कराई देख्दा पनि फुँ–फुँ गर्छ । विगतका कतिपय कुराहरुलाई हेरेर तपाईंले त्यस्तो भन्नुभएको होला । तर, म त्यस्तो ठान्दिनँ । एउटा कुरा म यहाँलाई बताउँ, केपी ओलीसँग स्थिति कस्तो प¥यो भने, पार्टीभित्र हिजोका आन्दोलनबाट आएका दुई वटा धारलाई जोड्ने भावनाका साथ पार्टी एकता गरिएको थियो । त्यसमा उहाँलाई संख्यात्मक अनुकूलता नहुनु स्वाभाविक थियो । हामी त्यस्तो अप्ठ्यारो अवस्थाबाट अगाडि बढ्यौँ । आज स्थिति बदलिएको छ । तपाईंले १५ दिनको अवधिलाई हेर्नुभयो भने प्रतिनिधिसभा पुनस्र्थापना भएर दुई बैठक बस्दा खुसियाली मनाउने साथीहरु समेत अब अन्योलतामा मुलुक फस्यो भन्ने महसुस गर्न थाल्नुभएको छ । त्यसले गर्दा नेकपा एमालेलाई कमजोर गर्ने , आन्दोलनलाई कमजोर पार्नेजस्ता कुरा कसैले कल्पना नै नगरे हुन्छ । बाटो रोज्न त उहाँहरुलाई स्वतन्त्रता छँदै छ तर मलाई विश्वास छ, जो नेताहरुले नेकपा एमाले निर्माणमा महत्वपूर्ण योगदान दिनुभएको छ, एउटा व्यक्तिप्रतिको कारणले स्थिति एकदमै ‘एक्स्ट्रिम’मा पुगे पनि यसलाई भुलेर फेरि पनि एकताको जग बसाल्न उहाँहरु लाग्नुहुन्छ भन्ने मलाई लाग्छ । उहाँहरु एकताका लागि आउनुहुन्छ । बाहिर जे जस्ता चर्चाहरु भइरहेका छन्, ती सही होइनन् ।
० हिजो माधव–प्रचण्डलगायतले जसरी बहुमतको डन्डा केपी ओलीमाथि प्रयोग गर्नुभयो । आज केपी ओलीले त्यही बहुमतको अस्त्र माधव समूहमाथि प्रयोग त गरिरहनुभएको होइन ?
त्यस्तो केही भएकै छैन । पहिलो, कहीँ न कहीँ संस्थागत ढंगले आव्हान गर्नुपथ्र्यो । दोस्रो, फरक धारका साथीहरुलाई कुनै पनि जिम्मेवारी नदिई बीच बाटोमा राख्न सक्दैन थियौँ । बाँकी जति पनि निर्णयहरु छन्, उहाँहरुको उपस्थितिमा गर्छौँ । छलफल हुन्छन् तर सबैको परामर्शबाटै अगाडि बढ्छौँ । यहाँ कसैलाई पेल्नुपर्ने, देखाउनुपर्ने, प्रतिशोध लिनुपर्नेजस्ता विषयको चर्चा गर्नु नै आवश्यक छैन । हामी यस्ता विषय किन सोच्छौँ र चर्चा गर्छौँ । मैले फेरि पनि दोहो¥याएर भन्छु– हाम्रो चिन्ता देशप्रतिको हो । हामीले सन् २०२६ सम्ममा मुलुकलाई विकासशील राष्ट्रको रुपमा स्थापित गर्ने, सन् २०३० भित्र दिगो विकासका सबै लक्ष्य पूरा गर्ने उद्देश्य लिएका छौँ र मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य राखेका छौँ । हामीले गुमेको हाम्रो भूमि फिर्ता पाउने विषयमा भारतसँग भर्खर छलफल अगाडि बढाएका छौँ । हामी एकजना बालक विद्यालय जानबाट वञ्चित नहोस्, एक जना महिला पनि सुत्केरी हुन नसकेर ज्यान जाने स्थिति नबनोस्, कुनै पनि बाआमाले बुढेसकालमा औषधि नपाएर मृत्युवरण गर्ने अवस्था नबनोस् । एकजना युवा पनि बेरोजगार बस्न नपरोसलगायत कुरामा हाम्रो ध्यान छ । मुलुकमा यत्रो परिवर्तन भयो रेल, एक्सप्रेस हाइवे निर्माण, स्वच्छ खानेपानीलगायत कुरा हाम्रो सपना बन्नुपर्ने कुनै विषय हो र ?
० तपाईंहरुले पटक–पटक स्पष्ट पारिसक्नुभएको छ । नाम चाहि“ अब के नेकपा एमाले नै रहन्छ ?
अहिलेलाई नाम त्यही रहन्छ । हामी महाधिवेशनतर्फ जाँदा थुप्रै कुरामा छलफल गरौँला । तर कस्तो छ भने यो नाम जनस्तरमा एकदमै प्रिय छ । नेकपा एमाले नाम मात्रै नभएर सूर्य चिह्न र वैचारिक जननेता मदन भण्डारी, जनताको बहुदलीय जनवाद लोकप्रियको साथै हाम्रो सामथ्र्य पनि बनेको छ । त्यही कारणले हामीले अहिले नामका बारे त्यति सोचेका छैनौँ ।
० अनि जनताको बहुदलीय जनवाद नै हो अब ?
हो । नवौँ महाधिवेशनले उठाएको कुरा नै त्यही हो । हामीलाई त्यही कुराले नै गाइड गर्छ । यसलाई हामी थप समय सान्दर्भिक र परिमार्जित गर्दै माथि उठाउँदै अगाडि बढ्छौँ । हाम्रो वैचारिक मार्गदर्शन नै यही हुनेछ ।
० अब सरकार चाहि“ के हुन्छ ?
सरकारलाई निरन्तरता दिने हाम्रो प्रयास छ । विभिन्न पक्षहरुसँग कुरा गरिरहेका छौँ । सकारात्मक ढंगले नै अगाडि बढिरहेको म ठान्छु, तर हाम्रो ध्यान सरकारमा भन्दा धेरै आन्दोलनमा छ । सामान्यतः ०७४ को जनादेशले लामो सयमसम्म मुलुकलाई हाँक्न सक्दैन भन्ने देखिन्छ । संसदमा ती कुराहरु प्रकट पनि भइरहेका छन् । तर हामी सबै पक्षलाई समेटेर सरकारलाई अगाडि बढाउने र सबैको सहमतिबाट निर्वाचनको वातावरण बनाउने प्रयासमा छौँ । यदि यो संसद सही हिसाबले अगाडि बढेन भने अरु उपाय के नै हुन्छ र ? र बढ्न केही साथीहरुले दिइरहनुभएको छैन । जो साथीहरु हिजो प्रतिनिधिसभा विघटनलाई गलत भनेर पुनस्र्थापनालाई रामवाण औषधि ठान्दै हुनुहुन्थ्यो, त्यो होइन रहेछ भन्ने कुरा दुई हप्ताले पनि देखाएको छ र देखाउँदै आइरहेको छ । तर पनि हामी अदालतको फैसलालाई सम्मान गर्छौँ । हाम्रो प्रयास प्रतिनिधिसभाको आयु पाँचै वर्ष रहेर त्यहीँ भित्रबाट स्थायित्व दिने भन्ने हो । तर, प्रतिनिधिसभा पाँच वर्ष टिक्छ कि टिक्दैन भन्नेभन्दा पनि यसले सही निकास पाउँछ कि पाउँदैन ? निश्चित छैन ।
० अबको सरकार वाम गठबन्धनकै हो कि ? जसपा–कांग्रेसस“गको सरकार हो ?
सबै पक्षसँग हामी कुराकानी गरिरहेका छौँ । जसले आफ्नै पार्टीको दुई तिहाइको सरकारलाई गिराएर किस्तीमा २३ सिट जितेको प्रमुख प्रतिपक्षी दललाई प्रधानमन्त्री अफर गर्न जानुहुन्छ । अब यदि त्यसअर्थमा वामपन्थी एकताको सरकार भन्नु भएको हो भने त्यो कति व्यावहारिक हुन्छ थाहा छैन । हामी संसदभित्रका सबै दलहरुसँग समान ढंगले नै छलफल गरिरहेका छौँ । राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखौँ । हाम्रो उहाँहरुलाई आग्रह नै छ ।
० एमालेको नवौ“ महाधिवेशनले जति पदाधिकारी चयन गरेको थियो, उहा“हरूको पद यथावत् छ ?
हो, उहाँहरूको पद यथावत् रह्यो । जस्तो वरिष्ठ नेता वरिष्ठ नेता नै, उपाध्यक्ष उपाध्यक्ष नै रहनुभयो । तर उहाँहरूको पनि कार्यविभाजन थियो नि त, त्यो हेरफेर गरेका हौँ, त्यो पनि संक्रमणकालीन प्रबन्ध भनेर बुझ्नु न ।
० अन्त्यमा, लामो समयदेखि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीस“ग हुनुहुन्छ, कसरी हेर्नुहुन्छ, उहा“लाई ?
नेपालको राजनीतिमा केपी ओलीको भूमिका महत्वपूर्ण छ । हिजो संविधान निर्माण हुँदै गर्दा सरकारमा बसेर सुशील कोइरालाको भूमिका महत्वपूर्ण रह्यो । तर, सरकारभन्दा बाहिर रहेर केपी ओलीले अहम् भूमिका निर्वाह गर्नुभएको थियो । चाहे संविधान निर्माणमा होस्, चाहे टोलैपिच्छे जातीय नारा लगाइरहेको अवस्थामा होस्, उहाँले देश र जनताको हितमा काम गर्नुभएको छ । जातीय राज्य हुँदैन भनेर अडान लिनुभयो । त्यही भएर जातीय राज्य भएन । यदि जातीय राज्य बनाउनेतर्फ अगाडि बढेको भए मुलुकमा ठूलै द्वन्द्व हुन सक्थ्यो । जातीय राज्यविरुद्ध उहाँ चट्टानझैँ उभिनु भयो । अनि भारतले लगाएको नाकाबन्दीविरुद्ध पनि उभिनुभयो । नाकाबन्दी नहटाएसम्म म भारत जान्नँ भन्नुभयो । जसले गर्दा भारत नाकाबन्दी हटाउन बाध्य भयो । नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने आँट र हिम्मत पनि उहाँले गर्नुभयो । पार्टीभित्र र बाहिर केपी ओलीको लोकप्रियता पचाउन नसक्नेले उहाँको विरोध गरिरहेका छन् । अहिलेको लडाइँ विचार र सिद्धान्तको होइन, कुर्सीको हो । केपी ओलीले महाधिवेशनमार्फत अध्यक्ष पद छाड्ने भनिसक्नु भएको छ । उहाँकै जोडबलले निर्वाचनमा नेकपालाई झण्डै दुईतिहाइ बहुमत दिलाउनुभयो । राष्ट्रिय स्वाभिमानलाई उच्च बनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *