बन्दाबन्दीको विकल्प खोज्नु आवश्यक

लेख

कमलराज राई
‘सबै गर तर बन्दाबन्दी भने नगर’ यो आमनेपालीको माग हो । हो, कोरोनाले विश्वलाई फेरि हल्लाउन सुरु गरेको छ । दोस्रो चरणको कोरोनाले विश्वका कतिपय विकसित मुलुकहरूमा बन्दाबन्दी लागू गरेका छन् । तर, नेपालमा भने बन्दाबन्दी अस्विकार्य नै छ । बरु स्वास्थ्य मापदण्ड अत्यन्तै कडाभन्दा कडा लागू गर तर बन्दाबन्दी भने नेपालीले सहनै सक्दैनन् । फेरि पनि बन्दाबन्दी दोहा¥याउने चेष्टा किन गरिँदै छ । लकडाउन वा विद्यालय बन्दले कोरोना छेक्न सक्दैन भन्ने प्रमाणित भइसकेको छ । यसले केवल गरिबको गाँस छेक्छ । बालबालिकाको शैक्षिक विकास छेक्छ । व्यापार–व्यवसाय गर्नेहरूको ढाड सेक्छ । ९ महिनाको लकडाउनले मरणासन्न बनेर बल्ल–बल्ल चल्मलाउन थालेको अर्थतन्त्रले फेरि अर्काे बज्रपात थेग्न सक्दैन । चित्रण गरिएजस्तो नेपालमा अहिले कोरोनाको त्यस्तो भयावह अवस्था पनि होइन । भारतमा पानी पर्दा यहाँ छाता उघारिहाल्ले मनोविज्ञबाट बाहिर निस्कन जरूरी छ । नाकामा अनुगमन कडा गरेर देशभित्रको जनजीवन यथावत चल्न दिइयोस् । बल्ल–बल्ल तंग्रिन थालेका उद्योग–व्यवसाय र शैक्षिक संस्थाहरूलाई कोमामा पु¥याउने काम नहोस् । बरु सतर्कता अपनाउनका लागि अत्यन्तै कडा कदम चाल्नुपर्ने अवस्था आयो भने आओस् । तर, कुनै पनि मूल्य र मान्यतामा मुलुकले अर्को बन्दाबन्दी खेप्न सक्दैन । यसैबीच, कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमणको दोस्रो लहर फैलन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ । सिसिएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड–१९ संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रूपमा अपिल गर्ने निर्णय गरेको छ । अहिलेको संक्रमणको स्थितिलाई हेरेर आमरूपमा सतर्कता अपनाउन अपिल गर्ने तर बन्दाबन्दी नै लागू गर्ने अवस्था आए पनि यस्तो कार्य गर्नु उचित छैन । बरु सरकारले डिसिसिएमसीलाई अझ बढी सक्रिय बनाउनुपर्छ ।
सीमा नाकाहरूमा सञ्चालनमा आएका हेल्थ डेस्कहरूलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेस्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने काम गर्ने काम भने ढिला गर्नु हुँदैन । यस्तै, कुनै पनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रूपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्न सरकारले ढिला गर्नु हुँदैन । यदि बन्दाबन्दी आइहालेमा यसबाट खासगरी हुनेखाने वर्गलाई केही फरक पार्दैन तर दिनभर कमाएर बिहान बेलुका छाक टार्ने वर्गलाई भने साँच्चै समस्यामा पार्ने छ । सरकारले जनताले राहत दिनै सक्दैन । दिएको राहत पनि तिनै हुने खाने वर्गमा पुगेपछि सधैँ त्यहि तल्लो वर्गको हुर्मत लिनका लागि बन्दाबन्दी अस्विकार्य छ । यसमा सरकारले आज नै विचार पु¥याउनुपर्छ ।
त्यसो त कोभिड–१९ ले सन् २०२० लाई निक्कै तहसनहस बनायो । साँच्चै भन्ने हो भने यसले विश्वलाई नै ठप्प बनायो । यसकै कारण विकासोन्मुख देशहरु सबैभन्दा बढी चेपुवामा परे । झन् नेपालजस्तो वैदेशिक रोजगारमा भर पर्नुपर्ने देशको हालत त यत्ति पातलो भयो कि रोजगारदाता मुलुकमा लकडाउन हुँदा रेमिट्यान्सल चल्ने मुलुकमा ढोका बन्द गर्नु परेको थियो । तर, सन् २०२० को आधाउधीबाट कोरोनाविरुद्ध भ्याक्सिन आएपछि यसले विश्वलाई त्राण दिने अड्काल गरिएको भए पनि व्यवहारमा यस्तो भएन । बरु सन् २०२१ को आगमनसँगै नयाँ प्रजातिको भाइरस आएपछि अहिले यसले विश्वलाई नै दोस्रोपटक हल्लाएको छ । यो भाइरसका कारण विकसित मुलुकहरुमा लकडाउन लगाइएको छ । तर, नेपालजस्तो गरिब मुलुकमा भने लकडाउनले जनजीवनलाई झन् ओरालो लग्ने निश्चित देखिन्छ ।
लकडाउनले हुने खाने वर्गलाई त केही छैन तर यसले दिनभर काम गरेर बिहान–बेलुका छाक टार्ने समुदायलाई भने निक्कै कष्ट दिने देखिन्छ । त्यसैले यस्तो अवस्थामा स्वास्थ्य मापदण्डलाई कडा पार्ने तर लकडाउन नै लगाउनुपर्ने काम भने बन्द गरिनुपर्छ । सरकारले रेस्टुरेन्ट तथा रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न भनेको छ । कोभिडको संक्रमण रोक्न सरकारले फेरि लकडाउन लगाउने सोच बनाएको छ । त्यसो भयो भने अर्थतन्त्र फेरि संकटमा पर्ने सक्ने सम्भावना बढेर गएको छ । यसअघि ९ महिना लगाएको लकडाउनका कारण मुलुकको अर्थतन्त्र थचक्कै बसेको थियो । अहिले फेरि उहि गल्ती दोहो¥याउने दाउमा सरकार देखिन्छ । छिमेकी भारतमा दोस्रो लहरको संक्रमण व्यापक मात्रामा बढिरहँदा खुला सिमाना भएको हाम्रो मुलुक त्यसप्रति सजक बन्नुपर्छ भन्नु आफैँमा नाजायज भने होइन । यसबाट बच्नको लागि स्वास्थ्य सतर्कता अपनाउनु नै उत्तम हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय जस्ता बढी भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस नै ग¥यो । सरकारले विद्यालय बन्द गर्ने कुनै निर्णय नगरिसकेको भए पनि कोभिडको जोखिम बढेको यसले पनि देखाउँछ ।
तर, सरकारले लकडाउनभन्दा अर्को कुनै उपाय सोचेको छैन । यता ग¥यो, लकडाउन, उता ग¥यो लकडाउनभन्दा अरु सरकारले भनेकै छैन । लकडाउन भनेको सबैभन्दा अन्तिम उपाय हो । लकडाउन घोषणा गर्नुअघि सरकारले उचित तरिकाले स्वास्थ्य मापदण्ड लागू गर्नुपर्ने हुन्छ । सबै नागरिकलाई संवेदनशील बनाउन सक्ने हो भने लकडाउनतर्फ जानै पर्दैन । कोरोनाका कारण गत वर्षको ११ चैतदेखि लामो समय लकडाउन सहँदा सरकारले लास मात्र गन्यो, उस्ले जनतालाई राहत दिने काम नगर्दा कतिपयले आत्महत्या गरेको समाचार आउँदा पनि सरकारले नचेत्ने हो भने योभन्दा अर्को दुर्भाग्य के नै हुन सक्छ र ? लकडाउनका कारण मुलुकको अर्थतन्त्र ऋणात्मक बन्न गयो । हाल उत्पादनमूलक क्षेत्र क्रमिक रुपमा सहजतातर्फ जान खोजे पनि पर्यटन उद्योग अझै उठ्न सकेको छैन । देश फेरि लकडाउनमा गए विस्तारै तंग्रिन थालेको अर्थतन्त्र पुनः संकटमा जाने डर छ ।
त्यसो भन्दैमा कोरोनालाई हल्का रुपमा लिनु भने हुँदैन । नेपालमा कोरोनाले महामारीको रुप लियो भने यसबाट नेपालजस्तो गरिब मुलुकका लागि महँगो सावित हुन सक्छ । कोरोनाबाट बच्न र बचाउनका लागि अब सरकारले कडाभन्दा कडा स्वास्थ्य मापदण्ड बनाएर लागू गर्नुपर्छ । लकडाउन अन्तिम विकल्प होइन, यसले कोरोना संक्रमणलाई रोक्ला तर यसबाट आमजनताको हातमुख जोड्ने मेलो पनि बन्द गर्छ । यो बेला रोगले भन्दा भोकले मर्ने अवस्था आउन सक्ने देखिन्छ । यसो भए सबै जनता सडकमा आउन सक्ने सम्भावना हुन्छ । खासगरी नेपालमा कोरोना भाइरसको संक्रमण बढ्नुको पछाडि नेपाल–भारतबीचको खुला सिमाना नै हो । अहिले भारतको कोरोनाले दोस्रोपटक आक्रमण गर्न थालेको छ । खुला सिमानाका कारण भारतमा संक्रमण बढ्दा नेपाल पनि उच्च जोखिममा पर्ने नै भयो । पछिल्लो केही समययता छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । दिन प्रतिदिन संक्रमण दर बढिरहेको छ । हालसम्म भारतमा कुल संक्रमितको संख्या एक करोड २८ लाखभन्दा बढी पुगेको छ । यस्तै नेपालमा पनि पछिल्लो समय संक्रमितको संख्या उकालो चढ्ने क्रममा छ । भारतमा कोरोना फैलिएकाले नेपाल संक्रमणको उच्च जोखिममा भएका कारण उच्च सर्तकता अपनाउन अत्यन्तै जरुरी छ । तर सरकारले कोरोनालाई चानचुने ठानिरहेको छ । वास्तवमा कोरोना नभएसम्म केही होइन भने भएपछि भने सबै थोक हो । कोरोनाका कारण यत्तिका धेरैले ज्यान गुमाउँदा पनि सरकारले सुरक्षाको कुनै तरिका अपनाइएको नपाइएकाले यसबाट सरकार कोरोनालाई चानचुन ठानेकोे देखिन्छ ।
भारतमा संक्रमण दर बढ्दो भएका कारण नेपालमा उच्च सर्तकता अपनाउँदै जनस्वास्थ्यमा मापदण्ड अपनाउन अत्यन्तै आवश्यक रहेको देखिन्छ । भारतमा दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ । भारतमा संक्रमण दर बढ्दै गर्दा नेपाल यसको उच्च जोखिममा छ । त्यसैले सबैले जनस्वास्थ्यमा मापदण्ड पालना गर्न अत्यन्तै जरुरी छ । त्यसैले सरकारले कोरोनाबाट बच्नका लागि स्वास्थ्यको मापदण्ड तयार गर्न कुनै तयारी नगरेकाले यसबाट जनतामा फेरि समस्या आउने भएको छ । नेपालमा संक्रमण फैलिन नदिनका लागि भारतसँग जोडिएका विभिन्न नाकाहरुमा उच्च सतर्कता अपनाउँदै निगरानी राख्नु आवश्यक भइसकेको छ । अब विभिन्न नाकाहरुमा निगरानी बढाउनु पर्ने भएको छ । यसका लागि नाकामा चाहिने सामानको व्यवस्था गर्नु आवश्यक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *