अब मध्यावधि की उपनिर्वाचन ?

समाचार

काठमाडौं– राजनीतिक वृत्तमा अब मध्यावधि निर्वाचन की उपनिर्वाचन भन्ने चर्चाले प्राथमिकता पाउन थालेको छ । माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा १३ जना प्रदेश र संघीय सांसद प्रवेश गरेपछि र यसको कारबाहीस्वरूप माओवादी केन्द्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेपछि नै अब मध्यावधि निर्वाचन की उपनिर्वाचन भन्ने चर्चा चल्न थालेको थियो ।
गत सोमबार लुम्बिनी प्रदेशको राजधानी बुटवलमा भएको राजनीतिक घटना क्रमले थप चार स्थानमा समेत उपनिर्वाचन गर्नु पर्ने घटना विकास हुन थालेको छ । वर्तमान सरकारमा सामेल भएका चार जना मन्त्री टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरी शंकर चौधरीलाई माओवादी केन्द्रले अनुशासनको कारबाहीस्वरूप प्रतिनिधिसभाको सदस्यसँगै पार्टीबाट समेत निस्कासन गरेपछि यी चार स्थानमा मध्यावधि निर्वाचन गर्नुपर्ने अवस्था आएको हो । यसैगरी राष्ट्रियसभाको सदस्यसमेत रहेका रामबहादुर थापा ‘बादल’को राष्ट्रियसभा सदस्यतासमेत माओवादी केन्द्रले खारेज गरिदिएपछि राष्ट्रियसभामा समेत एक पदका लागि निर्वाचन हुनुपर्ने अवस्था आएको छ ।
प्रदेश १ का पूर्वमन्त्री टंक आङबुहाङले पनि दल बदल गरेर माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि उनलाई पनि माओवादी केन्द्रले प्रदेश सांसदसमेत नरहेने गरी पार्टीबाट निस्कासन गर्ने छ । माओवादी केन्द्रले आफ्नो पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको भनेर प्रदेश २ का सांसद ज्वाला कुमारी शाह, कुन्दन प्रसाद कुशवाह, मोहम्मद समिर र रामचन्द्र मण्डललाई पनि सांसद पद खारेज गर्ने गरी पार्टीबाट हटाएको छ । यसैगरी विवाद बढिराखेको अवस्थामा पार्टी परित्याग गरेको भनेर माओवादी केन्द्रले लुम्बिनी प्रदेशका दुई सांसद दिनेश पन्थी र दलिराम न्यौपानेलाई पनि सांसद नरहने गरी पार्टीबाट हटाएको र कर्णाली प्रदेशका सांसद धर्मराज थापालाई पनि आफ्नो पार्टी परित्याग गरेर एमाले प्रवेश गरेको भनेर माओवादी केन्द्रले हटाई सकेको छ ।
यसैगरी पार्टी ह्वीपविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विश्वासको पक्षमा मत दिएको भनेर कर्णाली प्रदेशका तीन सांसद कुर्मराज शाही, नन्द सिंह बुढा र अमर सिंह थापालाई एमालेले सांसदसमेत नरहने गरी निस्कासन गरिसकेको छ भने केन्द्रीय सदस्यसमेत रहेका कर्णाली सांसद प्रकाश ज्वालालाई एमालेले आज÷भोलि नै प्रदेश सांसदसमेत नरहने गरी निस्कासन गर्ने छ । माओवादी केन्द्र र एमालेले आफ्ना सांसदमाथि अनुशासनको कारबाहीस्वरूप पार्टीबाट निस्कासन गरिरहँदा अब लुम्बिनी प्रदेशमा पनि सरकारमा सामेल हुन गएको भनेर जनता समाजवादीले चार जना सांसदलाई पार्टीसँगै सांसदबाट समेत निस्कासन गर्ने सम्भावना बलियो रहेको छ । यसरी राजनीतिक दलहरूका बीचमा उत्पन्न भएको सत्ता संघर्षको परिणाम विभिन्न सांसदले पद गुमाउनु पर्ने अवस्था बढिरहँदा अब मध्यावधि निर्वाचन की उपनिर्वाचन भन्ने बहसले प्राथमिकता पाउन थालेको हो ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *